नेपाली मनोरञ्जन उद्योगमा ‘मुर्गा’ शब्द निकै प्रचलित छ। खास गरेर फिल्म तथा गीतका म्यूजिक भिडिओमा लगानी गर्ने निर्मातालाई मुर्गा भन्ने चलन छ।
अनामनगरतिर गीत/संगीतमा पैसा हाल्ने थुप्रै भेटिन्छन्। फिल्ममा मुर्गा बन्ने मानिस पनि प्रशस्तै छन्।
फिल्म अथवा म्यूजिक भिडिओमा पैसा हाले नाम र दाम दुवै कमाई हुने भन्दै उद्योगमा नयाँ–नयाँ लगानीकर्ता भित्राउने प्रचलन नयाँ होइन। यस्ता लगानीकर्तामा धेरै विदेश बसेका मानिसहरु पर्छन्।
यसरी लगानी गरेर मनोरञ्जन उद्योगबाट ठगिने निर्माताको सूची लामै छ। तर कसैले बोल्ने आँट भने आजसम्म गरेका थिएनन्।
फिल्ममा लगानी गरेर आफू ठगिएको ठहरसहित पछिल्लो समय निर्माता केशव पाण्डे न्याय माग्न न्यायालय पुगेका छन्।
पाण्डेले रिलिजको तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा लगानी गरेका थिए। यो फिल्म पहिलो पटक छायांकन स्थलमा पुगेर लफडा गरी फर्कियो।
उक्त लफडापछि नायिका नम्रता श्रेष्ठ फिल्मबाट बाहिरिन्। पछि निर्माण टिमले केकी अधिकारीलाई नायिकाका रुपमा भित्र्यायो र दोस्रो झमटमा फिल्म छायांकन सक्यो।
फिल्मको ट्रेलरले दर्शकको मन जितेकै थियो। फिल्म आउँदो शुक्रबारबाट रिलिजको तयारीमा थियो। तर, निर्माताको उजुरीपछि अदालतले फिल्म रिलिज नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
पाण्डेले ६२ लाख ५० हजार ठगी गरेको भन्दै मुद्दा हालेका थिए।
गएको असार १६ मा काठमाडौंमा आयोजना गरिएको फिल्म घोषणाको भव्य कार्यक्रममा पाण्डेलाई फिल्म निर्माताका रुपमा चिनाइएको थियो।
पाण्डे पनि आफूले पाएको परिचयले खुशी थिए। पाण्डेको खुशी मै फिल्मको छायांकन सकियो।
तर, फिल्मको प्रचार सामग्रीमा कतैपनि आफ्नो नाम नदेखेपछि पाण्डे बिच्किए।
सुरुमा न्यायका लागि भन्दै चलचित्र विकास बोर्ड पुगेका पाण्डेले त्यहाँबाट पनि न्यायको प्रत्याभूति पाएनन्। त्यसपछि उनी प्रहरी हुँदै अदालतको ढोका ढकढक्याउन पुगेका हुन्।
मंगलबार उच्च अदालत पाटनले अर्को छलफल र निर्णयअघि फिल्म प्रदर्शन नगर्नु भनेर अल्पकालिन अन्तरिम आदेश जारी गर्यो।
रिलिजको चार दिनअघि फिल्मको प्रदर्शन रोकियो। पाण्डे आफूले फिल्ममा गरेको लगानीको हिसाब किताब नभएसम्म फिल्म रिलिज हुन दिने पक्षमा छैनन्। आगामी चैत २६ गतेलाई उच्च अदालत पाटनले अर्को पेसी तोकेको छ।
दुई वर्षअघि साथी मार्फत निर्माता सुवास थापा र पाण्डेको चिनजान भएको थियो। भेटघाट बाक्लिँदै जाँदा मेडिकल व्यवसायी पाण्डेको आम्दानीको रेसियो थाहा पाएका थापाले नाम र दाम दुवै हुने प्रलोभन देखाएर आफ्नो फिल्ममा निर्माताका रुपमा भित्र्याए।
थापाले पाण्डेलाई पनि केही फिल्ममा मुर्गा बनेर चुपचाप बसेका अन्य निर्मातालाई झैं सोचे। तर पाण्डेमा चेतना थियो, उनी चुप लागेर बसेनन्।
पाण्डे भन्छन्, ‘साथी पनि जोडिएकाले मैले सोझो पारामा विश्वास गरेर लगानी गर्न तयार भएँ। दुवै जनाले बराबर लगानी गर्ने सहमति भएको थियो। सुवासले पैसा माग्दै गए, मैले दिँदै गएँ। फिल्म छायांकनमा जानुअघि नै मैले ६२ लाख ५० हजार बुझाएँ। फिल्म छायांकनका लागि कास्कीको ल्वाङघले पुग्यो, त्यसपछि पो पत्तो पाएँ– म त ठगिएछु, मुर्गा भएछु।’
पाण्डेले लगानी गरेको सबै पैसा छायांकन अघिनै सकियो। पाण्डेले लगानी गरे बराबर रकम थापाले लगानी गरेर फिल्म सक्नु पर्ने सम्झौता थियो। तर थप रकम पनि पाण्डेसँगै मागिएको पाण्डेले बताएका छन्।
आफैं कास्की पुगेर ठगिएको थाहा पाएका पाण्डेको स्वाभिमानले आफूलाई चुपचाप ठगिन दिएन। फिल्मको पहिलो पटक रोकिएको छायांकनको कारण यही थियो।
पछि थापाले काठमाडौं आएर पाण्डेसँग सम्झौता गरे। सम्झौतामा उनको लगानी फिर्ता हुने भनियो। फिल्म छायांकन भयो। सम्झौता अनुसार नै थापाले पाण्डेलाई लगानी बराबरको चेक त दिए। तर पैसा साटिएन।
त्यसपछि पाण्डेले कानुनी लडाइँ लड्ने निधो गरे। उनले थापाविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा चेक अनादरको आरोपमा बैंकिङ कसुरमा जाहेरी दर्ता गरे। थापाले पाण्डेसँग १ साताको समय माग गरे, तर पैसा दिएनन्।
त्यसपछि जाहेरी दर्ता भयो। उच्च अदालत पाटनबाट थापाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भयो। तर, थापा अहिले प्रहरीको फरार सूचीमा छन्।
Shares
प्रतिक्रिया