असार १३, १४ र १५ गते पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आर।शाला’ मा मुना–मदन प्रस्तुत हुन लागेको हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना–मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो।
गीति–नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुन भने बिस्तारै विस्मृतिमा गएका थिए।
गतवर्ष पलेँटीमा सहभागी हुन् आएकी शान्ति ठटालबाटै पाएको त्यो जानकारीपछि पलेँटीले उनलाई आफ्ना पुराना धुन सम्झन अनुरोध गर्यो।
उनले काठमाडौँको अनुरोधलाई सिक्किमको एकान्त बासमा पुगेर सम्झने सिलसिला शुरु गरिन्। त्यसकै परिणाम संगीतकार ठटालले सृजना गरेका मुना–मदनका धुन पलेँटीको अभिलेखालयमा अंकित हुने भएका छन्।
संगीतकार ठटालले गत महिनाको पलेँटीमा आफ्ना नयाँ पुराना संगीत प्रस्तुत गरेकी थिइन्। त्यसयता मुनामदनको संगीत संयोजनमा क्रियाशील ठटाल काठमाण्डौमै रहेर आफ्ना धुनहरूलाई परिमार्जन गरिरहेकी छन्।
नेपाली गीति साहित्यमा अत्यधिक लोकप्रिय मुना–मदनले नेपाली भाषीहरूको ठूलो परिवेशलाई प्रभावित गरेको छ। त्यसको झलक यसपालीको पलेँटीमा स्पष्ट देखिने भएको छ।
यो पलेँटीमा दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न रहनेछिन् । त्यस्तै मनिपुरमा जन्मेकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफहरूलाई स्वर दिनेछिन् ।
दुई महिना पहिलेको पलेँटीमा छन्द कविताहरूको प्रस्तुति गरेर प्रशंसा बटुलेकी भूषिता वशिष्ठ यसपटकको पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन्। त्यसैले यसपटकको पलेँटी मार्फत् काठमाडौँले सिक्किम, दार्जिलिङ र मनिपुरका चेलीहरूको संगम गराउने भएको पलेँटीको दावी छ।
मुना–मदनमा पलेँटीका संयोजक आभास लगायत बाँसुरी वादक बलराम समालको स्वर पनि सुन्न पाइने भएको छ।
‘मैले उहिल्यै धुन भरेको मुना–मदन झण्डै झण्डै भूली सकेकी थिएँ, पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु, यसको रङ्ग भने लोकले गाउँदै आएको मुना(मदनकै मौलिक धुनमा आधारित छ’ आफूले धुन भरेको कृतिका बारे संगीतकार ठटालले जानकारी गराइन्।
‘सन् ७७ ताका गान्तोकमा कार्यरत हुन थाल्दा यसको प्रस्तुति भएको थियो, एउटा रमाइलो जानकारी गराउँछु– त्यतिबेला मुना–मदन गीतिनाटकको निर्देशक पनि मै पो थिएँ’ ठटालले भनिन्, ‘यसपटक भने गीति नाटकको रुपमा होइन, कथा गायनको रूपमा प्रस्तुत हुनेछ।‘
‘संगीतमा निरन्तर क्रियाशील शान्ति दिदीका झण्डै बिर्सिसकेका मुना(मदनका धुनलाई पलेँटीको अभिलेखालयमा संकलन गर्न पाउनु सानो उपलब्धि होइन’ संगितकार आभासले भने, ‘देवकोटाको यसै कृतिमा अग्रज संगीतकार अम्बर गुरुङले भर्नु भएका धुन हामीले सुन्न पाएनौँ। त्यसलाई बेलैमा व्यवस्थित ढंगले अभिलेखायलमा राख्न पाएको भए नेपाली संगीत र साहित्यको ढुकुटी थप भरिलो हुने थियो।‘
उनले थपे, ‘शान्ति दिदीले हामीलाई यसको अभिलेख राख्ने मौका दिनुभएको छ, यसले हाम्रो संगीत र साहित्यको ढुकुटीमा अनमोल रत्न थपिएको छ।‘
नेपालयको ‘आर’शालामा अभ्यासरत शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन्।
Shares
प्रतिक्रिया