गुमनाम समय। दशक लामो साधना। चुपचाप साधनामै लिन ठिटो। उसले कहिल्यै देखेन बाहिरी दुनियाँको हुटिङको सपना। सिक्दासिक्दै अर्ध ज्ञान बोकेर स्टेज चढ्न हतारो गरेन, स्टुडियो छिर्ने दौडमा लागेन। हिजोआज त्यही ठिटो स्टुडियोबाट गीत गाएर बाहिर निस्कन्छ। प्राविधिक मुस्कुराउँदै भन्छन्, ‘उसले गाएको कहीँ केही चलाउनु पर्दैन। जहाँ जे चाहिने हो त्यही गाइदिन्छ।’
उनी उम्दा गायक भएका छन्। उनी अर्थात्, प्रवीण बेडुवाल।
सिक्दै गर्दा प्रवीणका गुरु र साथीहरु भन्थे, ‘अब त गीत रेकर्ड गर।’ प्रवीणलाई लाग्थ्यो, ‘मैले आफ्नो स्रोता बनाएको खोइ?’ प्रवीणलाई गीत गाउनुअघि आफ्नो गीत सुन्ने स्रोता बनाउनु थियो। तर, कसरी? उनी आफैँलाई थाहा थिएन।
यो काम गरिदियो ‘नेपाल आइडल’ ले। प्रवीण नेपाल आइडलको तेस्रो सिजनमा सहभागी भए। उक्त सिजनमा उनले फर्स्ट रनरअपको उपाधि उचाले। उपाधिभन्दा ठूलो यो प्रतियोगिताले प्रवीणलाई उनका गीत सुन्ने स्रोता दियो। त्यसपछि बल्ल प्रवीण गीत गाउन स्टुडियो पसेका हुन्।
बर्दियामा आधा बाल्यकाल
प्रवीणको बाल्यकालको आधा समय बर्दियाको राजापुरमा बित्यो। उनका बुबा भारतीय सैनिक, जिम्मेवारीकै भागदौडमा लागे। उनकी आमाले पनि पिताको जिम्मेवारीसँगै आफूलाई दौडाइरहिन। प्रवीण जन्मिएको ७ दिनपछि हजुरआमाको पोल्टामा परे। हजुरबुबासँगै खेल्दै हुर्किए। हजुरआमाकै काखमा रमाए।
‘हाम्रो संयुक्त परिवार हो। ३० जनाभन्दा धेरैको परिवार छ। तर हजुरआमाको लागि म मात्रै थिएँ,’ उनले भने, ‘उहाँले मलाई धेरै माया गर्नु हुन्छ। म पनि उहाँलाई धेरै माया गर्छु। छुच्चो मनले भन्दा मलाई उहाँको बाहेक कसैको माया लाग्दैन। फेरि पनि परिवार चाहिँ परिवार नै हो। यो चाहिन्छ।’
बर्दियाको जिन्दगी सुन्दर थियो। खेत, गोठभरि वस्तु, भाँडाभरी गोरस। स्कुल जानु, फर्किनु। साथीभाइसँग गोठालो जानु। बाख्राका पाठाहरुसँगै दौडनु र उनीहरुसँगै रमाउनु। हजुरबुबा–हजुरआमाले हृदय पोखेर गर्ने प्रेम, चाहेझैँ हुन्थ्यो त प्रवीण आज पनि त्यही जिन्दगी बाँच्न चाहन्छन्।
समय छुट्यो। बालापन छुट्यो, सँगै छुट्यो बर्दियाको काख। उनी सम्झना पोको पारेर दक्षिण भारत पुगे।
बर्दियामा ८ को पढाइ पुरा गरेर गएका प्रवीण त्यहीबेला पनि राम्रो गीत गाउँथे। प्रवीणलाई पढाउने गुरुहरु उनको स्वर सुनेर मोहित हुन्थे। भारतमा पनि अध्ययनका क्रममा उनले गीत गाए। राम्रो प्रतिक्रिया पाउँथे। प्लस टु सकेपछि भने उनलाई संगीतको औपचारिक शिक्षा लिन मन लाग्यो। केही वर्ष गुरुसँग संगीत सिके। उनका साथीहरुले भने, ‘संगीत कलेजमा सिक्नु पर्छ।’ त्यसपछि प्रवीण तमिलनाडुमा कलेज भर्ना भएर संगीत सिक्न थाले।
