एक समय गाउँमा अशिक्षा थियो, छोरीहरू त झनै निरक्षर । गाउँ गाउँ पुगेर दलालहरूले किशोरीलाई फकाउँदै बेचबिखन गर्न भारतको मुम्बई लैजाने गरेका समाचार सुनिन्थे।
हास्य कलाकार हरिवंश आचार्य पनि यस्तै समाचार सुन्दै हुर्किएका हुन्। कलाकारितामा आएपछि उनले चेलीबेटी बेचबिखनविरुद्ध केही चेतनामूलक काम गरे। सानो तथा ठूलो पर्दामा अभिनय गरे।
मुम्बईमा बेचिएका कति चेली उतै मरे। कति चेली विभिन्न रोग बोकेर देश फर्किए। आफन्तको घृणा सहन नसकेर पासो लागे। चेलीबेटी बेचबिखनको यही कथालाई केन्द्रमा राखेर उनले केही फिल्म पनि बने। चेतना बढाउन विभिन्न समयमा अनेकौँ कार्यक्रम गरियो।
पछिल्ला वर्षमा चेलीबेटी बेचबिखनको स्वरुप बदलियो। छोरी चेली बेचिएर पुग्ने मुलुक बढे । चेलीबेटी बेचबिखनको संख्या मात्रै नभइ शैली पनि बढ्न गयो।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाहमा वृद्धि र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको झन धेरै बढेर गयो। हरिवंश आचार्यलाई यो कुराले चिमोटिरहन्थ्यो।
शहरकै शिक्षित छोरीचेली पनि बेचबिखनमा पर्न थालेपछि केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई लागिरह्यो।
कर्कलो कोक्याउला
यही दशैंमा आचार्य छोरो भेट्न अमेरिका गएका थिए। एकजना विदेशीले नेपाल घुम्न आउँदाको कथा सुनाए। ती विदेशी नेपाल आउँदा कर्कलोको सलाद खाएछन्।
उनले कर्कलो खाएर कोक्याएको कथा सुनाउँदै गर्दा आचार्यलाई ‘कर्कलो कोक्याउला, तिमीलाई झुक्याउला’ भन्ने गीतको स्थायी फुर्यो।
गीतको स्थायी लेखिसकेपछि उनले धेरै छोरीहरुलाई झुक्याएर विभिन्न देशमा बेच्न लगिएको सम्झिए। आचार्यले अमेरिकामै बसेर गीतका अन्तरा कोरे।
गीत लेखिसकेपछि उनी आफैंलाई गीत राम्रो लाग्यो। आचार्य भन्छन, ‘यस्तो गीत लेख्न सधैँ आउँदैन। यस्तै लेख्छु भनेर पनि लेख्न सकिँदैन।’ गीत बोकेर मेलोडी गुनगुनाउँदै आचार्य स्वदेश फर्किए।
गीतमा आफैँले मेलोडी भरे। उनलाई गीतको मेलोडी पनि राम्रो लाग्यो। आचार्यको स्वरमा सबैखाले मेलोडी फिट हुँदैन। उनी लोक जनराका गीत धेरै गाउँछन्। आचार्यको स्वरमा पपुलर भएका गीत पनि लोक जनराका गीत नै हुन्।
‘आफ्नो गलामा सुहाउने मेलोडी बनेपछि गीत आफैँले गाउने सोच बन्यो’ आचार्यले सुनाए। गीतमा किरण तुलाधरले संगीत संयोजन गरे। ट्रयाक राम्रो बन्यो। गीत रेकर्ड भयो।
म्यूजिक भिडियो निर्माणमा पुगेपछि उनले अभिनेत्री स्वस्तिमा खड्कालाई फोन गरे। अभिनयको अफर गरे। स्वस्तिमाले गीत पठाउन भनिन्। गीत सुनेपछि स्वस्तिमाले भेटेरै कुरा गर्न आग्रह गरिन्।
म्यूजिक भिडियो निर्देशनका लागि मानव सुवेदीको नाम स्वस्तिमाले नै सिफारिस गरेकी हुन्। मानवले निर्देशन गरेको ‘कालो चस्मा रेलीमाई’ बोलको गीत उनले हेरेकी रहिछन्। त्यही गीतको कन्सेप्टमा बनाउँदा भिडियो राम्रो बन्ने उनको सुझाव थियो।
अहिले दैनिक ५ सय नेपाली गीत रेकर्ड भइरहेका हुन्छन्। झण्डै त्यही अनुपातमा म्यूजिक भिडियो पनि निर्माण हुने गरेका छन्।
यो भीडबाट एउटा गीत चर्चामा आउन निक्कै गाह्रो छ। गीतमा केही न केही फरक नभई दर्शक, श्रोतामाझ नोटिस हुनै सक्दैन।
कति गीत त आएको गएको दर्शक–स्रोताले पत्तै पाउँदैनन्। गीतले फरक केही विशेषता बोकेको हुनै पर्छ। राम्रो गीत पनि फरक भएन भने चल्दैन। त्यसैले गीतको स्टोरी कन्सेप्टका लागि
आचार्यले पछिल्लो समय फरक खालको स्टोरी प्ले गरिरहेका मानवलाई सम्पर्क गरे।
मानवसँग आचार्य र स्वस्तिमा दुवैले काम गरेका थिएनन्। उनलाई सम्पर्क गर्न केही समय लाग्यो। मानवले गीत सुनेपछि स्टोरी लेखनमा दुई हप्ता मागे। भनेकै समयमा उनले स्टोरी बुझाए।
दुःख
