बलिउड अभिनेत्री मनीषा कोइरालाले काठमाडौंमा तीन दिनसम्म सञ्चालन भएको साहित्य महोत्सवमा बिताइन्।
ललितपुरमा भएको महोत्सवका २ सेसनमा उनी आफैं सहभागी भइन्। भारतको बनारसमा बाल्यकाल बिताएकी मनीषाले आफ्नो जीवनका धेरै कुरा नेपाली दर्शकमाझा साझा गरिन्।
मनीषाका कुरा सुनेर दर्शक कहिले भावुक हुन्थे त कहिले मुस्कुराउँथे।
सूर्य नेपाल कलिङ साहित्य महोत्सवको अन्तिम दिन मनीषाले ‘नेपाली रुट्स टु ग्लोबल स्टारडम’ शीर्षक आफ्ना कुरा राखिन्। मञ्चमा रहेकी मनीषालाई दर्शकले सोधे, ‘बच्चा एडप्ट गरेरै भए पनि आमा बनुँ भन्ने लाग्दैन?’
यो प्रश्नसँग मनीषा आफैँ पनि भावुक भइन्। मनीषाले दिएको जवाफमा दर्शक दीर्घामा रहेका कतिपयका आँखा रसाए।
उनले भनिन्, ‘मन त लाग्छ। तर अब त उमेरले पनि मलाई निक्कै पर धकेलिसक्यो। अर्को क्यान्सर लागेर बल्ल रिकभर भएँ। मेरै जीवनको के भर छ र? बच्चा असाध्यै मन पराउँछु। सोचिरहेकी छु, यो काम गरुँ की नगरुँ।’
बलिउडदेखि राजनीति र नेपाली युवापुस्तामाथि उनको विचारको सम्पादित अंश :
देश छोड्नु पहिलो छनौट कसैको हुँदैन। हामीलाई आफ्नो घर र आफन्तको याद आउँछ। धेरै योंगस्टरले अपरच्युनिटी खोजिरहेको छ। हामी धेरैजसो सबै एउटै कुराबाट बनेका हौं।
हामी सबै आफ्नै घर फर्कन चाहन्छौं। एउटा समय आउँछ। सबैलाई आफ्नो गाउँ, सहर आफन्त याद आउँछ। सबैले आफ्नो देशलाई माया गर्छन्। यहाँ मौका मिल्यो र फर्कने वातावरण बन्यो भने धेरै फर्कनछन्।
आफ्नो माटोमा रमाउन चाहन्छन्। सरकार जनताको अभिभावक हो, किन अवसर भएको छैन, के गर्दा इन्करेज हुन्छ र गुणस्तर जीवन शिक्षा कसरी दिने भन्ने विदेशमा बसेर काम गरिहेका थुप्रैलाई यहाँ बोलाउने नेपालको अभिभावको जिम्मेवारी हो।
मेरो सवालमा पनि प्लेन काठमाडौं आउँदा आँखाबाट उत्साहको आँसु आउँथ्यो। जब छोडेर जान्थ्यो, त्यतिबेला उदाशपनको आँसु आउँथ्यो।
तर मेरो अगाडि काम के छ त्यसमा फोकस हुन्थेँ र त्यो बिर्सन्थेँ। मलाई माया र लगाव चाहिँ नेपालसँग रहिरह्यो। तर देखाउने र भन्ने मौका मिलेन र म देखाउँदिन पनि थिएँ।
त्यतिबेला प्रविधि त्यति थिएन र तपाईंहरुले देख्नुहुन्न थियो। तर म यहाँ आइरहन्थेँ। जहिले पनि यहाँ टाइम बिताइरहेको हो। अहिले प्रविधिको विकासले तपाईंहरुले मलाई देख्न भेट्न पाउनु भयो। मैले तपाईंलाई भेट्न पाएँ।
