‘निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिरहू सधैं तिमी शिखरको बाटो
जता पनि पुग दाजै घामभन्दा पहिलो।’
तिहारको आएको खबरसहित रेडियोमा यो गीत बज्न थालेको तीन दशक भन्दा धेरै भयो। गीत लेख्ने गीतकार दिनेश अधिकारी जागिरबाट सेवानिवृत्त भए। गायिका हेमलताको उमेर ढल्कियो। संगीतकार शम्भुजित बास्कोटाको ठाउँमा नयाँ संगीतकारले अड्डा जमाए।
कुनैबेला तिहारका बेला यो गीत सुन्नका लागि रेडियोमा कान थापेर बस्ने स्रोताहरु पनि पाका भए। तर, यो गीत कहिल्यै पाको (पुरानो) भएन।
त्यसयता पनि थुप्रै गीत तिहारका नाममा बजारमा आए। तर, यो गीतको स्थान अरु कुनै गीतले लिन सकेको छैन।
गीतकार दिनेश अधिकारीले यो गीत २०४६ सालमा लेखेका हुन्। यतिबेलासम्म नेपाली फिल्ममा तिहारका गीत समावेश भएका थिएनन्।
त्यो कालखण्डमा निर्माण भएका फिल्ममा दसैं तिहार जस्ता चाडपर्वका दृश्यले विशेष प्राथमिकता पाउँथे। दिनेश आफैँले पनि यतिबेलासम्म फिचर फिल्मका लागि गीत लेख्ने मौका पाएका थिएनन्।
त्यही समयमा चलचित्र ‘विजय पराजय’ निर्माण हुने भयो। राजेन्द्र सलभले निर्देशन गरेको यो चलचित्रको गीत लेख्न दिनेशलाई अफर आयो।
दिनेशका लागि यो अफर अवसर थियो। कारण, उनले चलचित्र गीतकारका रुपमा काम गर्न पाएका थिएनन्। गीत लेखनका लागि दिनेशलाई कथा सार सुनाइएको थियो। उनले त्यही कथासारमा यो गीत सिर्जना गरेका हुन्।
गीत रेकर्ड भएर पहिलो पटक सुन्दा माहोल नै निक्कै रमाइलो भयो।
गीतले दिने त्यो खुशीको आभाष आज पनि उस्तै छ। गीतमा दाजुबहिनीबीचको स्नेहलाई प्रस्तुत गरिएको छ। ०४७ सालमा बजारमा आएको यही गीतले दिनेशलाई पनि चलचित्र गीतकारका रुपमा उभ्यायो। त्यहीँबाट सुरु भएको चलचित्र गीत लेखनको उनको सिलसिला रोकिएन। गीतकारका रुपमा त्यसअघि नै चिनिएका दिनेशलाई चलचित्र गीतकारका रुपमा यही गीतले चिनायो र स्थापित पनि बनयो।
झण्डै ३३ वर्षअघि रेकर्ड भएको यो गीतको धेरै लामो कथा छैन दिनेशसँग। चलचित्र बन्ने भएपछि उनलाई लेख्नका लागि अफर आएको थियो। उनले लेखेको गीत सिनेमामा समावेश भयो। फिल्म रिलिज भयो। फिल्म सकिएसँगै गीत सकिएन। हरेक वर्ष रेडियो र टेलिभिजनबाट गुञ्जियो।
तत्कालीन समयमा सीमित रेडियो र टेलिभिजन थिए। तिहार आउँदा मात्रै रेडियो र टेलिभिजनले गीत बजाउँथे। तिहार सकिएसँगै एक वर्षसम्म गीत सुनिँदैनथ्यो। गीत कतिपटक बज्यो, स्रोता वा दर्शकले गीतलाई कसरी लिए, दिनेशलाई त्यति जानकारी हुँदैनथ्यो।
समय फेरियो, स्रोता फेरिए, फेरियो गीतसंगीतको स्वाद। पर्व मनाउने तरिका पनि फेरिए। यो गीत सुनेर हुर्किएको पुस्ता पाको भयो। तर, गीतको लोकप्रियता भने झन बढेर गयो। अहिले तिहार आउनु महिना दिन अघिबाटै यो गीतमा टिकटक बन्न थाल्छ। यो गीतमा झण्डै एक लाख प्रयोगकर्ताले टिकटक बनाएका छन्।
हरेक वर्ष दिनेशका इन्बक्स यही गीतमा बनेका टिकटकले भरिने गरेका छन्। तिहारको हरेक गतिविधिमा गीत बजाएर भिडिओ बनाउनेहरूले दिनेशलाई भिडिओका क्लिप्स पठाउने गरेका छन्। दिनेशलाई ती सामग्री हेरेर खुसी लाग्छ।
पछिल्लो समय भाइटीका सुरु भएपछि मानिसहरू पृष्ठभूमिमा यही गीत बजाएर टीका लगाउँछन्। ‘दिदीबहिनीले दाजुभाइले दिने आशीर्वादको रूपमा यही गीत नै प्रयोग गरेको पाइन्छ।
‘अघिल्लो वर्ष मात्रै गीत पृष्ठभूमिमा बजाएर टीका लगाएका देश तथा विदेशबाट ३० वटा भिडिओ मलाई म्यासेज आएको थियो। गीतको यो खालको लोकप्रियता देख्दा निक्कै खुसी लाग्छ’, दिनेशले सुनाए।
