दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले बिहीबार सम्बन्ध विच्छेद गरे।
जसका कारण उनीहरूका एक मात्र सानी छोरीले बाबुको न्यानो काखबाट वञ्चित हुनुपरेको छ। सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भएदेखि नै दुःखी बनेकी जेरीले सम्बन्ध विच्छेद गर्ने दिन पनि रुँदै अन्तर्वार्ता दिएकी थिइन्।
जसमा जेरीले बिहे गरेको १४ दिनदेखि नै आफूलाई शंकर र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाएकी छन्। समय बित्दै जाँदा श्रीमानको अफेयर अरूसँग भएको दाबी पनि उनले गरेकी छन्।
उक्त अन्तर्वार्तामा उनले सम्बन्ध विच्छेदपछि आफ्नी छोरीले बाबुको साथ गुमाउने भन्दै वेदना पोखेकी छन्।
यसैबीच अभिनेत्री पूजा शर्माले जेरीलाई सान्त्वना दिने प्रयास गरेकी छन्। अभिनेत्री शर्माले आफूले पनि बुवाबिनाको जिन्दगी बिताएको उल्लेख गरेकी छन्। उनले त्यो अन्तर्वार्ता हेरेर जेरीको पीडा र वास्तविकता थाहा पाएको बताएकी छन्। साथै उनले जेरीलाई हिम्मत नहार्न सुझाव पनि दिएकी छन्।
‘बाबाबिनाको जिन्दगी के हो भनेर मैले बुझेको छु जेरी दिदी! तपाईंजस्तो कठोर र सहासी महिला त्यसै रुँदैन, यति ठूलो पीडा लुकाएर पनि हाँस्ने मान्छे कमै हुन्छ, आज बल्ल थाहा भयो हजुरको पीडा र वास्तविकता’, शुक्रबार शर्माले फेसबुकमार्फत भनेकी छन्, ‘बाबाबिनाको छोरीको भोगाइ मैले पनि भोगेको हुँदा हजुरको छोरीको याद आयो, म ढुक्क छु- नानी झन् संघर्ष गरेर ठूलो मान्छे हुनेछिन् एकदिन।’
अभिनेत्री शर्माले अगाडि लेखेकी छन्, ‘आज मलाइ मेरी आमा संसारकै महान् लाग्छ, अनि तपाईंजस्ती आमा संसारकै महान् हुनुहुन्छ, छोरीका लागि भए पनि हजुरले हिम्मत हार्नु हुने छैन, बाँकी जीवनको शुभकामना जेरी दिदी।’
Shares
प्रतिक्रिया