हिरो बनेर दिलीप रायमाझीझैँ हिरोइनसँग नाच्ने उनको चाहना थियो। त्यही सपना साँचेर एक दशकअघि रौतहटबाट काठमाडौँको रात्री बस समातेका थिए काजीश श्रेष्ठले। तर, समयको चक्र घुम्दै जाँदा उनी दिलीपलाई नै आफ्नो निर्देशनमा नचाउन सफल भए।
यतिबेला काजीश सहरको व्यस्त म्युजिक भिडिओ निर्देशक बनेका छन्। कोरियोग्राफीमा पनि उत्तिकै जमेका छन्। यहाँसम्म आइपुग्न खाएको हण्डर र गरेको संघर्षको फेहरिस्त लामो छ। तर, त्यसप्रति उनलाई कुनै गुनासो छैन।
घरको आर्थिक अवस्था सामान्य थियो। गाउँमा अरुका घरमा टीभी थियो। उनको घरमा भने एकतमासले बजिरहन्थ्यो रेडियो। त्यही रेडियोमा बजेका गीत सुन्दै नाच्न थालेका थिए उनले। फिल्म हेर्नकै लागि उनी गाउँमा टीभी भएका घरमा पुग्थे। उनलाई राजेश हमाल, दिलीप रायमाझी र श्रीकृष्ण श्रेष्ठ खुब मनपर्थ्यो। टीभी हेर्नकै लागि उनले थुप्रै सास्ती भोगे।
शनिबार आउनुअघि नै उनका बुबा सबै छोराछोरीलाई वरिपरि राख्थे र छुट्टीको दिनको कामको बाँडफाँट गरिदिन्थे। काजीश पर्थे गाई गोठालो जानेमा। त्यसबेला शनिबार नै नेपाल टेलिभिजनमा नेपाली फिल्म आउँथ्यो। हरेक हप्ता गोठालो नजाने बहाना बनाउनु सजिलो थिएन। बहानाबाजीकै कारण कतिपट बुबाका लबटा भेट्थे उनी। बुबाको आँखा छलेर गाउँमा पुग्दा दैलो ढप्की सकेका हुन्थे। उनी काठे घरका चेपबाट फिल्म हेर्थे र घर फर्किन्थे। फिल्म हेरेको लामो समयसम्म फिल्मको ह्याङओभरले छाड्थेन।
नाच सिक्न जंगलको बाटो
छोराको नाच्ने रहर देखेका उनका बुबाले स्कुलमा हुँदै भनेका थिए– ‘साह्रै रहर गरिस् डान्स क्लास भर्ना गर्दिऊँ?’
तर उनलाई चिनेका मान्छेसँग नाच सिक्न लाज लाग्थ्यो। स्कुल सकेर सहरमा कलेज भर्ना भएपछि भने उनलाई चिन्ने मान्छे पातलिए। नयाँ ठाउँ, नयाँ साथी, सपनाले पनि नयाँ अंकुरण लियो। ठिक त्यही बेला भेटिए डान्स मास्टर कर्मा लामा। कर्मालाई आफ्नो रहर सुनाए। उनले कर्माले डान्स साथ दिए।
घरबाट झण्डै ४५ मिनेट साइकल यात्रा गरेपछि कलेज पुगिन्थ्यो। छोटो बाटो हिँडेर जाँदा १० मिनेटमै कलेज निस्कन्थ्यो। तर, त्यो १० मिनेटको बाटोमा दुई वटा खोला र जंगल छिचोल्नु पथ्र्यो। मानिस कमै हिँड्ने बाटो डरलाग्दो थियो। उनी नाच सिक्ने समय निकाल्न त्यही जंगलको बाटो हिँड्थे।
नाचेर अरूलाई देखाउने रहर धेरै थियो। डान्स सेन्टरमा सिकेको कुरा दुई भाइलाई अगाडि राखेर राति अबेरसम्म नाच्थे। बिहान ४ बजे भाइलाई उठाउँथे र फेरि नाच्न थाल्थे। उनका भाइहरू पनि उनले भनेको मान्थे। दाइ सँगसँगै नाचेर साथ दिन्थे। त्यसबेला उनकी ठूली दिदी काठमाडौंमा जागिरे थिइन्। भाइको नृत्यमोह देखेर क्यासेट किनेर पठाइदिइन्। क्यासेटमा उनले नाच्न मिल्ने थुप्रै गीत रेकर्ड गरेका थिए।