यहाँ मेरो आफन्ती धेरै छन्। केटाकेटीमा खेलेका साथीहरु छन्। परिवारहरु छन्। मेरो परिवार र मायाको भाइभ्सले मलाई खिचिरह्यो। म नेपालमा धेरै बस्न चाहन्छु। तर मेरो मुम्बई पनि हो। मेरो बेस त्यहाँ पनि छ। दुईतिर नै म ब्यालेन्स गर्छु।
विदेशमा भएका सबैलाई आफ्नो देशको माया छ। तर सबैको बाध्यता छ। यहाँ सपना र अपरच्युनिटीहरु नमिलेर गएका हुन्छन्। यहाँ एउटा मौका मिल्यो भने र वातावरण भयो भने र इन्करेज गर्ने ठाउँ भयो भने धेरै जना फर्कछन्।
इन्डियामा पनि विदेश गएकाहरु आफ्नो आइटी प्रोफेसन छोडेर फार्मिङमा लागेका छन्। आफ्नो माटोमा फर्कनु भनेको यो त एउटा धेरै राम्रो इभ्योलुसन नै हो।
देशको अभिभावकले सोच्नुपर्छ कि ‘यहाँ किन अवसरहरु छैन? कसरी गर्न सकिन्छ, के गर्दा अवसरहरु दिन सकिन्छ?’ विदेशमा बसेर एकदम स्ट्रगल गरेर काम गरिरहनुभएका उहाँहरुलाई कसरी बोलाउन सकिन्छ र राम्रो क्वालिटीको लाइफ कसरी दिने सोच्नुपर्छ।
एउटा पक्ष यहाँ आफैँ आएर योगदान गर्न सकिन्छ। अहिले सर्ट फिल्महरुमा नयाँ पुस्ताले आफ्नै माटोका कथाहरु भनिरहेका छन्। त्यसलाई उत्पेरणा दिने हो भने धेरै गर्न सकिन्छ।
राम्रो वातावरण, राम्रो निर्माण, कथा, पटकथा आउन जरुरी छ। यहाँ ट्यालेन्टको कमी लाग्दैन खाली यहाँ प्रोत्साहनको कमी छ। यसमा पोलिटिक्स र सिनेमा ड्रामाका आफ्नै स्वधर्महरु हुन्छन्।
पोलिटिक्समा समाजसेवाको ठूलो रोल छ। यसमा जनताको जीवन जोडिएको छ। देश र आउने पुस्ताको भविष्य जोडिएको छ। पोलिटिक्सको स्वधर्म जनता र देश हो।
मेरो परिवेश र परिवार पोलिटिक्समा छ। नेपालको पोलिटिक्स सानैदेखि हेरिरहेको छु। मेरो कलाको फिल्ड हो। यसैमा केही गरौं भन्ने छ। मसँगै मेरा आफ्ना सीमिताहरु छन्। मेरो आफ्नो लाइफमा पनि केही अप्स एण्ड डाउनहरु भए। मान्छेको जीवन नै सिक्दै जाने हो। दुःख, अहंकार आउँछ। आफूलाई आफ्नो बाटोमा फर्काउनुपर्छ भन्ने मलाई लाग्छ।
जीवनमा धेरै अप्ठ्याराहरु आउँछन्। तर त्यो भन्दा बलियो हामी हुनुपर्छ। मलाई क्यान्सर हुँदा मैले यही सिकेँ। तिमी घाँस काट्ने काम गरेपनि सबैभन्दा राम्रो घाँस काट्ने बन भनेर मलाई सुशीला आमाले भन्नुभएको थियो। काम सानो ठूलो हुँदैन। जे गरे पनि मनले गर्नुपर्छ।
पछिल्लो समयमा मेरो मनले सन्तानको निकै इच्छा गरिरहेको छ। म क्यान्सर भइसकेको मान्छे। मेरो उमेर पनि गइसक्यो। म ५४ वर्षकी भएँ। उमेर र रोगका कारण सन्तान बनाउन मलाई मेरो मनले रोकिरहेको छ।
Shares
प्रतिक्रिया