दर्शक भएर फिल्म हल्काराकी मियालाई पर्दामा हेर्दा कलाकार विनिता थापाका आँखाभरि आँसु भएका थिए। फिल्म छायांकन भएर झण्डैै ५ वर्षपछि प्रदर्शनमा आउँदा उनी आफैँले बाँचिआएको पात्रको कथा भुलिसकेकी थिइन्। पर्दामा आफैंलाई हेर्दा विनिताको मन पग्लिरह्यो। फिल्म प्रदर्शनपछि नेपालखबरको स्टुडियोमा आएकी विनिता पुराना दिन सम्झदै जाँदा भक्कानिएर रोइन्। हल्कारामा विनिताले स्वर्गीय कलाकार दीपक क्षेत्रीसँग काम गरेकी थिइन्।
उनले भनिन्, ‘कलाकार मरे पनि उसको कला मर्दैन रहेछ। दाइ हामी माझ हुनुहन्न, उहाँले अभिनय गरेको फिल्म रिलिज भएको छ।’
विनिताको नेपाली फिल्म उद्योगसँग पनि मन दुखेको छ। उनले यो उद्योगमा १४ वर्षको समय बिताएकी छिन्। यो दौरानमा उनले थुप्रै नाटकमा अभिनय गरिन्। केही सर्ट फिल्ममा काम गरिन्। उनले अभिनय गरेका सर्ट फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चामा रहे, पुरस्कृत भए। तर उनको आफ्नै कला यात्रा भने त्यति सहज भएन।
भन्छिन्, ‘मेरो कला यात्रा हाम्रो उद्योगमा रहेको नेपोटिजमले केही कठिन भयो। तर मैले हार खाइनँ। पर्खिरहेँ। पर्खिएपछि समय आउँदो रहेछ।’
सानै उमेरमा कलाकार बन्ने सपना देखेर हिँडेकी विनिताको फिल्ममा अभिनय गर्ने सपना पनि पहिलेदेखिकै हो। तर यहाँ निर्माता–निर्देशकका नजिकका मानिसहरुले अवसर पाइरहे, विनिताले अवसर पाइनन्। कतिपय अवस्थामा अडिसन पनि नदिएकी होइनन् तर ती अडिसनहरु पनि बाहिर भनिएझैँ निष्पक्ष थिएनन्।
भन्छिन्, ‘हाम्रो फिल्म उद्योगमा एकदमै नेपोटिजम छ। कतिपय फिल्ममा अगाडि नै कलाकार फिक्स गरिएको हुँदो रहेछ। जसकारण उनीहरुका नजिकका मानिसहरुले मात्रै अवसर पाउने। औपचारिकताका लागि मात्रै खोलिएको अडिसनमा हामीजस्ता निरन्तरता दिने कलाकारलाई गाह्रो हुनेरहेछ। त्यो नमिठो अतित मसँग पनि छ।’
कक्षा ९ मा पढ्दै गर्दा विनिताले ‘इनसाइड द ब्रेन’ नामक नाटकका लागि अडिसन दिइन्। यही नाटकमा पहिलो पटक उनले मुख्य पात्रका रुपमा अभिनय गरिन्। यो नाटकमा काम गर्दैगर्दा विनितालाई थाहा थिएन, आफ्नो सपना के हो। उनलाई त्यतिबेला जे देख्यो, त्यही बन्न मन लाग्थ्यो। नाटक ‘इनसाइड द ब्रेन’को वर्कसपमा उनको काम हेरेपछि रंगकर्मी सुमन रायमाझीले भने, ‘अभिनयमा तिम्रो सम्भावना छ, यसैलाई सपना बनाऊ।’
उनले सुनिललाई भनिन्, ‘मलाई त कहिले नर्स बन्न मन लाग्छ, कहिले डान्सर बन्न मन लाग्छ। पाइलट, मास्टर केके बन्न मन लाग्छ।’
त्यसपछि सुनिलले भने ‘कलाकार भएपछि सबै बन्न पाइन्छ। डाक्टर, पाइलट, शिक्षक जे बनेर पनि अभिनय गर्न पाइन्छ।’
विनितालाई होजस्तो लाग्यो।
एसएलसी पास गरेसँगै विनिता सर्वनाम थिएटरमा रंगकर्मी अशेष मल्लसँग अभिनय सिक्न आइन्। उनी सर्वनाम थिएटरको पहिलो ब्याचकी विद्यार्थी हुन्। उनीसँगै अभिनय सिकेका कलाकार आज उद्योगमा छैनन्। कति साथी विदेश हानिए, कति घरजम गरेर बसे, कति व्यापार व्यवसायमा लागे। विनिताले भने कला यात्रा छाड्न सकिनन्। उनको त्यही निरन्तरको यात्राको फल हो फिल्म ‘हल्कारा’, जुन गएको शुक्रबारबाट प्रदर्शनमा आएको छ।
थिएटरबाट सुरु भएको विनिताको अभिनय यात्रा ‘हल्कारा’सम्म आइपुगेको छ। यो फिल्ममा विनिताले श्रीमानको पर्खाइमा रहेकी ‘मिया’को भूमिका निर्वाह गरेकी छिन्। विनिताको मिया बन्ने संघर्ष त्यति सहज थिएन। उनले मिया भएर ५० को दशकको समय बाँच्नु पर्ने थियो। सहरमा हुर्किएकी उनले ग्रामीण महिलाको भूमिका बाँच्नु पर्ने थियो। उनले त्यही अनुसार मेहनत गरिन्। विनिताले मिया बन्न गरेको मेहनत फिल्ममा देखिएको छ। उनी यो फिल्मको सशक्त पात्र हुन्। फिल्मको मुख्य कथा नै उनकै वरिपरि घुमेको छ।
नाटकबाट सुरु भएर फिल्मसम्म विनिताले तय गरेको बाटो त्यति सहज भने रहेन। उनलाई फिल्ममा डेब्यु गर्न १४ वर्ष लाग्यो। लामो समयको प्रतीक्षापछि हलमा देखिनै लाग्दा विनिता निकै खुसी थिइन्। तर फिल्म हलमा लागेपछि विनिताको मन पुनः खिन्न भएको छ। उनको यो फिल्मले हलमा राम्रो ‘शो’ पाएन। पाएको ‘शो’ पनि दर्शकका लागि उपयुक्त समयमा राखिएको छैन। फिल्मले राम्रो समीक्षा पाउँदा पनि आफ्नो टिमले पाएको असहयोगले विनिताको मन अमिलो हुन्छ। उनले हलवालासँग हात जोड्दै भनिन्, ‘हाम्रो उद्योगलाई हामी सबैले मिलेर माथि उठाउने हो। ‘हल्कारा’जस्तो आफ्नो माटोको फिल्म आएको बेला दिएको त्यही थोरै ‘शो’लाई पनि व्यवस्थित गरेर दर्शकलाई पायक पर्ने समयमा राखिदिनुहोस्।’
यो फिल्ममा विनिताले अभिनेता महेश त्रिपाठीसँग स्क्रिन सेयर गरेकी छन्। कालिपार स्टुडियोज् र आइसफल प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘हल्कारा’मा रामकृष्ण पोखरेलले लगानी गरेका छन्। विक्रम सापकोटाले निर्देशन गरेको यो फिल्मले विभिन्न विदेशी फिल्म फेस्टिवलमा अवार्ड जितिसकेको छ।
फोटो/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया