ad ad

कला


‘बगान’ हेरेर रोइरहेका दर्शकसामु जब कलाकार पुगे...

‘बगान’ हेरेर रोइरहेका दर्शकसामु जब कलाकार पुगे...

नेपालखबर
असार ३०, २०८० शनिबार ११:५०, काठमाडौँ

शुक्रबार चलचित्र ‘बगान’ रिलिज भएसँगै यसका कलाकारहरु काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शकसामु पुगेका छन्। अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले दर्शकसँग साक्षात्कार गरेका छन्। 

चलचित्र हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो। अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिने अर्कातर्फ थिए।

चलचित्र हेरेर भावविह्वल भएका पुरुष दर्शकले समाज रुपान्तरणका लागि यो चलचित्र बनेको प्रतिक्रिया दिए। चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए। 

विधवा आमाको खुसी जीवनका लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए। डेब्यु नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन्। पहिलोपटक चलचित्रमा देखेको भए तापनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को चलचित्रमा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन्। 

भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा कलाकारहरू पुगेका थिए। दुई दिनअगाडि भएको प्रिमियरमा पनि यो चलचित्रले तारिफ पाएको थियो। ‘बगान’ देशभरका १०० भन्दा बढी हलमा १५० भन्दा बढी शो सङ्ख्यासहित चलिरहेको छ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथमपटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्। 

स्वप्निल नीरवको कथामा आधारित यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो। ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन छ। ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ। 

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन हुनेछ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .