पोखराको सभागृहमा राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता चलिरहेको थियो। कार्यक्रमको अन्तिम दिन सहभागी हुन पुगिन् गायिका प्रीति आले।
ट्याक्सीभित्र रहेकाले उनले सभागृह बाहिरको दृश्य देख्न पाइनन्। तर, फर्किने क्रममा गेटकै भुइँमा बसेर गीत गाइरहेका दृष्टिविहीन पुरुष देखेपछि उनी रोकिइन्।
गेटबाहिर सडकमा बसेर ती पुरुष गीत गाइरहेका थिए। तर, अरुले उनको गीतलाई बेवास्ता गरिरहेका थिए।
कसैले केही रुपैयाँ उनको टोकरीमा हाल्दै थिए। काठमाडौं फर्किने हतारमा रहेकी प्रीतिको मनमा लाग्यो, ‘यस्तो चर्को घाममा बसेर गीत गाउँदै गरेकालाई केही सहयोग गर्न सके हुने।’
सहयोगका नाममा उनले पर्सबाट पैसा निकालिनन्। त्यसो गरेर उनी बाटो लाग्न सक्थिन्। तर, उनको मनले मानेन। उनले ती पुरुषसँगै बाटोमै उनको माइक समातेर गीत गाउन थालिन्।
जब प्रीतिले ‘यो दाजुले हित गर्यो मसित’, गाउन थालिन् तब बाटोको परपरसम्म छरिएका मानिस आए। सबैले सकेको सहयोग रकम टोकरीमा भरिदिए।
छोटो समयमा रकम संकलन भएपछि सँगै रहेका रमेशबाबु श्रेष्ठले तपार्ईलाई गीत गाएर साथ दिने प्रीति आले हुन भनिदिए। उनले पैसा पाएकोभन्दा धेरै खुशी प्रीति नजिकै आइदिएकोमा खुसी व्यक्त गरे।
‘उहाँ खुशी भएको देखेर म त छक्क परेँ,’ उनले अनुभव सुनाइन्। गायिका प्रीति भनेर चिनेपछि ती पुरुषले फोटो खिच्न लगाए। त्यसपछि प्रीति काठमाडौं फर्किन्।
सामाजिक सञ्जालमा अहिले प्रीतिले गाएको उक्त गीतको भिडिओ क्लिप्स भाइरल भइरहेको छ। सञ्जाल प्रयोगकर्ताले प्रीतिको प्रशंशा गरेका छन्।
सबैले हेर्दै बेवास्ता गरेर हिँडिरहेको दृष्यले प्रीतिलाई छोयो। हतारको समय पनि निकालेर एकैछिन गीत गाएर फर्किएकी प्रीति सञ्जालमा आएका प्रतिक्रियाले उत्साहित भने छैनन्।
‘मैले एकछिन गीत गाएर ठूलो सहयोग गरे जस्तो प्रतिक्रिया पाएर के गर्नु, उहाँहरुको गाह्रो समय त्यतिले सकिने होइन,’ उनले सुनाइन्।
तर, एकैछिन भए पनि ती पुरुषको मुहारमा खुशी दिन सकेकोमा भने आनन्द लागेको प्रीतिले सुनाइन्।
प्रीति अरुले हिँड्दै गरेको बाटोभन्दा अलग हिँड्न रुचाउने गायिका हुन्। उनी गीतमा पनि फरक ढंगले प्रस्तुत हुन्छिन्, हुँदै आएकी छन्।
उनले एक दिन कुराकानी क्रममा भनेकी थिइन्, ‘मलाई सबैले हिँडेको त्यही बाटोमा उस्तै गरी हिँड्नै मन लाग्दैन। फरक सोच भर्खरै पलाएको होइन। स्कुल पढ्दा अरु छोरीहरू दुई चुल्ठी बाटेर हिँडे। मैले ब्वाइज कट कपाल काटेर हिँडे। मेरो चर्चा र विरोध त्यही बेलाबाटै भएको हो।’
प्रीति धेरै विवादमा परिरहने गायिका पनि हुन्। दोहोरी ब्याटलका नाममा होस् अथवा तीज गीतका नाममा प्रीति विवादमा परिरहन्छिन्। तर प्रीतिलाई गीतबारेको टिप्पणी सामान्य लाग्छ।
