सन् २०१९ मा व्यापक हिट भएपछि राज साण्डिल्याले ४ वर्षपछि पुन: 'ड्रिम गर्ल'लाई नै नयाँ कथामा पर्दाअघि उभ्याएका छन्। यसो भन्न सकिन्छ, निर्देशक साण्डिल्याको ड्रिम गर्ल-२ पुरानो बोतलमा नयाँ रक्सी हो। र उनलाई यो सिक्वेलमा पनि आयुष्मान खुरानाले नै साथ दिएका छन्।
बक्स अफिसमा गदर-२ लाई टक्कर दिइरहेको ड्रिम गर्ल २ मा के छ तङ आउनुस्, लम्बाइ-चौडाइ कुरा नगरी सिधा मुद्दामा प्रवेश गरौँ।
१. मनोरञ्जन जोख्न मिल्ला त?
सबैभन्दा पहिलो प्रश्न- यस फिल्ममार्फत् निर्देशक साण्डिल्याले दर्शकलाई आखिर के दिन खोजेका हुन्? मनोरञ्जन! मनोरञ्जन! मनोरञ्जन! हो, यस फिल्मले केही दिन खोजेको छ भने त्यो मनोरञ्जन नै हो। र योबाहेक पनि केही पाउनुहुन्छ भने मानिलिनुस् ती तपसिलका कुरा हुन्।
दोस्रो प्रश्न हो- फिल्मले आखिर त्यो मनोरञ्जन कसरी दिएको छ? के चिजको प्रयोग गरिएको छ दर्शकलाई हँसाउन? एक, मिडल क्लास मेन्टालिटी! दुई, सेक्सुआलिटी! हो, फिल्ममा एउटा मध्यम वर्गीय माइन्डसेटलाई अनन्त मजाकको स्रोतका रूपमा प्रयोग गरिएको छ। मध्यमवर्गीय परिवार- डब्बामा पानी हालेर भए पनि पिँधमा बचेको रहलपहल स्याम्पुले नुहाउँछ। यो जगजाहेर छँदैछ, मध्यम वर्गको सबैभन्दा ठूलो संघर्ष नै आर्थिक संघर्ष हो। फिल्ममा पनि यस्तै एउटा मध्यम वर्गीय परिवार छ, जो पैसाका लागि, सम्पन्नताका लागि कुनै पनि मूल्य चुकाउन तयार छ। र यही मानसिकतामा टेकाएर यस परिवारलाई यस्तायस्ता काम गराइन्छ जसका कारण फिल्मले जति पनि तन्किन सक्ने कमेडीको स्रोत फेला पार्छ। फिल्मलाई कमेडी जनराभित्र फिट गराउन यही मध्यमवर्गीय मानसिकताको सहयोग लिइएको छ।
त्यसो भन्दैमा के मध्यम वर्गीयहरू पैसाका लागि जे पनि गर्छन् त? यो पक्कै सोचनीय विषय हो। तर, फगत मनोरञ्जनका लागि फिल्म हेरिरहँदा यति गहिरिएर सोची बस्न सायदै कसैलाई फुर्सद हुँदो हो।
यस फिल्ममा मनोरञ्जनका लागि प्रयोग गरिएको अर्को हतियार हो- सेक्सुआलिटी अर्थात् यौनिकता। यो भन्दै गर्दा 'कसरी?' भन्ने जिज्ञासा पनि सँगसँगै टाँसिएर आउने नै भयो। अब हेरौँ, एउटा जवान पुरुष जो स्त्रीको आवाजमा बोल्छ। आवाजमा मात्रै? पक्कै होइन, जो स्त्रीको आवाजमा स्त्रीकै आशयमा पुरुषहरूसँग बोल्छ। बोल्छ मात्रै पनि होइन, संगत गर्छ। संगत मात्रै? विवाह नै गर्छ। हो, खुरानाको पुरुष पात्र करम कतै पतिपीडित पत्नी पूजा बनिदिन्छ- जो एक्लै घर सम्हालिरहेकी छे। जसलाई पतिको अभाव महसुस भइरहेको छ। फेरि त्यही करमले त्यो पूजालाई पनि चिनेको छ, जो स्त्रीलाई केवल देहको थुप्रो देख्ने कुप्रो सोचग्रस्त समाजदेखि वाक्कदिक्क भएर भागिरहेकी छे। यति मात्र पनि कहाँ हो र? करमले त त्यो पूजालाई पनि बाँचेको छ, जो घरपरिवारको दबाबमा आएर अपरिचित पुरुषसँग जबर्जस्ती विवाह गर्न बाध्य हुन्छे र विवाहपछि थाहा पाउँछे- जुन पुरुषसँग उसको जबर्जस्ती विवाह भयो त्यो पुरुषलाई आखिर ऊप्रति कुनै रुचि नै छैन। आफूभित्रका पूजाहरूसँग यो सबै भइरहँदा करमले आफूलाई करम हुँ भन्ने नै भुलिदिएको पनि छ। आफूलाई पूजा नै सम्झिरहेको पनि छ।
