क्यूएफएक्सका हलहरूमा यतिबेला नयाँ नेपाली फिल्म 'गणपति' र 'ऐँचो पैँचो' चलिरहेका छन्। हामी भने यस बसाइमा 'ऐँचो पैँचो'को कुरा गरौँ।
यतिबेला नेपाली फिल्मका कथानकमा सबैभन्दा बढी प्रवेश पाइरहेका छन् गाउँ र राजनीतिले। अभिमन्यू निरवी लिखित एवं कृषा चौलागाईं निर्देशित नयाँ नेपाली फिल्म 'ऐँचो पैँचो' ले पनि आफ्नो कथामा राजनीति र गाउँलाई नै समेटेको छ।
फिल्मले आफूलाई चाहिँदा लिएको राजनीति र गाउँको पैँचो फर्काउन सकेको छ कि छैन? छ भने कति फर्काएको छ? छैन भने किन छैन? भन्नेबारे हामी चर्चा गर्ने नै छौँ। तर, फिल्मभित्रको प्रेमकथालाई पनि बिर्सिन भने मिल्दैन।
स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, बुद्धि तामाङ, सरिता गिरी, रवीन्द्र झा, राजाराम पौडेल लगायतका कुशल कलाकारहरूको अभिनय रहेको यो फिल्ममा मुख्य पात्र को हो भन्ने ठम्याउन दर्शकलाई हम्मे नै पर्नेछ। विशेषगरी चार पात्रको वरिपरि कथाले चक्कर लगाइरहेको छ। अथवा भनौँ, केन्द्रमा एउटा पात्रलाई उभ्याएर कथा भन्ने शैलीबाट फिल्म बाहिर निस्किएको छ।
यसको राम्रो पक्ष के हो भने फिल्मका सबै पात्रहरू दर्शकलाई उत्तिकै सशक्त लाग्छन्। हरेक पात्रले फिल्ममा राम्रो ठाउँ पाउँछ। यस काइदामा कथा भनिरहँदा फिल्मभित्र पात्रलाई र फिल्म इन्डस्ट्रीभित्र कलाकारलाई फराकिलो स्थान प्राप्त। तर, यसरी कथा भन्नु चुनौतीपूर्ण पनि हुन्छ। यसरी कथा भन्नुमा एउटा खतरा कहाँनेर हुन्छ भने 'फिल्मले भन्न खोजेको के हो?' त्यो स्पष्ट नभइदिन पनि सक्छ। र यो फिल्मले पनि यही चुनौतीको सामना भने खुलेर गर्न सकेको देखिँदैन। फिल्मले भन्न खोजेको के हो? दर्शकले उति स्पष्टसँग ठम्याउन सक्दैनन्।
खैर, पटकथातिर प्रवेश गर्नुअघि एकपटक पात्रहरूलाई नै नियालौँ।
स्वस्तिमाकी पात्र रूपा जब सुन्दरसँग भन्छे, 'म कुनै चानचुने केटी होइन' तब दर्शकलाई लाग्छ- 'वाह! क्या बोल्ड क्यारेक्टर!' दर्शकलाई तब आश हुन्छ, रूपाले केही भयानक पक्कै गर्नेछे। आफ्नो अस्तित्वलाई प्रमाणित गरेरै छाड्नेछे। आफ्नै बलबुतामा सक्षम भएर देखाउनेछे। दर्शकका यस्ता अपेक्षालाई रूपाले पूरा गर्न सक्ली त? त्यत्तिकी बोल्न सक्ने, नडराउने, निर्भीक एवं चेतनशील नारीले आफूलाई सक्षम साबित गर्न पक्कै सक्नुपर्ने नै हो। उसले आफ्नो व्यक्तित्वमा लगानी गर्नुपर्ने हो। तर, उसले यो काम चित्तबुझ्दोगरी गरिन भन्ने गुनासो दर्शकलाई हुनसक्छ।