संगीत सिक्ने लालसा बोकेर हिडेका प्रवीणलाई जहाँको संगीत सुन्यो, त्यहीँको संगीत ठिक जस्तो लाग्थ्यो। संगीत सिक्न ग्वालियर पुगेका उनले लामो समय कहाँ संगीत सिकौँ भनेर निर्णय गर्न सकेनन्। भन्छन्, ‘खोजीकै क्रममा मैले विनोद हजारे गुरुलाई भेटेँ। मैले भनेँ– मलाई संगीत सिक्नु छ। हजुरले सिकाउनु हुन्छ भने सिकाउनुहोस्, होइन भने राम्रो गुरु चिनाइदिनुहोस्। त्यसपछि उहाँले उस्ताद बरकत अली खान साहबलाई भन्दिनु भयो।’
खान प्रवीणलाई एउटै प्रश्न गरे, ‘संगीत सिक्नु हुन्छ?’ प्रवीणले सिक्छु भन्ने जवाफ दिए। गुरुले भनेका थिए मन लागेको समयमा आउनु। उनी भोलिपल्ट बिहानै पुगे। गुरु खुसी भए। उनी गुरुका सबैभन्दा प्रिय चेला थिए।
बुबाआमासँग दुरी
सानैबाट प्रवीण आमा–बुबासँग बस्न पाएनन्। बुबा–आमा भेट्न उनले ३/४ वर्ष कुर्नु पथ्र्यो। आँखाले आफ्ना नचिन्दै छुटेको बा–आमाको काखको भोक कहिल्यै लागेन। कहिलेकाहीँ देखिने उनीहरुको अनुहारमा अपनत्व खोजेर दुःखी बनाएनन् आफूलाई। तर जब साथीहरु मातातीर्थ औँसी र कुसे औँसीमा बुबाआमासँग सेलिब्रेसन गरेका फोटा हाल्थे, प्रवीण मन खिन्न बनाउँथे।
बालखैबाट छुटेका प्रवीणका बाबु–छोराको दुरी संगीतले झन् लामो बनाइदियो। उनका बुबा चाहँदैनथे, छोराले गीत गाओस्। उनी चाहन्थे, छोराले आफ्नो बिँडो थामोस्। बन्दुक समातोस्। सेनामा जागिर गरोस्। ठूलो पदमा पुगोस् र आफ्नो कुर्सी सम्हालोस्। उनका बुबा भन्थे, ‘तैले संगीतमा केही गर्न सक्दैनस्।’ प्रवीण मनमनै संकल्प गर्थे, ‘म एकदिन संगीतमै सफल भएर देखाउने छु।’
प्रवीणको आफ्नै सपना र अठोट थियो। उनका बुबाको मन भने छोराले आर्मी बन्न अस्वीकार गरेपछि नराम्रोसँग भाँचियो। अझ भनौँ, छोराको सपनाका लागि कहिल्यै पग्लिएन। उनी बुबाको वचन मानेर आर्मी बन्न गएका पनि हुन्। तालिमको अन्तिमतिर पुग्दा उनको मन मान्दैमानेन। तालिम छोडेर भागिदिए। त्यही बेला उनी दुर्घटनामा परे। दुर्घटनामा प्रवीणको हात भाँचियो, उनका बुबाको मन। भन्छन्, ‘त्यो घटनाले बुबाको मनमा नमज्जासँग ठेस लाग्यो। त्यसपछि हामी लगभग बोलेनौँ। अहिले पनि राम्रो संवाद हुँदैन।’
प्रवीणको एउटा हातले राम्रो भर दिँदैन। उनी हात पकेटमा हालेर हिँड्छन्। नेपाल आइडलको मञ्चमा पनि उनले आफ्नो हातको कथा दर्शकलाई सुनाएनन्। धेरैलाई लाग्यो त्यो उनको स्टाइल हो। कतिपयले प्रश्न पनि गरे, ‘किन हात पकेटमा राखेर हिँड्छस्?’ सोध्नेलाई बताए पनि होला तर दुःखी भएर होइन। उनलाई दुःख देखाएर केही हासिल गर्नु छैन। भन्छन्, ‘दुःखमा सचेत भएर गुनासो गर्न थाल्यो भने आफ्नो सही परिचय हराउँछ। आत्मसम्मान हराउँछ। मेरो काम गीत गाउने हो। मैले गायनमै सचेत हुनुपर्छ।’