उनलाई सबैभन्दा मनपर्ने पर्व पनि तिहार हो। तिहारसँग थुप्रै सांस्कृतिक पक्ष जोडिएका छन्। मनपर्ने पर्वसँग गीतमार्फत जोडिएको छु भन्दा दिनेशलाई अर्कै किसिमको खुसी मिल्छ।
उनी भन्छन् ‘आफूलाई मनपर्ने पर्वको संस्कृतिसँग जोडिएर काम गर्न पाएको छु। गीत जति पुरानो भयो, उति नै लोकप्रिय बन्दै गएको छ। एउटा सर्जकका लागि यो खुसी तुलना गर्ने अन्य कुनै पाटो र पक्ष हुँदैन रहेछ।’
यी हुन् तिहारमा सम्झना लायक गीत–
‘तिहारै आयो लौ झिलिमिली
ए सुन हजुर भैलेनी आए आगन
मनको आँखा उघारी हेर
हे सुन हजुर लक्ष्मी आइन आँगन।’
हरेक वर्ष तिहारमा सबैभन्दा धेरै बज्ने गीत हो यो। नेपाली फिल्म ‘स्वर्गमा समावेश यो गीतमा तिहारको सांस्कृतिक पक्षलाई समावेश गरिएको छ। तिहारमा बेला दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र सयपत्रीरमखमली फूलका माला लगाइदिने मात्र होइन साँझमा भैलो र देउसी खेल्ने परम्परा छ। देउसी भैलो खेल्न जानेहरुले यही गीत बजाएर नाच्ने गरेका छन्।
यो गीत लोचन भट्टराई र नूतन प्रधानले गाएका हुन्। यादव खरेलले लेखेको यो गीतले मनोरञ्जन मात्रै प्रदान गर्दैन, विशेष मौसम र परिवेशको महसुस गराउँछ।
‘दीयो बाली साँझको
फूल सजाई पूजाको
माता लक्ष्मी बसिदेउ आज
घर संसार सानो हाम्रो’
चलचित्र ‘राँको’ मा समावेश यो गीत विशेष गरेर लक्ष्मी पूजाका दिन बज्ने गर्छ। लक्ष्मीपूजाको साँझ लक्ष्मी भित्र्याउने बेला हरेक घरमा बज्ने यो गीत पनि वर्षाैंदेखि लोकप्रियताका साथ बजिरहेको छ। आशा भोसलेले गाएको यो गीत लक्ष्मी पूजा बाहेकका अन्य दिनमा पनि उत्तिकै बजाइन्छ।
‘भाइटीकामा भेट्न आउँला बिदाई छ आजलाई
नरोई जाउ चेली आशीष छ तिमीलाई
पराई नै आफ्नो हो, आफ्नो नै पराई।
राजु लामाले गाएको यो पनि तिहारमा निक्कै गुञ्जिने गीत हो। यो गीतमा विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा समावेश छ। सुक गुरुङको शब्द संगीत रहेको यो गीत पनि लामो समयदेखि लोकप्रिय गीत हो।
‘अधरमा आज उनकै छ गीत
पल पल मनमा झल्किन्छ प्रीति।’
तिहारमा धेरै गुञ्जिने गीतहरुमा चलचित्र ‘अन्याय’को यो गीत पनि हो। गीतले तिहारसँग बल्ने बत्ति र सप्तरंगीसँग जीवनको रंग र उमंगलाई जोडेको छ। मनिला सोताङले गाएको यो गीतमा रन्जित गजमेरले संगीत गरेका छन्। गीत रत्न शमशेर थापाले लेखेका हुन्।
‘हाँसेर बोल बैनी तिहारको बेलामा
रिसाउनु हुन्न नि लै लै ख्याल र ख्यालैमा
तिमी हाँस्दा फूल हाँस्दा
तिमी रुँदा आँसु बरर।’
तिहारमा दिदीबहिनी र दाजुभाइको माया सम्झाउँदै बज्ने अर्को गीत हो यो। गीतमा दाजुभाइसँग दिदी बहिनीको मायालाई तिहारमा प्रयोग गरिने दुबो, तेल र मखमलीसँग दाँजिएको छ। चलचित्र ‘माइती’मा समावेश यो गीत आनन्द कार्की, उदित नारायण झा, दीपा झाले गाएका छन्।
‘दाइ त मेरो लाहुर जाने
म बैनी त सम्झेर रोइ रहने’
युक्त गुरुङ र सावित्री शाक्यले गाएको यो गीत पनि तिहार खुबै बज्ने गीत हो। दाजुबहिनीको मिठासपूर्ण सम्बन्धका बारेमा वर्णन गरिएको यो गीत हरेक तिहारमा विशेष बन्ने गरेको छ। यो गीत दैवज्ञराज न्यौपानेले लेखेका हुन्। यो गीतमा परदेशिएको लाहुरेको कथा समेटिएको छ।
गीतमा संगीत युक्त गुरुङले भरेका छन्। पछिल्लो समय यो गीत दुर्गा गुरुङ र गणेश गुरुङले पनि गाएका छन्।
‘झिलिमिली रातमा, साथीभाइ साथमा’
लोक–पप फ्युजनमा तयार पारिएको यो गीत पछिल्लो समयको चर्चित गीत हो। अक्षता अधिकारी र नवाज अन्सारीले गाएको यो गीतमा र्याप पनि मिसाइएको छ। नयाँ किसिमको स्वाद भएकाले पछिल्लो पुस्ताका स्रोताले यो गीत निक्कै रुचाएको पाइन्छ।
Shares
प्रतिक्रिया