ad ad

कला


फिल्मको नाम विवाद बोर्ड पुग्यो, धर्म गुरुलाई देखाएर अर्को निर्णय लिइने

फिल्मको नाम विवाद बोर्ड पुग्यो, धर्म गुरुलाई देखाएर अर्को निर्णय लिइने

नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:५४, काठमाडौँ

नेपाली फिल्म ‘एक भगवत गीता’को नामलाई लिएर विवाद सिर्जना भएको छ। फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाले विवाद गरेपछि चलचित्र विकास बोर्डमा छलफल गरिएको छ। फिल्मको नाम ‘एक भगवत गीता’लाई परिवर्तन गर्नु पर्ने मागसहित विवाद सुरु भएको थियो।

बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा फिल्मका तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी थिए। हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो फिल्मको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले गरेका थिए। श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएका कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ति संस्थाहरूले लगाएका थिए।

त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नलागेको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो। आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवादलाई टुंगो लगाउने सहमति छलफलमा भएको छ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए।
झरना थापा निर्देशित फिल्म एक भगवत् गीतामा बिपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिका छ। फिल्म भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .