आफ्नै आँखाले संसार हेर भन्नु। तर, यो रेखा भन्दा परको संसार नियाल्न पाउँदैनौं भनेर घेरा लगाइदिनु। गीत गाउन दिनु, तर त्यही गीतमा थोरै पाइला चल्मलाउँदा उत्ताउलो भनेर गाली गर्नु।
यावत कुरामा एउटा मान्छेले कत्तिको स्वतन्त्रताको आभास गर्न पाउँछ होला? गीतकार ज्ञान्दरी कैनीले पनि स्वतन्त्रताको यो अपुरो बाटो हिँडी आएकी हुन्।
उनी हुर्कंदाको समाज चेतनाका हिसावले त्यत्ति परिपक्व थिएन्। छोरीलाई एसएलसीसम्म मात्रै पढाउने चलन थियो। धेरै छोरीले १० कक्षा पुग्ने बेलासम्म घरजम गरिसक्थे। ज्ञानदरीका बुवाले पनि आफ्नी छोरीले एसएलसी पास गरेपछि विवाह गरिदिने निधो गरेका थिए।
आँखाले हेरेर नभ्याउने खेतबारी। गोठभरी गाईबस्तु। हली, गोठालो राखेर गाउँमा बेग्लै शानले बाँचेका उनका बुवाको वचन काट्न निक्कै गाह्रो थियो। तर ज्ञानदरीले अठोट गरिन् ‘म क्याम्पस पढ्छु’ बुवासँग जिद्दी गरिन्। उनका बुवा पनि पढाउन तयार भए। त्यो समयका लागि यो उनको ठूलो विद्रोह थियो।
तनहुँ घाँसीकुवाको पानी खाएर हुर्किएकी उनको रगतमै कविता थियो। स्कुलबाटै कविता लेख्ने ज्ञान्दरी क्याम्पस पढ्न थालेपछि झन् धेरै लेख्न थालिन्।
२०४६ सालमा मधुपर्कमा गजल छापिएपछि लेखनमा औपचारिक रुपमा देखिएकी ज्ञान्दरीले केही वर्ष साझा प्रकाशनमा जागीर खाइन्। साझा प्रकाशनमा जागीर खाने क्रममा उनको थुप्रै लेखकसँग भेट भयो। लेखनका कुरा भए। माहोलले पनि उनलाई लेखनमा झन् धेरै जिज्ञासु बनायो। अहिलेका चर्चित गजलकार ज्ञानुवाकर पौडेल, युवराज नयाँघरे उनका साथी थिए। उनीहरुले लेखनलाई निरन्तरता दिए।
ज्ञान्दरीले भने विवाहपछि औपचारिक लेखनलाई निरन्तरता दिन सकिनन्।
आइए पढ्न आएकी छोरी बीए पढ्न थालिन्। साझा प्रकाशनमा जागीर खान थालिन्। आफ्नी छोरीसँगै पढेका सबै गाउँका छोरीचेली आमा बनिसके। उनका बुवाको चिन्ता भनिसाध्यै थिएन।
त्यहि बेला गोरखाका तिर्थराज भट्टसँग उनको विवाहको कुरा चल्यो। त्यो समयनै त्यस्तै थियो, छोरी मान्छेले केटा आफ्नो लागि ठिक छ–छैन भनेर बोल्न पाउँदैनथे। उनले पनि प्रश्न गरिनन्। परिवारको स्वीकृतिमा उनको विवाह भयो।
विवाहपछि भने ज्ञान्दरीको प्राथमिकतामा परिवार पर्यो। छोराछोरी जन्मिए। परिवार बच्चा भन्दा भन्दै उनले औपचारिक लेखन छोडिन्। घरभित्रै रमाइरहेकी ज्ञान्दारीको साहित्यिक माहोल हराउँदै गयो। साथीहरु छुटेर आफ्नै बाटो बनाए। जागीर, घर मै हराइरहेकी उनले लामो समय लेखनमा आफ्नो मन गम्भीर छ भनेर बुझ्नै सकिनन्।
उनका श्रीमानमा पनि साहित्य चेत प्रखर थियो। घरमा मन दुखेका कुरा एकअर्काका सिर्जना मार्फत व्यक्त गरे। तिर्थराजले त उनलाई समय समयमा भनिरहेकै हुन्थे ‘आफ्नो लेखनलाई निरन्तरता देउ, कार्यक्रममा सरिक बन्दै गर।’ तर उनी आफैंले आफ्नो लेखनलाई गम्भीर रुपमा लिन सकिनन्। छोराछोरी हुर्कदै गर्दा, आफ्नै उमेरले पनि उमेरको एउटा यात्रा तय गर्दै गर्दा आफ्नो लेखनको माया लाग्न थाल्यो।
त्यही माया ज्ञान्दरीले पछिल्लो समय बजारमा ल्याइन्। सांगीतिक गजल एल्बम ‘मन्जरी’ बजारमा ल्याइन्। त्यसपछि आएका प्रतिकृयाले उनी निक्कै उत्साहित देखिएकी छन्।
उनलाई अहिले आएर लागेको छ ‘ह्रदयको भित्री कुनामा लुकेर बसेको क्षमता कुनै न कुनै समय बाहिर निस्कन खोज्दो रहेछ।’
आफू भित्रको सिर्जनशिलता प्रस्फुटित हुने क्रममा ज्ञानदरीलाई कयौं पटक पीडा पनि भएको छ।
‘त्यो पीडा पनि महिलाले सन्तान प्राप्तीपछि बिर्सिने प्रसव पीडा जस्तै हुने रहेछ। अहिले त्यही पीडा सम्झँदा सुन्दर लाग्न थालेको छ’ ज्ञानदरीले सुनाइन्।
अब त उनको सपना भन्नु नै लेखनमा निरन्तरता हो। गजल सुनेर स्रोताले दिएका प्रतिकृयाबाट उत्साहित बनेकी ज्ञानदरी चाँडै अर्को कृति लिएर आउने तयारीमा छिन्।
भन्छिन् ‘अब त छोराछोरी आफ्नै हिसावले सेटल भैसके। आमा, श्रीमती, बुहारीको भूमिकामा जसरी सफल भएँ लेखनमा पनि सफल हुन मन छ।’
Shares
प्रतिक्रिया