रहरको क्षेत्रमा ब्रेक नपाउनुको दुःख
रौतहटमै ‘प्लस टु’ सेकेमा काजीश बीए पढ्न काठमाडौं आए। उनले एकदिन दिदीलाई भने, ‘दिदी मलाई नाच्न रहर छ। उता अलिअलि सिकेँ। यहाँ पनि सिक्छु।’
साधना कलाकेन्द्रमा नाच सिक्न थालेका काजीश दिदीको करमा पाटन कलेजमा बीए भर्ना भए। तर, उनको ध्यान कलेजको पढाइमा गएन, डान्समा मात्रै केन्द्रित भयो। उनले पढाइ छाडिदिए। दिदीको करबलमा बीए प्रथम वर्षको परीक्षा दिन परीक्षा केन्द्र पुगेका उनी जाँचै नदिई भागे। नृत्य र अभिनयको नसामा उनी सातदोबाटो–पुतलीसडक गरिरहे।
साधना कलाकेन्द्रमा सिक्ने क्रममा भेटिए सिन्धुपाल्चोकका रामकृष्ण। रामकृष्ण र काजीशका सपना एकै थिए। सिक्ने क्रममा उनले सुने, काठमाडौंमा राजधानी कला केन्द्र छ। दिलीप रायमाझीले पनि त्यहीँ डान्स सिकेका हुन्। उनी साधना कलाकेन्द्र छोडेर राजधानी कलाकेन्द्र भर्ना भए। राजधानी कलाकेन्द्र जानुको एउटै उद्देश्य थियो दिलीप रायमाझीले झैँ नाच्न सक्ने हुने। राजेश हमालले झैँ फिल्म खेल्ने। तर, विस्तारै उनले थाहा पाए फिल्म लाइनमा सुखभन्दा दुःख धेरै रहेछ, नवप्रवेशीहरूका लागि।
उनले कुन निर्देशकको दैलो धाएनन् होला! सबैभन्दा बढी उनी शंकर बिसीकहाँ पुगे। बिसी त्यो समयका व्यस्तु म्युजिक भिडिओका निर्देशक। मुस्किलले भेटिन्थे बिसी। तर, रित्तो हात फर्किनुपर्थ्यो।
भेटेपिच्छे बिसी भन्थे, ‘पहिला राम्रो नृत्य र अभिनय सिक भाइ। त्यसपछि म काम दिन्छु।’
उनले भन्दा पहिला उनका साथी रामकृष्णले ब्रेक पाए। उनीहरू सँगै खुसी भए। त्यसपछि उनी एक फाइनान्समा मार्केटिङको काम गर्न थाले। काठमाडौंमा बस्न र खानको दुःख थिएन। दुःख थियो रहरको क्षेत्रमा ब्रेक नपाउनुको।
साथीको त्यो प्रस्ताव
डान्स सिक्ने क्रममा नै भेटिएका थिए मोडल महेन्द्र गौतम। राम्रो चिनजान, ठिकैको दोस्ती। काजीशले त ‘यस्तै रहेछ’ भनेर निर्देशकका पछि लाग्न छाडेका थिए। तर, एकदिन कामबाट फर्किंदै गर्दा महेन्द्रले प्रस्ताव राखे, ‘तिमी र म एउटा गीतमा सँगै डान्स गरौं।’ गीत थियो, लोक गायक बिरही कार्कीको ‘मायालु हजार’। यही गीतमार्फत् काजीशले अभिनय यात्रा सुरु गरे। निर्देशक शिव विकले उनको नृत्य खुब मन पराए। म्युजिक भिडिओमा उनको नृत्यले धेरैलाई तान्यो।