म्यूजिक भिडियोको धेरै दृष्य काभ्रेमा खिचियो। केही सिन दक्षिणकालीमा। म्यूजिक भिडियोको सुटिङमा चार दिन लाग्यो। यो गीतको म्यूजिक भिडियोमा हरिवंशले शारीरिक अपाङ्गता भएकाको भूमिका निर्वाह गरेका छन्।
यो भूमिका निर्वाह गर्न उनलाई निक्कै गाह्रो भयो। शारीरिक परिश्रम निक्कै खर्चनु पर्यो। सुटिङ सकिएको निक्कै दिनसम्म उनका घुँडा दुखिरहे। सुटिङकै क्रममा हात गलेर फतक्क हुन्थे।
‘नगरेको काम गर्दा गाह्रो त भयो। तर हामी कलाकारका लागि यो सामान्य कुरा हो’, आचार्य भन्छन्, ‘कलाकारले अभिनयमा भोगेका दुःखलाई गाह्रो मान्नु हुँदैन, जसरी किसानले भारी बोक्दा, खेती गर्दा गाह्रो मानेर सुख पाउँदैनन्।’
स्वस्तिमाले आफ्नो भूमिका निक्कै राम्रोसँग निर्वाह गरिन्। प्रेम र विछोडका थुप्रै गीतमा अभिनय गरेकी उनलाई पनि फरक खालको काम गर्न मन थियो।
भिडिओ
स्वस्तिमाले व्यवस्थापनको काममा पनि निक्कै सक्रियताका साथ साथ दिएकाले भिडियो निर्माण सहज भएको आचार्यले बताए।
म्यूजिक भिडियो तयार भएपछि निर्देशकले आचार्यको मोबाइलमा पठाए। पहिलो पटक उनले म्यूजिक भिडियो एक्लै हेरे। आँखा रसाए।
त्यसपछि आचार्यलाई लाग्यो, ‘यो म्यूजिक भिडियो चेलीबेटी बेचबिखनको क्षेत्रमा काम गर्दै आएका मानिसलाई देखाउनु पर्छ।’
गत साता उनले एक कार्यक्रम गर्दै म्यूजिक भिडियो सार्वजनिक गरे। हलमा उपस्थित सबैका आँखा रसाए। यो उनको सिर्जना शक्ति थियो।
आफन्तका आँसु झर्दा पनि उनलाई आनन्द मिलिरहेको थियो। ‘मैले पनि कलाकार नभइ दर्शक भएर म्यूजिक भिडियो हेरेँ। अन्य दर्शकसँगै आँसु खसाएँ। सन्तुष्टिको सास फेरेँ’, उनी भन्छन्, ‘आँसुले पनि सन्तुष्टि दिने रहेछ।’
अहिले युट्युबको बजार खस्किएको छ। मानिसहरु टिकटकतिर झुम्मिएका छन्। टिकटकको छोटो अभिनयमा रमाइरहेकालाई यो गीतले तानेको छ।
सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ। धेरैले उनलाई फोन गरेर राम्रो गीतका लागि बधाई दिइरहेका छन्। गीतको प्रतिक्रियाले उनी उत्साहित छन्।
म्यूजिक भिडियोमा ९ लाख लगानी भयो। लगानीको केही हिस्सा स्पोनसर आएको थियो। बाँकी लगानी युट्युबबाटै उठ्नेमा आचार्य ढुक्क छन्।
चुनौती
‘चेलीबेटी बेचबिखन नेपालको पुरानो रोग हो। हिजो बाबु आमाले छोरीहरू कोठीमा बुझाएर खरको छाना फेर्थे। पहाडका चेली बेचिएको मात्रै गणना हुन्थ्यो’, आचार्यले अन्त्यमा भने, ‘त्यसताका तराईका छोरीचेली बेचिएको हिसाब नै थिएन। यो रोग अहिले देशका सबै जिल्लामा सरेको छ। जसका छोरी बेचिएका छैनन्, उनीहरुलाई हाम्रो समस्या होइन जस्तो लाग्छ। जसलाई परेको छ, कसरी खप्छन् होला भन्ने लाग्छ। उनीहरुका लागि यो भन्दा ठूलो पीडा के होला?’
विगतमा अशिक्षित र गाउँका महिला बेचबिखनमा पर्ने भए पनि अहिले शिक्षित र शहरी क्षेत्रकै महिला पनि विदेशमा धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने गरेका छन्। सामाजिक सञ्जालबाट हुने सम्पर्क डरलाग्दो रहेको प्रहरी तथ्यांकले नै बताउँछ।
सामाजिक सञ्जालमा दलालसँग सम्पर्क राख्ने, उनीहरुलाई फोटो पठाइदिने, तपाईँको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा लगाएको पठाइदिनुस् भनेपछि त्यस्तै पठाइदिने र दलालको फन्दामा परेर विदेश गएपछि कयौं महिला पीडित भएका प्रहरी अनुसन्धानले देखाएको छ।
यसरी आफू जोखिममा पर्दैछु भनेर पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलालाई जोगाउन झन् धेरै चुनौती रहेको छ।
राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेका घटना पाइएको अधिकारीहरू बताउँछन् ।
समाज शिक्षित भएपनि ब्यक्तिगत रुपमा चेतना बिस्तारका लागि गीत संगीतले केहि भूमिका खेल्ने हरिवंश आचार्यले आशा राखेका छन्।
Shares
प्रतिक्रिया