उता वर्षाकी पात्र पुष्पाबाट भने दर्शकले पक्कै सन्तुष्टि पाउनेछन्। सुरुदेखि नै नम्र स्वभावकी, अरूको दु:ख देख्न नसक्ने र अरूको खुसीमा नै खुसी भइदिने पुष्पाले आफ्नो चरित्रलाई अन्तिमसम्म पनि उस्तै प्रमाणित गर्न सकेकी छे।
त्यसो त, मुकुनको पात्र दिलेन्द्र पनि आफ्नो चरित्रबाट दायाँबायाँ भड्किएको देखिँदैन। यद्यपि, त्यत्तिको चेत, हठ र आदर्श भएको पात्रले पटकपटक निरीह महसुस गर्नु भने उति स्वाभाविक लाग्दैन। फिल्मको मध्यभागसम्म मात्रै देखिए पनि सुशीलको पात्र सीताराम उर्फ सितेलाई भने दर्शकहरूले हलबाट घर फर्किसक्दा पनि साथै बोकेर हिँडेको पाउन सक्छन्। फिल्ममा सबैभन्दा सन्तुलित पात्रका रूपमा सितेलाई नै लिन सकिन्छ।
यी पात्रहरूको चरित्रमा भएको भिन्नतालाई कथाले दर्शकलाई बुझाउन सकेको छ। जसकारण चरित्र निर्माणको हिसाबले पात्रहरू बलिया देखिन्छन्। फिल्मले पात्रहरूको चरित्र निर्माणमा राम्रो मेहनत गरेको देखिन्छ। उनीहरूको पृष्ठभूमि र चरित्रबीच एउटा तादात्म्य स्थापित छ।
यति हुँदाहुँदै पनि, पात्रहरूले गरेको राजनीति र प्रेमले दर्शकको मन जित्न भने सक्दैन। फिल्मलाई मीठो मान्ने कि नमीठो? दर्शक आखिर दोधारमै छोडिन्छन्।
कथालाई खोतलेर हेर्दै गर्दा फिल्मले राजनीति र प्रेमलाई सँगसँगै लैजान खोजेको देखिन्छ। यसरी एक तीर दुई सिकार गर्न खोज्दा फिल्मले दुवै पक्षको गहिराइलाई भने छाम्न नसकेको हो कि भन्ने महसुस हुन्छ। उठाएको विषयको गहिराइ छुन नसके फिल्मले दर्शकको हृदयको गहिराइ पनि त छुन नसक्ला! हो, फिल्मभित्र राजनीति र प्रेम दुवै सतही रूपमा मात्रै आइदिएका छन्। दिलेन्द्रले २ भोट मात्रै पाउनुको कारण स्पष्ट नहुँदा, नयाँ अनुहार शम्भूले चुनावी सफलता पाउनुको कारण छर्लङ्ग पार्न नसक्दा फिल्ममा पात्रमाथि लेखक हावी भएको हो कि भन्ने पनि महसुस हुन्छ। उता नङ र मासुजत्तिकै मिल्ने सिते र दिलेन्द्रको सम्बन्धलाई फिल्म आफैले नजरअन्दाज गरेको हो कि जस्तो पनि लाग्छ। सितेले किन भन्दैन दिलेन्द्रलाई आफ्नो मनको कुरा? कमसेकम उनीहरूको मित्रताको गहिराइले यसरी कुरा लुकाउनुलाई पाच्य देख्न सक्दैन। यहाँनेर दिलेन्द्रको चरित्रमाथि लेखकले राजनीति गरेको सन्देह गर्नु दर्शकको हक हो।
