बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले प्रचार सुरु गरेको छ। जेठ २१ गतेलाई प्रदर्शन मिति तोकेको निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिइएको छ।
द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यसै साता गीत र ट्रेलर सार्वजनिक गरिने निर्माता शेखर लामाले जानकारी दिएका छन्।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’लाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो। चलचित्र निर्देशन देव थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्। बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको छ। चलचित्रमा सम्पादन तारा थापा, पार्श्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ।
उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ। चलचित्रलाई डीसीएन र रिच इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ।
Shares
प्रतिक्रिया