बाध्यताले मलिन सुनिने आमाको ममताको कथाले मुटुको कुना कुनामा छुन्छ। दिदीभाइको प्रेमले उतिबेलै बनाउँछ नोस्टिाल्जिक र पुर्याउँछ आफैं हुर्केको बस्तीमा। आफ्नो सफलताको खुसीले भन्दा धेरै साथीको असफलताले किचिएको मित्रताको कथाले आँखा वरिपरि नचाउँछ स्कुले साथी।
यहाँ त्यस्तो ठूलो केही छैन, तर सबथोक भेटिन्छ। माया र ममताको कथा भेटिन्छ। आमाको संघर्षको कथा भेटिन्छ। छोरीको भत्किएको सपनाले समयको एक कालखण्ड जुरुक्क बोकेर ल्याउँछ पर्दामा र हुरुक्क बनाउँछ दर्शकको मन।
समयले भुलाएको मितेरी साइनोभित्र लुकेको प्रेम, व्यक्त गर्न नपाउँदै टुंगिएको स्कुले पिरती, परिवारप्रति उदासिन पिताले देशको चिन्ता गर्दै कान थापिरहेको रेडियोको आवाज, तरुनीवयमा प्रवेश गर्ने बेलाको सुनौलो श्रृंगार– यी सबै हाम्रो समाजका कथा हुन्। र त्यही समाज टपक्क टिपेर ‘ऐना झ्यालको पुतली’ मार्फत् पर्दामा रंग पोत्न सफल देखिएका छन् सुजित बिडारी।
एउटा बालकको फिल्मप्रतिको मोह, काठमाडौं पसेर पैसा कमाउने र रक्सीको नसामा लरबराइरहने बाबुलाई सुख दिने छोराको सपना, रक्सीकै लागि छोरीको सपना कुल्चिएर श्रीमतीको बाकस फोर्ने श्रीमानको घिनौलो अनुहार, त्यही अनुहारसँग छोराछोरीको सुन्दर भविष्यका लागि याचना गरिरहेकी लाचार श्रीमतीको मायालु आवाज, यी सबै–सबै अनुहार अब्बल देखिन्छन् पर्दामा ।
तर आमा बनेकी सिरु बिष्ट बाहेक अरु सबै अनुहार यो फिल्मी दुनियाँ भन्दा परका अनुहार हुन्।
हलसम्म नदेखेकी विद्या (कन्चन चिमोरिया)लाई ‘लिड क्यारेक्टर’ मा पर्दामा देखाउन सुजितले ठूलै दुस्साहस गरेका छन्। त्यसो त, विद्याको शान्त विद्रोहले दर्शकका आँखा बेला–बेला टिलपिल बनाइदिन्छन्। डेकमा सिडी हालेर फिल्म हेर्ने वसन्तको सपना, गाउँभर देखिने एउटा मात्रै ‘ब्ल्याक एण्ड ह्वाइट’ टेलिभिजनले !६० को दशकको प्रतिनिधित्व गर्छ।
गाउँकै दाईले कमाएर ल्याएको १० हजारका कारण काठमाडौं तान्निरहने बांगे दर्शकका आँखामा कहिले रिस र कहिले आँखा भरिरहन्छन्।
र, पनि कतै बिझाउँदैन उनको अभिनय। उनीहरु फिल्ममा अभिनय गरिरहेका छैनन्, आफ्नै गाउँमा आफ्नो जीवन आफ्नै हिसाबमा बाँचिरहेका छन्। न अनावश्यक रोनाधोना, न नमिठो लाग्ने सम्वाद, न कलाकारको ठूलो भीड, आफैंमा सलल बगेको फिल्मको दृश्य।
हेरौं लाग्दा–लाग्दा पाश्र्वध्वनीमा बिलाइजाने कलाकार दर्शकका आँखाले पर्खिरहन्छन् निकैबेर।
मानिसहरु ठूला–ठूला कुराको पछि लागेका छन्। तर जीवनमा अर्थ भने निक्कै साना कुराले राख्छन्। ‘ऐना झ्यालको पुतली’ बाल्यकालका त्यस्तै स–साना कुराहरुको कोलाज हो। आफ्नै सपनाको उडान भर्न दौडिरहने विद्या, स–साना गतिविधि र व्यवहार गरेर दर्शक हसाउने बसन्त।
काठमाडौंको सपना देखिरहने बाङ्गे, नाङ्गै खोलामा पौडी खेल्न दौडिरहने, स्कुल र बाटोमा पनि बद्मासी गरेर सताउने उनका साथीहरु, पढ्दा पढ्दै बिहे गरेर घर सम्हाल्न तयार भएकी विद्याकी मितिनी सिनेमा घरको पर्दामा दौडिरहेका यी कुनैपनि दृश्य फिल्मका झैं लाग्दैनन्। यी सबै पात्र हाम्रै स्मृतिका पात्र हुन्।
हामी मध्ये धेरैले छोडी हिँडेको आफ्नै बाल्यकालको सुन्दर अभिलेख जस्तो फिल्मका दृश्यले दर्शकलाई बाँधेर राख्छ।
हलबाट निस्किँदै गर्दा कवि शान्तिप्रय बन्दना भन्दै थिइन्, ‘विद्याकी आमा सिरु बिष्ट मेरै आमा त हुन्।’
आडैमा रहेकी सामना पहाडले फिल्ममा आफैंलाई भेटिन्। आसु भरिएका आँखाले निर्देशक, कथाकारसँग विमति राख्दै भनिन्, ‘यसरी छोरीहरुका सपना नचुडाइदिएको भए हुन्थ्यो।’
सुजितले १ घण्टा ३० मिनेटको एउटै सिनेमामा पारिवारिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक कथा कलात्मक रुपमा प्रस्तुत गरेका छन्, यो नै उनको सबल पक्ष हो।
छोरीका पढ्ने रहरले पखेटा फिँजारिरहन्छन्। आमाको पढाउने रहरलाई बाध्यताले गिजोलिरहन्छ । आफैंले बाँचेको जीवनले उनलाई पाठ सिकाएको छ, ‘मैले बाँचेको जिन्दगी छोरीलाई दिनु हुँदैन।’
छोरीलाई पढाउन सुन बेच्छिन्, हरसम्भव कोशिस गर्छिन्। सक्षम छोरीको सपना देख्छिन्। अन्ततः आफ्नै सपनासँग पराजित हुन्छिन् र छोरी बिदाईका लागि तयार हुन्छिन्।
हो, यहीँनिर खड्किन्छ आफ्नै जिन्दगीको सबैभन्दा ठूलो सपनासँग एउटी आमाले किन सम्झौता गरिन भन्ने कुरा !
सुजितले यो कथा यहाँ भनेका छैनन्। कारण रहस्यमय छ।
विद्याको सपना पुरा भएको हेर्न आत्तिरहेका दर्शकका आँखा त्यही अत्यास बोकेर हलबाट बाहिर निस्कन्छन्। के दर्शकमा यो अत्यास र कौतुहलता छोडेर ‘ऐना झ्यालको पुतली’ को दोस्रो भागको संकेत दिएका हुन् सुजितले?
फिल्मले हरकसैलाई बालादिनमा फर्काउछ। आफ्नै गाउँमा लिएर जान्छ। ती दिनमा आफूले गरेका एकएक बद्मासीले लाज पोतिदिन्छ गालामा । उमेर र संघर्षसँगै छुटेको गाउँको दृश्यले धड्कन तीव्र बनाउँछ मुटुमा।
हरेक सिनेमाका आफ्नै लक्षित उमेर समूह हुन्छन्। यो फिल्म कुनै एक उमेर समूहका दर्शकका लागि बनाइएको फिल्म हुँदै होइन। संवेदना र ममता भुल्दै गएको पुस्तालाई सम्बन्धमा, मित्रतामा कसरी संवेदनशील हुने सिकाउन आफ्ना छोराछोरीलाई ‘ऐना झ्यालको पुतली’ देखाउनुहोस्।
बिना लगाम रहरहरु पुरा गरिरहेको यो पुस्तालाई आफ्ना रहरमा लागेको पर्खाल र त्यो पर्खाल भत्काउन आफ्ना बा–आमाले गरेको संघर्ष देखाउनका लागि यो फिल्म देखाउनुहोस्। समाजमा महिलाको जर्बजस्त अस्तित्व हेर्नका लागि पनि यो फिल्म नछुटाउनुहोस्।
समाजको एउटा कथालाई दुरुस्तै टपक्क टिपेर फिल्ममा देखाउनु त्यति सहज छैन। यही असहजताका कारण केही दृष्यमा दर्शकको मन नबुझ्नु स्वभाविक हो। अन्यथा ‘ऐना झ्यालको पुतली’ मार्फत् सुजित बिडारी र केदार श्रेष्ठको टिमले गरेको प्रयास निकै राम्रो छ।
Shares
प्रतिक्रिया