उनी चर्चा र विरोधमा एकसाथ जोडिन्छिन्। ‘फरक सोच राखेर हिँड्दा फरक परिस्थितिको सामना गर्न तयार भएकी हुन्छु, उनले भनिन्, ‘म आफ्नै पाराकी केटी हुँ । मन लागेको कुरा जसरी पनि गर्छु।’
यस पटक पनि प्रीतिलाई बाटोमा गीत गाउन मन लाग्यो। सबैले बेवास्ता गर्दै हिँडेको ठाउँमा बसेर गीत गाइन्। त्यो दिन त्यही बाटो भएर हजारौं मानिस हिँडे। अरुको आँखामा पनि सडकमा बसेर गाउने ती पुरुष नपरेका होइनन्।
फरक यति हो अरुले बेवास्ता गरे, प्रीतिले माया बाँडिन्। मायाको बदला माया नै मिल्छ भने जस्तै प्रीतिले ले पनि बदलामा दर्शक र शुभचिन्तकको मायालु प्रतिक्रिया पाइरहेकी छिन्।
प्रीति सानै उमेरमा गायनमा आएकी हुन्। तनहुँमा जन्मिएकी उनी लोकदोहोरी सुन्दै हुर्किन्। ‘म हुर्किँदा त्यहाँको वातावरण नै दोहोरीमय थियो। मैले १२–१३ वर्षमै दिदीहरूको भीडमा गीत गाउँथे,’ उनले सुनाइन्।
गाउँमा दिदीहरूसँग गीत गाएर प्रशंशा बटुलेकी प्रीति औपचारिक गायनको सुरुमा दोहोरीमा रमिन्। त्यहीँबाट सुरु भयो प्रीतिको सफलताको सिँढी उक्लिने क्रम।
नेपालमा दोहोरी गीतमा ब्याटल भित्र्याउने गायिकाको श्रेय प्रीतिलाई जान्छ। २०७४ सालतिर गायक प्रकाश सपूतसँग दोहोरी ब्याटल गाएपछि दुवैको आलोचना भएको थियो।
गीत निकाल्दै उनीहरुले भनेका थिए ‘यो लोक दोहोरी गीत होइन । दोहोरीको शैलीबाट प्रभावित मात्रै हो।’ तर लोकगीत बिगारेको आरोपमा उनीहरुले गाली खानु पर्यो।
प्रीतिले गीत गाएर आलोचना खेपेको त्यसबेला मात्रै होइन। उनले तीज गीतमा पनि उस्तै आलोचना खेपेकी छिन्।
दुई वर्षअघि तीजका बेला प्रीतिको स्वरमा ‘फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले’ बोलको गीत सार्वजनिक भयो। गीतमा स्थापित मान्यता भत्काउने प्रयास गरिन्।
त्यस्तै, म्युजिक भिडिओमा पनि उनी स्वच्छन्द रूपमा प्रस्तुत भइन्। भिडिओमा आफैं प्रस्तुत भएकी प्रीतिले गीत सार्वजनिक भएपछि चर्को आलोचना खेप्नुपर्यो।
सरोकारवालाले गीतदेखि म्यूजिक भिडिओसम्ममा बिमत्ति जनाए। तर प्रीतिलाई कुनै पनि प्रतिक्रियाले छोएन। उनले उस्तै लय तथा भावभंगीका अरु गीत पनि गाइन्।
गत वर्ष पनि ‘सोल्टी राजाको तुम्लेटमा पानी’ बोलको गीतले पनि विवाद सिर्जना गर्यो। यो वर्ष प्रीतिको गीतको उति चर्चा भएको छैन।
प्रीतिका गीतले पर्व र संस्कृतिको ‘बेइज्जत’ गरेको आरोप लागिरहन्छ। प्रीति भने आफूलाई गीतमा रुपान्तरण खोज्ने गायिका भन्न रुचाउँछिन्।
‘मसँग सधैँ नयाँपन दिने हुटहुटी छ। यसैले स्टुडियोदेखि स्टेजसम्म व्यस्त छु’, उनले भनिन्, ‘मैले दोहोरी मात्रै गाएकी छैन। लोक पप गीत पनि छन्।’
प्रीति आफ्नो क्षमतामा विश्वास गर्ने गायिकामा दरिन्छिन्। सिजनका बेला महिनभर व्यस्त हुन्छिन्। ‘म पूरै गायनमा निर्भर छु। क्षमता हुनेका लागि यो पेशा राम्रो छ,’ उनले सुनाइन्।
Shares
प्रतिक्रिया