स्थानीय तहको निर्वाचन आएपछि एमाले प्रवेश गरेकी नायिका करिश्मा मानन्धर फिल्म प्रमोसनकै शैलीमा अनेक फण्डा गर्न थालेकी छन्।
पार्टी प्रवेशपछि विभिन्न सभामा सरिक हुँदै आएकी करिश्माका अभिव्यक्ति सामाजिक सञ्जालमा गसिप बनिरहेका छन्। तथापि उनले अनेक उक्तिसहितका भाषण दिएर आफूलाई एमालेको पक्षमा होमिसकेकी छन्।
करिश्मा मात्रै होइन, अहिले अरु कलाकारलाई चुनावी चटारो छ। मतदातालाई आफ्नो पार्टीतिर तान्ने गीत, भिडिओ, वृत्तचित्र र छोटा फिल्म लगायत सामग्री बनाइँदै छ। विभिन्न सांस्कृतिक गतिविधिमार्फत कलाकार चुनावी प्रचारमा केन्द्रित भएका हुन्।
चुनावी प्रचारका सामग्री सम्झिँदा गायक बद्री पंगेनीलाई कसैले बिर्सिँदैनन्। उनले गाएको ‘मै पनि एमाले सै पनि एमाले’ बोलको गीत एकताका सबैको जिब्रोमा झुन्डिएको थियो।
कांग्रेसको चुनावी अभियानमा सधैं जस्तो यसपाली पनि राधिका हमाल, विमल क्षेत्री, रामजी खाँण, दुर्गा रायमाझी, कविता गेलाल, दमन रुपाखेती, शिवहरि बैरागी, सुरेन्द्र केसी र हेमन्त बुढाथोकी लगायत कलाकार सक्रिय छन्।
चुनावी प्रचारका सामग्री निर्माणका साथै कलाकारहरु मतदाताका घर दैलोमा पुगिरहेका छन्। अन्य समय राजनीतिक रुपमा निष्क्रिय रहने कलाकार चुनावमा खुलेर प्रचारमा लागेका छन्।
कांग्रेसको प्रचारका लागि नेपाल सांस्कृतिक संघले ‘घर घर जाऊँ, कांग्रेस जिताऊँ’ भन्दै गीत रेकर्ड गरिरहेको छ।
जसको नेतृत्व गरिरहेका छन्, संघका महासचिव शिवशंकर रिजाल। चुनावी प्रचारका लागि भिडिओ र अन्य गीत रेकर्ड भइरहेको रिजाल बताउँछन्। चुनावकै लागि नेपाली, मैथिली, भोजपुरी, थारु, अवधि, देउडा लगायत भाषामा विभिन्न भाकाका गीत तथा भिडियो बनाइरहेको रिजालले बताए।
नेपाली कांग्रेसका विज्ञ तथा नेताहरुका अभिव्यक्ति समेटेर ‘किन कांग्रेसलाई जिताउने’ अर्थसहितका भिडिओ पनि बनिरहेका छन्।
‘चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रमदेखि, सभा, सेमिनार, आमसभालगायत सबै ठाउँमा परिचित अनुहारसहितका कलाकार परिचालित हुनेछन्’, रिजालले भने।
माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेललाई पनि चुनावी चटारोले राम्रैसँग छोएको छ।
पार्टी निर्देशनअनुसार स्टेज कार्यक्रमदेखि घरदैलोसम्ममा सरिक हुने तयारीमा रहेका पोखरेल सांस्कृतिक टोली बनाएर परिचालन गर्ने बताउँछन्।
नेकपा एमालेको चुनावी प्रचारमा दिनेश डिसी खुलेर लागेका छन्। पार्टीलाई सहयोग गर्ने बैठकदेखि सामग्री तयार पार्नेसम्मका काम गरिरहेका छन्। पार्टीले जतिबेला जे भन्यो, त्यही गर्ने
तयारीमा रहेको डिसी बताउँछन्। विभिन्न ठाउँमा पार्टीको सम्पर्क कार्यालय खोलेर प्रचार सामग्री बनाउन एमालेनिकट कलाकार ब्यस्त भएका छन्।
संगीतकार चेतन सापकोटा अखिल नेपाल जनसांस्कृतिक महासंघमार्फत चुनावी एजेण्डा बोकेर प्रचारमा लागेका छन्। चुनावी प्रचारका लागि देशभरका फरक फरक लय, भाका र भाषाका गीत तथा डकुमेन्ट्री निर्माण भइरहेको चेतनले बताएका छन्। भावनात्मक तरिकाले जनताको भोट माओवादीका पक्षमा पार्ने उनको तर्क छ।
राप्रपानिकट राष्ट्रिय प्रजातन्त्र पार्टी सांस्कृतिक संघ, एकीकृत समाजवादी पार्टीनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ लगायतले चुनावी प्रचार सुरु गरेका छन्।
आफू कुनै राजनीतिक दलनिकट नरहेको बताउने कलाकार पनि भेटघाटमा ब्यस्त छन्। केही कलाकारले पार्टी प्रवेश गर्दा अरु कलाकार भने राजनीतिक परामर्शमा छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा अभिनेता राजेश हमाल एमालेको प्रचारमा देखिएका थिए। त्यसपछि कुनै राजनीतिक पार्टीनिकट नदेखिएका हमाल सन्दर्भ मिलाएर नेता भेटिरहेका छन्।
यता, हमालकै समकालीन अभिनेता भुवन केसी पनि राजनीतिक परामर्शमा छन्। पार्टी प्रवेश गरेर चुनावी प्रचारमा निस्किने तयारीमा रहेको उनीनिकट स्रोतले बताउँदै आएको छ। उनी आफैंले पनि नेताहरुसँग परामर्श गरिरहेको बताएका छन्।
राष्ट्रका गहना मानिने कलाकार पार्टीको गहना बन्न अहिले तँछाडमछाड गरिरहेका छन्। दलका नेतालाई त झ ‘के खोज्छस् कानो आँखो’ झैं भएको छ। चर्चित कलाकार पार्टी प्रवेश गरेर चुनावी प्रचारमा लागेपछि नेताहरुलाई पनि सजिलो भएको छ।
Shares
प्रतिक्रिया