यतिबेला यथार्थमै पनि एलजीबीटीक्यूप्लस का मुद्दाहरूमा विस्तृत र व्यापक छलफल भइरहेका छन्। र यहाँनेर यसो भन्न सकिन्छ आफूलाई पूजाको क्यारेक्टरमा ढालिरहँदा यो फिल्मी पात्र करमले पनि आफ्नो यौनिकताबारे अध्ययन गर्ने अवसर पाएकै हो। यो अवसरमा उसले आफूभित्रकी पूजालाई कुनै पनि क्षणमा गम्भीरताका साथ लियो लिएन, त्यो अलग कुरा हो। तर, यही अवसरलाई फिल्मले कमेडीको गुन्द्रुक हाल्ने भाँडोको रूपमा भने प्रयोग गरेकै छ। यही मौकामा फिल्मले सम्भावित सबै मजाक गरी दर्शकलाई हँसाउने काम भने गरेकै हो। फिल्ममा सेक्सुआलिटी पनि अध्ययनको भन्दा मजाककै विषय ज्यादा बनेको छ।
हतियार मेन्टालिटी होस् वा सेक्सुआलिटी त्यसमा मनोरञ्जनको धार लगाउने काम भने मुख्य रूपमा डायलगले गरेको छ। अर्थात् कमेडीलाई पनि यदि जोख्न मिल्थ्यो भने ड्रिम गर्ल-२ का दृश्य हावामा तैरिँदा र यसका संवाद भुइँमा मुर्छा परेर हाँसिरहेका भेटिन्थे होलान्।
२. लेखकको कथा कि पात्रको?
अघि भनिहालियो, यो फिल्मले दिन खोजेको केही छ भने त्यो मनोरञ्जन नै हो। तर, त्यसो भन्दैमा हामी यसका अन्य पक्षबारे चर्चा नगरिरहन सक्दैनौँ। त्यसैले, यसको पटकथालाई एकपटक त खोतल्नैपर्छ। कि कसो?
फिल्मको स्टोरीलाइन एकदम स्पष्ट छ। किनभने, निर्देशक पनि रहेका लेखक साण्डिल्यालाई राम्रोसँग ज्ञान छ आफूले भन्न खोजेको कथा के हो! यति हुँदाहुँदै पनि पात्रहरूले आफ्नो कथा भने सही तरिकाले भन्न सकेका होइनन् कि? कताकता यस्तो लाग्छ- पात्रमा लेखक हाबी भइदिएका हुन्। कतिपय स्थानमा लेखकले सोचेका घटनाक्रम नबिथोल्न उसको पात्रत्वलाई खुम्च्याइएको हो कि भन्ने लाग्छ।
३. रामायण रिटर्न्स!
एउटी समर्पित प्रेमिकालाई पटकपटक मौका पाइरहँदा पनि करम आफ्नो हाल बताउन सक्दैन। आफूलाई गलत अर्थमा बुझ्न थालेको देखिरहँदा पनि सम्बन्धलाई खुकुरीको धारमा हिँड्न ऊ ढुक्कैले छोडिदिन्छ, जोगाउने चेष्टा गर्दैन। र अन्तिममा जब परीले बाबुले रोजेको केटोसँगै विवाह गर्न थाल्छे तब सबै दोष ऊ परीमाथि थुपारिदिन्छ। फिल्मको सुरुवातदेखि अन्त्यसम्म करम एकपछि अर्को गल्ती गरिरहन्छ, गरिरहन्छ। तर माफी मागेर भए पनि सम्बन्ध जोगाउने पात्र परी नै हुन्छे।
हुन त करमले परीलाई प्रश्न गर्नु अस्वभाविक होइन। तर, अस्वभाविक यो हो प्रश्न गर्ने ठाउँ परीसँग ज्यादा हुँदाहुँदै पनि ऊ गर्दिन। शाहरुख, जो पुरुष भएर पुरुष नै रुचाउँछ। एउटा गेसँग विवाह नै गरेर कैयौँ महिना एउटै ओछ्यानमा सुतेको करमलाई परीले सोध्न सक्थी- 'तँलाई म कसरी विश्वास गरूँ?' तर, ऊ आँखा चिम्लिदिन्छे करमका सबै गल्तीहरूमाथि। बरु, माफी मागिदिन्छे र जन्ती लिएर आफै पुगिदिन्छे करमको घर।
त्यस्तै गल्ती परीबाट भएको भए? यस मानेमा दर्शकलाई फिल्मको नाम नै फेरिदिएर 'रामायण रिटर्न्स' राखिदिन मन नलाग्ला भन्न सकिन्न- जहाँ प्रश्नको आगोमाथि सधैँ सीताले मात्रै हिँड्नुपरोस्। गल्ती नगरोस् या फेरि गरोस् राम भने सधैँ पानीमाथिको ओभानो। आखिर, ऊ त मर्यादा पुरुष! मानौँ उसमाथि सन्देह गर्न मनाही छ।
४. कम्युनिकेसन ग्याप
