यो वर्ष थुप्रै तीज गीत बजारमा आए। ठूलो लगानीमा तीज गीतका म्युजिक भिडिओ निर्माण गरिए। नाम चलेका स्टार कलाकारले विभिन्न तीज गीतमा अभिनय गरेका छन्। ठूलो लगानीमा निर्माण भएका गीतको प्रचार पनि आक्रामक देखिएकै हो। तर फिल्मी शैलीमा प्रचार गरिएका थुप्रै तीज गीत बजारमा आएको दर्शक/स्रोताले पत्तै पाएनन्। तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम पनि पातलिँदै गएको छ।
यो वर्ष सार्वजनिक भएका तीज गीतमध्ये सबैभन्दा धेरै चर्चा भएको गीत हो ‘कस्ले देख्यो र?’ यो गीतमा छोरीले माइतीमा लगानी पाखुरी र श्रीमान्को घरमा दिएको योगदानलाई समाजले नबुझेको भाव प्रस्तुत गरिएको छ। यो तीज गीत दीपक शर्माले लेखेका हुन्। दीपककै संगीत रहेको यो गीत एलिना चौहानले गाएकी छन्।
यसैगरी ‘छोरीको जिन्दगी दुईतिर’ बोलको तीज गीत यो वर्ष बजारमा आएर चर्चा भएको अर्को गीत हो। यो गीतमा पनि दीपक शर्माकै शब्द/संगीत सुन्न सकिन्छ। दीपकको संगीतमा यो वर्ष ‘पियारी’, ‘माइती देशको घाउ’, ‘तीजको सम्झना’ लगायतका गीत सार्वजनिक भएका छन्। उनका प्राय सबै गीतले राम्रै चर्चा पाइरहेका छन्।
दीपक शर्मा आधुनिक तथा चलचित्र पार्श्व गायनमा जमेका संगीतकार हुन्। उनले संगीत गरेका थुप्रै गीत हिट छन्। तीज गीत भने उनले पहिलोपटक कति सालमा लेखे ठ्याक्कै सम्झना छैन। भन्छन्, ‘२०६५ सालमा जस्तो लाग्छ। तर मैले पहिलोपटक माइत जाने हो बोलको तीज गीत लेखेको थिए। यो गीत युट्युबमा छैन।’
दीपा पन्तले गाएको यो गीत त्यो समय तीजका समारोहहरुमा निकै बज्यो। रेडियोमा धेरैपटक बजेको यो गीत सामाजिक प्लेटफममा नभएका कारण पछिल्लो समय कतै सुनिँदैन।
त्यसपछि हरेक वर्ष दीपकका तीज गीत सार्वजनिक हुने गरेका छन्। दीपकका ‘भदौरे झरी’, ‘साठी हजारको साडी’, ‘बाइसतले धहरहरा’, ‘खर्च माग्दिनँ’, ‘यस्तो बनोस् मेरो तीज’, ‘जिन्दगी दुईदिनको घामछाया’, ‘राख लेखेर’, ‘आयौ चेली माइती सम्झेर’, ‘त्यो रातो गाला नि’लगायतका तीज गीत लोकप्रिय छन्। उल्लिखित ८० प्रतिशतभन्दा धेरै गीत दीपक आफैँले लेखेका हुन्।
Shares
प्रतिक्रिया