आफ्नो फिल्म ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस नपाएपछि फिल्मका निर्माता सुनिलकुमार थापा तनावमा छन्। थापा मात्र होइन, फिल्मले अनुमति नपाएकामा बोर्ड सदस्य पनि सन्तुष्ट देखिँदैनन्। निर्माता थापा सेन्सर सिफारिस लिन बोर्डमा घण्टौं कुरे तर पाएनन्।
त्यही समय केही धार्मिक संघसंस्थाचाहिँ फिल्मलाई प्रदर्शन अनुमति नदिन भन्दै निवेदन बुझाउन पुगेका थिए। फिल्मकर्मी र मिडियाको बाक्लो उपस्थिति भएका कारण निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले पत्रकार सम्मेलन गरे।
उक्त जमघटमा निर्माता थापा भावुक र आक्रोशित सुनिए। करोड बढी लगानी भएको फिल्मले प्रदर्शन अनुमति नपाए आफू फिल्म बनाउन छाडेर अमेरिका पलायन हुने थापाले बताए। बोर्ड नेपाली चलचित्रका पक्षमा नरहेको गुनासो गर्दै उनले विकास बोर्ड चलचित्रकर्मीका पक्षमा उभिनुपर्ने बताए।
उनले भने, ‘मैले फिल्म बनाउन थालेको २७ वर्ष लाग्यो। यदि प्रदर्शन अनुमति नपाए हामीले फिल्म बनाउन छाडेर अमेरिका पलायन हुन तयार छौं। यही क्षेत्रमा केही गरौं भन्ने लागेको हो। विकास बोर्ड फिल्मकर्मीको पक्षमा उभिनुपर्छ।’
बोर्ड प्रवक्ता बुढाथोकीले एकातिर धार्मिक सहिण्णुता कायम राख्नुपर्ने र अर्कोतिर फिल्मको अधिकार पनि स्थापित गर्नुपर्ने पक्षमा आफूहरु उभिने बताए। यसका लागि आज बस्ने बोर्ड बैठकले सेन्सर सिफारिसबारे निर्णय गर्ने बताइएको छ। आफूहरु धार्मिक संवेदनशीलताप्रति गम्भीर रहेको प्रवक्ता बुढाथोकीले बताए।
विश्व हिन्दु महासंघसहितका १३ धार्मिक संस्थाले फिल्मले शीर्षक परिवर्तन गर्नुपर्ने माग राख्दै बोर्डमा निवेदन बुझाएका छन्।
Shares
प्रतिक्रिया