आइडलको सफलता बोकेर प्रवीण झण्डै १४ वर्षपछि आमा–बुबा भेट्न गए। उनको खुसीमा खुसी थिएनन् बुबा। छोराले नमस्कार भन्दा नमस्कार फर्काउनुबाहेक अरु संवाद भएन। बुबाको मनमा छोरो टाढा हुँदाकोे सन्ताप छ/छैन, प्रवीणले सोधेका छैनन्। बाबु–छोराको यो दुरी र संवादहीनताले कति पोल्छ अथवा पोल्दैन आमाको छाती, त्यो पनि प्रवीणलाई थाहा छैन्। तर आज पनि प्रवीण र उनका बुबाको बोलचाल हुँदैन। प्रविधिको यो युगमा बाँचिरहेका यी बाबु–छोराका मोबाइलमा एक–अर्काको नम्बरबाट कल आउँदैन।
‘हाम्रो फोन पनि हुँदैन। बुबा एकोहोरो हुनुहुन्छ। कडा र जिद्दी हुनुहुन्छ। म झन् उहाँको प्रोडक्ट उस्तै छु। म उहाँको अपडेटेड भर्सन हुँ, झन् धेरै छुच्चो छु,’ प्रवीण सुनाउँछन्।
त्यसो भए याद आउँदैन त बुबाआमाको? प्रश्न भुइँमा खस्न नपाउँदै प्रवीण भन्छन्, ‘आउँछ, आज पनि आमा–बुबाको मुख हेर्ने दिन सधैँ चुप लागेर बस्छु। सबैले फेसबुकमा सेलिब्रेसन गर्छन्। नरमाइलो लाग्छ। दिनभरि इन्टरनेट नै बन्द गरेर बस्छु। माया लाग्छ। तर कतिपय फिलिङ्स मनमै दबाउनु पर्छ। त्यसैले मान्छेलाई बलियो बनाउँछ।’
जीवनमा सुख छन्, दुःख पनि छन्। दुवैलाई उनले सहज रुपमा स्वीकार गरेका छन्। को टाढा छन्, को नजिक, त्यसले उनको जीवनमा खास प्रभाव पारेन। उनीसँग उनकी हजुरआमा छिन्, उनको संसार उज्यालो छ। ‘सबैको जीवनमा एउटा भगवान हुन्छन्। मेरो जीवनको भगवान मेरो हजुरआमा हो। मान्छेहरुले जसरी आफ्नो काम सफल भएपछि धन्यवाद भगवान भन्छन् म त्यसैगरी हजुरआमा सम्झन्छु,’ प्रवीण आफ्नो जीवनमा हजुरआमाको योगदान स्मरण गर्छन्।
छानेर गाउने चाहना
नेपाल आइडलको यात्रापछि प्रवीणले २२ सय बढी गीत गाइसके। उनले यो समय अफर आएका सबै गीतमा आफ्नो गला दिए। उनले गाएका कति गीतले सांगीतिक बजारमा चर्चा पाए। कति सार्वजनिक नै हुन पाएका छैनन्। कति सार्वजनिक भएको पनि थाहा भएन। करिअरको सुरुवाततिर जति सक्दो धेरै अफर आएको राम्रो मानिन्छ। प्रवीणले पनि राम्रो माने र स्वीकार गरे सबैखाले अफरलाई। भन्छन्, ‘आफूलाई प्रमाणित गर्नु पनि त थियो।’
यो समय उनले कति गीत आफ्नाको मन राखिदिन पनि गाए। कति गीत गाएर सम्बन्ध जोगाउनु पनि थियो। जे भए पनि यो सबै प्रवीणको सांगीतिक लगाव थियो। अब प्रवीणलाई गायनका लागि हतारिनु छैन। उनलाई संख्यात्मक रुपमा धेरै सिर्जना पनि चाहिएको छैन।
भन्छन्, ‘अब म छानेर थोरै गीत मात्रै गाउँछु। जीवनका लागि जति गीत गाए पनि पुग्दैन। पहिचानका लागि त दुई गीत भए मनग्य हुने रहेछ। अब बरु आफैँ लगानी गर्ने तर राम्रो गीत मात्रै गर्ने। अहिलेसम्म सांगीतिक मैदानमा आउने मेरो तयारी थियो। अब म तयार भएको छु।’
Shares
प्रतिक्रिया