माथि पटकपटक यो कुरा आइसकेकै छ तर, फरक प्रसंगमा। यही कि, करम आफ्ना कुरा प्रेमिकालाई बताउँदैन। ऊ पनि मौका पर्दा सोधेझैं गर्छे तर, लागि परेर खोज्दिन। उता शाहरुख आफ्नो सेक्सुआलिटीबारे खुलेर कुरा गर्न सक्दैन। त्यहीँ सकिना पनि छे- जसले लगभग विवाह छिनिसकिएको पुरुषको बच्चा आफ्नो पेटमा छ भन्ने हिम्मत गर्न सक्दिन। र संवादमा देखापरेको यही खाडलका कारण सम्बन्धमा पनि मानौँ प्वाल पर्न थाल्छ।
चाहेर होस् या नचाहेर क्यूएफएक्सका हलहरूमा चलिरहेको यो फिल्मले सम्बन्धलाई कमजोर हुन नदिन, एक-अर्काबीच स्पष्ट र अटुट संवाद हुन कति जरुरी छ भन्ने कुरालाई छर्लङ्ग पारिदिएको छ। यो एउटा गतिलो सन्देश तपसिलमै सही, फिल्मले दिएकै हो।
५. रहलपहल सधैँ मयल हुँदैनन्
त्यसो त, छुटाउनै नहुने अर्को एउटा कुरा पनि भनिहालूँ? जब कुनै पुरुषले आफूलाई पुरुषप्रति नै झुकाव भएको बताउँछ, तब सबैभन्दा पहिला उसले आफ्ना पुरुष साथीहरू नै गुमाउँछ। 'ओहो! यो त गे रहेछ!' यति बुझ्नु उसका तथाकथित स्ट्रेट पुरुष साथीहरूलाई हाउगुजी भइदिन्छ। ती कथित स्ट्रेट पुरुषहरूलाई लागिदिन्छ- गेबाट अब टाढै बस्नुपर्छ नत्र ऊ आफूप्रति आकर्षित हुनसक्छ।
यहाँनेर फिल्मले यो गलत परिभाषालाई चिर्न सहयोग गरेको छ। जसरी कुनै स्ट्रेट पुरुषलाई सबै स्ट्रेट स्त्रीप्रति वा भनूँ जसरी एउटी स्ट्रेट स्त्रीलाई सबै स्ट्रेट पुरुषप्रति आकर्षण हुँदैन, त्यस्तै हरेक गेलाई हरेक पुरुषप्रति आकर्षण हुन्छ भन्ने हुँदैन। आफू गे भइराख्दा शाहरुखले करमको स्ट्रेट सेक्सुआलिटीको पनि कदर गरिदिएको छ। आफूलाई पुरुषमाथि रुचि छ भन्दैमा उसले करमप्रति आकर्षणको आग्रह वा कुनै पनि किसिमको दबाब राखेको छैन। कमसेकम करमबारे सबै कुरा जानिसकेपछि उसले करमलाई आफूबाट अलग हुनलाई सघाएकै छ। गे र स्ट्रेट, आखिर साथी मात्रै पनि त हुन सक्नेरहेछन् भन्ने उनीहरूबीच स्थापित पछिल्लो सम्बन्धले चित्रण गरिदिएको छ।
यो त भयो फिल्मले जानी वा नजानी पस्किएको जनचेतनाको भोजन। यसबाहेक फिल्मले 'राधे राधे!' भन्दा 'सलाम वालेकुम' फर्काउनसमेत गाह्रो मान्ने दुई पृथक सम्प्रदायका परिवारलाई सशर्त नै सही कमसेकम एकापसमा जोडिदिएको त छ। उता आमा-काकीजस्तो उमेरकी महिलाले लक्का जवान करमसँग विवाह गर्न आँट गर्नुले उमेर र प्रेमको सम्बन्ध सधैँ समानान्तर हुन जरुरी नरहेको पनि बुझाउन भ्याएकै छ।
पुनश्च:
ड्रिम गर्ल (वान) हेरेर उस्तै गरि निमोठिने चिमोटिने अपेक्षा राख्नुभएको छ भने ड्रिम गर्ल २ बाट त्यो कर्म हुनेछैन। किनभने, हिजोको ड्रिम गर्लमा कथाको मेरुदण्ड पात्रको संवेदना थियो भने आजको ड्रिम गर्लमा कथाको मेरुदण्ड संवेदनाले होइन तर्कले बनेको छ। फिल्म संवेगात्मक भन्दा बढी तार्किक लागिदिन्छ।
यावत कमजोरीका बाबजुद दिमागको सोच्ने बटनलाई फ्लाइट मोडमा राखेर हेर्ने हो भने तपाईं फिल्म हेरेर भरपूर रमाउनुहुनेछ। अहिले क्यूएफएक्स सिनेमा हलहरूमा चलिरहेको फिल्मका डबल मिनिङ जोक्स पचाउन तपाईंलाई हाजमोलाको आवश्यकता पर्दैन। अनि, डबलरोलका बीच खुरानाको प्रस्तुति तपाईंलाई गजब लाग्ने नै छ। अपोजिटमा पाण्डेले पनि सक्दो मेहनत गरेको तपाईंलाई महसुस हुने नै छ।
Shares
प्रतिक्रिया