शिवले उनलाई भने, ‘तिमी केही गर्न जन्मेको हौ।’ त्यसपछि शिवकै निर्देशनका ५/६ वटा म्युजिक भिडिओमा काम गरे। यतिबेलासम्म काजीशमा आफ्ना लागि आफैँले कमाउनु पर्छ भन्ने परिसकेको थियो। जागिर छोड्न सकेनन्। त्यसैले डान्समा त्यति धेरै रमाउन सकेका थिएनन्। ध्यान धेरै जागिरमै दिन्थे।
त्यसपछि डान्स मास्टर
काजीशका भिनाजु नियमित कसरतका लागि कोटेश्वर जान्थे। त्यो एक्सरसाइज सेन्टरमा डान्स मास्टरको खोजी भइरहेको थियो। भिनाजु त्यो जागिरको प्रस्ताव लिएर आए। काजीशलाई लाग्यो, अरुलाई सिकाउन डान्स सिकेको होइन्। आफैँले नाचेर देखाउने रहरले सिकेको।
तर, दिदीको ढिपीका अगाडि उनको केही जोर चलेन। ‘ठिकै छ गरिहेरौँ’ भन्ने सोचेर उनी ‘नेहा आर्ट सेन्टर’ कोटेश्वरमा डान्स मास्टर बन्न पुगे।
त्यसपछि निकै व्यस्त बन्यो उनको दैनिकी। बिहान ५ बजेबाट ४ वटा क्लास लिन्थे। डान्स सिकाउने क्रममै भेटिए त्यो समयका चर्चित म्युजिक भिडिओ निर्देशक शिवन पोख्रेल। त्यसअघि काजीशले लिने उक्त क्लास शिवनले नै लिन्थे। शिवनले उनको डान्स सिकाउने शैली हेरेपछि निकैबेर तारिफ गरे। काजीशले उनलाई भने, ‘मलाई पनि म्युजिक भिडिओमा नाच्ने, टीभीमा देखिने, सुटिङमा जाने रहर छ दाइ!’
त्यसपछि शिवन र काजीशको दोस्ती जम्यो। शिवनले निर्देशन गरेका थुप्रै म्युजिक भिडिओका सुटिङमा पुग्न थाले काजीश। त्यो समय पूर्ण म्युजिक भिडिओका साथै प्रोमोका लागि छोटा छोटा दृश्य खिच्ने चलन थियो। प्रोमोका लागि बनेका थुपै्र म्युजिक भिडिओका दृश्यमा काजीशले अभिनय गरे।
केही गीतका म्युजिक भिडिओमा साइड डान्सरका रूपमा पनि काम गरे। एउटा फिल्मा जयकिशन बस्नेतसँग पनि नाचे। त्यो फिल्ममा नाच्नका लागि दुर्गेश थापा र उनी सँगै गएका थिए। दुर्गेश आधा नाचेपछि भागे। उनी भने रातभरि नाचेर फर्किए। त्यसपछि कामको खाँचो भएन। तर, सोचेजस्तो पनि भएन। काजीशको मन कला क्षेत्रमा रमाउन सकेन।
रहरकै क्षेत्रमा पनि कहिलेकाहीँ मन नअल्झिदो रहेछ। कला क्षेत्रमा रमाउन नसकेपछि उनले कुपन्डोलमा साथीसँग मिलेर रेस्टुराँ सुरु गरे। भन्छन् ‘मनभन्दा ठूलो त रहर पनि हुन्न रहेछ।’ रेस्टुराँको सजावट सुटिङमैत्री बनाए। उनको रेस्टुराँमा थुपै्र म्युजिक भिडिओ सुटिङ भए। तर, झन्डै एक वर्षपछि भने रेस्टुराँको व्यापार खस्कियो। साझेदारले उनलाई धोका दिए। रेस्टुराँमा गरेको लगानी डुब्यो।
त्यो उनका लागि जीवनकै सबैभन्दा ठूलो धक्का थियो। उनलाई सम्हालिन गाह्रो भयो। त्यपछि निधो गरे ‘म नेपाल बस्दिनँ।’ शिवनलाई भने ‘दाइ म नेपाल बस्दिनँ। मलाई बाहिर पठाइदिनू।’ शिवनले काम मिलाइदिने भन्दै भारत पठाए। जाने भाडा उनैले दिए। उता बस्ने व्यवस्था पनि मिलाइदिए।
उनी नाइट बस र ट्रेन चढेर मुम्बई पुगे। तर, गर्ने भनिएको काम मिलेन। बलिउड स्टारका घरअगाडि उभिएर तस्बिर खिच्दै दिन बिताउँथे।
२१ दिन बितेपछि उनलाई भारतमा पनि बस्न मन भएन। त्यहीँका साथीसँग बाटो खर्च मागेर काठमाडौं फर्किए।
काठमाडौँ आएपछि उनका आमाबुबाले घर फर्किन भनेका थिए। तर, उनलाई घर पनि आफ्नो जस्तो लागेन। उनी मलेसिया हानिए। तर, मलेसिया जाँदाको ऋण पनि पुरा तिरिनसक्दै ८ महिनामै नेपाल फर्किए। पासपोर्ट उतै छोडेर भागेर नेपाल आए। नेपाल फर्कंदा उनले साइड डान्सर भएर काम गर्छु भन्ने अठोट लिएर फर्किए।
हिमालपारि गीतबाट सुरु भएको सफल यात्रा
नेपाल फर्किएपछि उनी शिवनकै साथमा पुगे। शिवनले उनलाई सहायक निर्देशक बनाए। एउटा म्युजिक भिडिओमा सघाएबापत् ५ सय रुपैयाँ दिन्थे। त्यही पैसाले मोबाइल खर्च र सार्वजनिक यातायातको खर्च पुर्याउँथे।
शिवन कामको सिलसिलामा बाहिर थिए। त्यही समय प्रियसी म्युजिक कम्पनीका सञ्चालकले काजीशलाई निर्देशनको प्रस्ताव गरे। उनले सुरुमा आँट गर्न सकेनन्। साथीहरूले ढाडस दिए, ‘एउटा म्युजिक भिडिओ बिग्रेर केही हुँदैन। हामी साथमा छौँ आँट गर।’
साथीको आँटले उनी निर्देशक बन्न तयार भए। उनले पहिलो पटक निर्देशन गरेको म्युजिक भिडिओ थियो– रामजी खाँडले गाएको हिमालपारि बोलको गीतको। यसपटक उनलाई भाग्यलाई साथ दियो। म्युजिक भिडिओ चल्यो। उनको नाम पनि चल्यो। उनलाई कामको खाँचो भएन। तत्काल उनले आफ्नो पारिश्रमिक तोकेनन्। पाएको काम गर्दै गए।
कुनै दिन दिलीप रायमाझीझैँ नाच्ने सपना देखेका काजीशले एकदिन दिलीपलाई नै म्युजिक भिडिओमा नचाए। ‘पानी पकाएर बाक्लो हुँदैन’बोलको गीतको म्युजिक भिडिओमा रायमाझीको वरिपरि सय जना कोरस नचाए।
यो गीतको सफलतापछि ठूला बजेटका म्युजिक भिडिओ निर्माताको रोजाइमा परेका काजीशले थुप्रै हिट म्युजिक भिडिओ निर्देशन गरे। कोरियोग्राफीमा पनि जमे। राजेश हमाललाई पनि निर्देशन गर्ने मौका पाए।
कोरोना कालमा थुप्रै कलाकार बेरोजगार भए। धेरै निर्देशकले काम पाएनन्। उनी भने निक्कै व्यस्त देखिए। कोरोनाकालमै निर्देशन गरेका केही म्युजिक भिडिओ हिट भए। उनले हिजोआज त निर्देशनभन्दा पर अर्को संसार छ भन्ने पनि भूलिसके। निर्देशन र कोरियोग्राफीको यो यात्राले उनलाई देशका थुप्रै प्रतिष्ठित अवार्ड दिलायो। सबैभन्दा ठूलो कुरा रहर भन्दा पर पनि रङ भरेर बाँच्न सिकायो।
Shares
प्रतिक्रिया