आफूले काम गरेको पारिश्रमिक लिन धेरै क्षेत्रका मान्छेले आफ्ना मालिकसँग रातो मुख गर्नु परेको खबर सार्वजनिक भइरहन्छन्।
पारिश्रमिक नपाएका खबर सबैभन्दा धेरै सार्वजनिक हुने क्षेत्रभित्र मनोरञ्जन उद्योग पनि पर्छ।
यो उद्योगमा काम गरेका कलाकार बेला बेला आफ्नो पारिश्रमिकका लागि आक्रोश पोखिरहेका हुन्छन्। धेरैले मनोरञ्जन उद्योग व्यवसायिक हुन नसकेको आरोप लगाउँदै आएका छन्।
पछिल्लो समय मात्रै अभिनेत्री परमिता आरएल राणाले आफूले पारिश्रमिक नपाएको दुखेसो पोखिन्।
आफूले काम गरेको पैसा पनि भीख मागे जसरी माग्नु परेपछि आक्रोशित उनले निर्माता निर्देशकलाई धम्की समेत दिन भ्याइन्।
पारिश्रमिक नपाएपछि सामाजिक सञ्जालमा पोखिने पहिलो कलाकार परमिता भने होइनन्। उनी अघि पनि थुप्रै कलाकारले पारिश्रमिकका लागि लगानीकर्तासँग मनमुटाव गर्नु परेको छ।
परमिताले आफूले काम गरेको पारिश्रमिक लिन निक्कै संघर्ष गर्नु परेपछि नयाँ आउने कलाकारलाई पनि मानसिक रुपमा तयार भएर मात्रै यो क्षेत्रमा आउन आग्रह गरिन्।
अर्का कलाकार अमिर गौतमले फिल्ममा काम गरेको पैसा नपाएर सामाजिक सञ्जालमा पोखिएको धेरै भएको छैन। उनले चलचित्र ‘चपली हाइट’ ३ वटै सिरिजमा अभिनय गरेका छन्। सोही फिल्ममा काम गरेको पैसा नपाएको उनले दुखेसो पोखेका हुन्।
अमिरले पानीमा भिजेर काम गरेको पैसा समेत नदिएको भन्दै आक्रोश पोखेका थिए। उनको यो स्टाटसमा उनीसँगै काम गरेका दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो भाषामा आफूले पनि पारिश्रमिक नपाएको उल्लेख गरेका थिए।
पुराना कलाकार निर्मल शर्माले बिना पारिश्रमिक कुनै पनि काममा जोडिन मन नलागेको बताएका थिए। सायद उनलाई पनि पारिश्रमिक उठाउन गाह्रो भएको हुनुपर्छ।
मोडल दुर्गेश थापाले पनि पहिलो पटक अभिनय गरेको म्यूजिक भिडिओको पारिश्रमिक माया मार्नु परेको दुखद् अनुभव साटेका थिए। उता चलचित्र ‘रोज’मा काम गरेको पुरा पारिश्रमिक नपाएपछि अभिनेता पुष्प खड्काले लामै लडाईं गर्नु पर्यो।
चलचित्र ‘रोज’बाटै मिरुना मगर र परमिताले समेत पुरै पारिश्रमिक नपाएको चर्चा चलेको थियो। हास्य कलाकार राजाराम पौडेलले ‘क्याप्टेन’ चलचित्रमा काम गरेको पारिश्रमिक पाएनन्। उनले सार्वजनिक रुपमा मुख नखोले पनि बजारमा चर्चा भने चलेकै थियो।
यी त बाहिर आएका केही उदाहरण मात्रै हुन्। काम गरेपछि पारिश्रमिक नपाउने गरेको अधिकांश कलाकारको गुनासो सुनिन्छ। चलचित्रको डबिङ सकिएपछि पारिश्रमिक उठाउन झन् गाह्रो पर्ने कलाकारहरुको अनुभव छ।
Shares
प्रतिक्रिया