मेनुका प्रधान नेपाली फिल्म उद्योगकी ‘मौन’ पात्र हुन् भन्दा फरक पर्दैन। उनको नाम चर्चामा हुँदैन, न अरु कलाकारजस्तो हल्ला नै गरिरहेकी हुन्छिन् उनी। तर, मेनुका काम भने निरन्तर गरिरहेकी हुन्छिन्, त्यो पनि एकसेएक राम्रा।
फिल्ममा गहन भूमिका निर्वाह गर्ने मेनुकालाई चर्चामा भने एक गीतले ल्यायो। २०७१ सालमा गायक हेमन्त रानाले गाएको ‘सुन साइँली’बोलको गीतको भिडिओमा अभिनय गरेपछि मेनुका धेरै दर्शकको आँखामा बसिन्। भिडियोमा ‘साइँली’को भूमिकामा देखिएकी मेनुकालाई धेरैले साइँली नै भनेर चिने। अहिले पनि उनलाई कतिपयले साइँली भनेरै चिन्छन्।
यो गीतको सफलतापछि ‘साइँली’ नामको फिल्म निर्माण भयो। फिल्ममा मेनुका पुनः ‘साइँली’को भूमिकामा देखा परिन्। फिल्मले गतिलो व्यापार नगरे पनि मेनुकाको कामले भने राम्रो चर्चा पायो।
मेनुकाले ‘महानगर’फिल्ममा अभिनय गरिन्। यही फिल्मले उनलाई नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा उत्कृष्ट अभिनेत्रीको उपाधि दिलायो। तर, मेनुकाले हल्लामा विश्वास गरिनन्। न उनले अवार्ड पाएको हल्ला गरिन, न फिल्म चलाउन फण्डा नै।
त्यसो त मेनुकालाई सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’बाटै हो, दर्शकले चिन्न थालेको। एक सहरकी मध्यम वर्गीय केटीको भूमिकामा देखिएकी मेनुकाले फिल्मको चर्चा भए पनि सफलताको स्वाद चाख्न पाइनन्।
फिल्मलाई २०७२ को भूकम्पले धक्का दियो। यो धक्का मेनुकाको करिअरमा पनि पर्यो। तथापि फिल्ममा समावेश ‘पारि त्यो डाँडाँमा’ बोलको गीतले लामो समय चर्चा पायो। यो चर्चामा मेनुकाको नाम पनि चलिरह्यो।
ब्रान्ड नहेर्ने यी अभनेत्री हरेक भूमिकामा उत्तिकै मेहनत गर्छिन्। मेनुका अभिनित ‘पानीफोटो’अहिले हलमा लागेको छ। फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
मेनुकाको कामको तारिफ भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक खगेन्द्र लामिछाने पनि मेनुकाको कामको प्रशंसा गरिरहेका छन्।
मेनुकाले यो फिल्ममा आफ्ना अभिनयका गुरु अनुप बरालसँग जोडी बाँधेकी छिन्। उनले फिल्ममा निर्वाह गरेको भूमिका उनको उमेरभन्दा निकै माथिको हो। तर उनी आफ्नो अभिनयमा अब्बल देखिएको फिल्म समीक्षकहरुले बताएका छन्।
फिल्मप्रतिको मेनुकाको लगाव बाल्यकालदेखिकै हो। एउटै पर्दामा धेरैथरी भावनाहरु देखिन्थे। समाजका थुप्रै पाटो एउटै फिल्ममा समेटिन्थे। फिल्ममा मेनुकाले थुप्रै सम्भावना देखेकी थिइन्।
सम्भावनाको यही बाटो समातेर नवलपरासीबाट काठमाडौं आएकी मेनुकाको काठमाडौंको सुरुको बसाइ सहज थिएन। फिल्मले उनको मन तानिरहन्थ्यो, उनलाई फिल्ममा तान्ने मानिस थिएनन्।
उनी भन्छिन्, ‘त्यो समय मैले आर्थिक, मानसिक तथा भावनात्मक रुपमा स्वतन्त्र हुने र आफ्नो जीवन आफ्नै हातमा लिने कोशिसमा संघर्ष गरेँ। जसले मलाई झन बलियो बनायो।’
मेनुकाले पहिलो पटक अभिनय गरेको फिल्म ‘एक दिन एक रात’ हो। यो फिल्ममा दिया मास्के र अनुप बरालसँग काम गरेकी मेनुकाको करिअर यसैले मोडिदियो। मेनुकाले अनुपसँग ‘एक्टर स्टुडियो’मा अभिनय सिक्न थालिन्। एक्टर स्टुडियोमा पुगेपछि मेनुकालाई लागेको थियो, ‘मैले खोजेको यही हो।’ उनलाई आत्मविश्वास थियो ‘म फिल्ममा केही गर्न सक्छु।’
मेनुकाले अभिनय गरेका ‘भिसा गर्ल’, ‘भैरव’, ‘उत्सव’, ‘गिज्राना’ लगायतका फिल्म चलेनन्। उनले हार मानिनन्। ‘रेमश फिलिली’, ‘पुरानो ढुंगा’, ‘साइँली’ लगायतका फिल्मले उनलाई राहत दिए। हिजोआज फिल्मको पात्र भएर बाँच्दा आफू विकसित भइरहेको महसुस उनलाई हुन्छ।
फिल्मी यात्राको मध्यविन्दुमा आइपुगेकी मेनुका फिल्म छान्ने र पात्र अनुभव गर्ने क्षमताले पनि आकार लिएको बताउँछिन्। हिरोइन बन्ने सपना देखेर फिल्ममा आएकी मेनुका अहिले आनन्द आउने चरित्र रोज्छिन्। उनलाई कुनै पनि फिल्ममा अभिनय गर्नु भनेको नयाँ संसार बसाएर त्यसमा रम्नुजस्तै लाग्छ। त्यसैले फिल्म छान्दा निकै विचार गर्छिन्।
मेनुकालाई सबैभन्दा गाह्रो ‘पानी फोटो’मा काम गर्ने निर्णय लिन भयो। कारण, फिल्ममा उनले गुरुको जोडीका रुपमा देखिनु पर्ने थियो।
मेनुकाले यो फिल्ममा अभिनय गर्न नसक्ने बताएकी पनि हुन्। तर अनुप र खगेन्द्रले ‘तिमी सक्छौ, नआत्तिनू’ भनिरहे। मेनुकाले हिम्मत जोडिन्। त्यसपछि उनी ‘पानी फोटो’मा सशस्त्र युद्धमा हराएको छोरा खोज्न हिँडेकी आमा बन्न तयार भइन्।
उनको भूमिकाले दर्शकको मन छोएको छ। उनको अभिनयको चर्चा छ। मेनुका मौन रहेर यी सबै कुरा हेरिरहेकी छिन्। उनी चाहन्छिन्, प्रशंसाको यो भिडबाट कसैले ‘मेनुकाले अबको फिल्ममा यो चाहिँ सुधारे हुने’ भनेर भनिदेओस्। तर, दर्शक तथा समीक्षकले उनको अभिनयमा खोट लगाउने ठाउँ भेटेका छैनन्। फिल्मलाई मन नपराउनेहरुले पनि छोराको खोजीमा निस्किएकी मेनुकाको व्याकुल अवतारलाई मन पराएका छन्।
Shares
प्रतिक्रिया