कथा सतही भए पनि फिल्मका कतिपय दृश्यले भने दर्शकलाई गहिरोसँग छोइदिन सक्छन्। केही दृश्यले दर्शकको संवेदनालाई राम्रैसँग चलाइदिनाले फिल्म हेर्नै नहुने बन्नबाट बचिदिएको छ। पुष्पा र दिलेन्द्रबीच सम्बन्ध स्थापित भइरहँदा त्यसले दर्शकको हृदयमा जुन गाँठो पारेको हुन्छ कुनै विन्दुमा गएर त्यो फुकिदिन्छ पनि। अनि आमा र छोराको त्यो आँखा जुधाइ! केही दृश्यहरू फिल्ममा यस्ता छन् लाग्छ, सम्पूर्ण दृश्य त्यति नै गहिराइमा छुन सक्नेगरी बुनिन्थ्यो भने …
फिल्मको सुरुवातमै हामी बुझ्छौँ, हामीलाई तराईको कुनै एउटा गाउँमा पुर्याइन्छ। फिल्ममा तपाईंले गाउँ देखे पनि गाउँको कथा भने पाउनुहुनेछैन। तराईको सेटिङ त देख्नुहुन्छ तर, कथामामा तराईको गन्धसमेत पाउनुहुने छैन। न त पात्रहरूको लवज वा लिवासमा नै भेट्नुहुनेछ तराई।
अहो! फिल्मको हास्यमाथि कुरा गर्न त झण्डै बिर्सिएको! हास्यसहित सुरु भएको फिल्मले अन्तिमसम्म आइपुग्दा यस्तो बाटो लिन्छ कि दर्शकलाई सुर्खेत जाने गाडी चढेर इलाम ओर्लिएको जस्तो लाग्नसक्छ। सुरुमा अनेक प्रयोग गरीकन भरपूर राखिएको हास्य बिस्तारैबिस्तारै कम गरिन्छ र अन्तिममा त फिल्मको जनरा नै परिवर्तन गरिन्छ। यस्तो लाग्छ, मानौँ फिल्म आफ्नै अस्तित्वमाथि द्विविधाग्रस्त छ।
फिल्मले राजनीतिको कथा भने पनि त्यसबाट स्पष्ट र दरिलो राजनीतिक सन्देश भने दिन सकेको छैन। राजनीतिमा सफल हुन आखिर तपाईंको छवि स्वच्छ हुनुपर्ने हो या फेरि तपाईंको विपक्षीको छवि विकृत भइदिए पुग्ने हो? हलबाट बाहिरिँदै गर्दा पनि दर्शकलाई फिल्मले एउटा ठोस निष्कर्ष दिन सकेको जस्तो लाग्दैन।
तर, प्रेम र सम्बन्धलाई केन्द्रमा राखेर हेर्दा फिल्मले संवादको महत्त्व भने दर्शाउँछ। ठिक समयमा ठिकसँग संवाद गर्न जानिएन भने त्यसले कतिको जिन्दगी कसरी बर्बाद पार्न सक्नेरहेछ भन्ने कुराको चित्रण भने फिल्मले स्पष्टसँग देखाउन सकेको छ। यस मानेमा पनि दर्शकको दिलमा दिलेन्द्रले भन्दा ज्यादा छाप सीतारामले पार्नसक्छ र रूपाले भन्दा गहिरो प्रभाव पुष्पाले पार्नसक्छे।
चरित्र निर्माणमा जत्तिकै पटकथा र कथावाचनमा पनि मेहनत गर्न सकेको भए फिल्मले दर्शकको हृदयलाई ऐँचो थाप्न सक्थ्यो कि? नभए पनि दर्शकले फिल्मप्रति राखेको अपेक्षाको पैँचो फर्काउन त सक्थ्यो!
खैर, 'ऐँचोपैँचो'ले नेपाली सिने जगतमा उदाउँदा कलाकार सुशील सिटौलाको उज्ज्वल भविष्यको स्पष्ट भविष्यवाणी भने गरेको छ। साथै, अभिनयका आधारमा वर्षा राउतका फ्यान बढ्ने अनुमान पनि सजिलै गर्न सकिन्छ।
Shares
प्रतिक्रिया