ad ad

कला


साकारको ‘म्याजिक’ तीन देशमा ट्रेन्डिङमा

साकारको ‘म्याजिक’ तीन देशमा ट्रेन्डिङमा

नेपालखबर
साउन २८, २०८० आइतबार १४:१५, काठमाडौँ

‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडिओ सार्वजनिक गरेका छन्। ८८ सेभेज गड फिचर्ड गीतको भिडिओ यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ।

साकारका अनुसार भिडिओ नेपालमा ट्रेन्डिङ ३ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ।

तीन दिनअघि रिलिज गीतको भिडिओ हालसम्म पाँच लाख बढी दर्शकले हेरिसकेका छन्। भिडिओमा फिचर्ड ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन्।

साकारको एलबम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्युजिक भिडिओ ‘नो पिस इन लभ’को सफलतापछि उनले ‘म्याजिक’ दर्शकमाझ ल्याएका हुन्।

‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा आएको थियो।

साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए।

‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु। यो गीतमा दर्शकले र्‍याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ। यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु।’

झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले यो भिडिओ निर्माण गरेको हो। भिडिओमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ। भिडिओमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ।

भिडिओ निर्माणमा कुनै कञ्जुस्याई नगरिएको निर्माण टिमले जनाएको छ। केही वर्षयतादेखि झोले र साकारले सहकार्य गरिरहेका छन्। साकारले आगामी दिनमा पनि ८८ सेभेजगडसँग मिलेर अन्य भिडिओमा सहकार्य गर्ने जनाएका छन्।

साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन्। उक्त कार्यक्रमको व्यवस्थापन गर्दै आएको पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)का संस्थापक निर्देशक विकेश कायस्थका अनुसार साकारको कार्यक्रमका लागि तयारी तीब्र गतिमा भइरहेको छ।

यो कम्पनीले केही समययता साकारको सांगीतिक कर्मको व्यवस्थापन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .