बिहीबारबाट भारतीय सिनेमा 'चन्द्रमुखी २' क्यूएफएक्स सहित देशभरका हलहरुमा प्रदर्शनमा आएको छ। कंगना रनौत र राघव लरेन्सको प्रमुख भूमिका रहेको यस फिल्म रजनीकान्त र ज्योतिका अभिनित सन् २००५ को 'चन्द्रमुखी'का फ्यानहरूका लागि अतिप्रतीक्षित फिल्म हो।
के कंगनाले ज्योतिकाले निभाएको पात्र चन्द्रमुखीलाई न्याय गर्न सकिन् त? रजनीकान्तको पात्र डा. शंकरलाई के राघवका पात्र पाण्डियनले जस दिन सके त? के चन्द्रमुखी २ चन्द्रमुखीको सिक्वेल हुन सकेको छ त? या फेरि यो एउटा डुप्लिकेट मात्र बनेको छ? यी प्रश्नका उत्तर तपसिलमा स्वतः आउँदै रहलान्। बरु आउनुस्, चन्द्रमुखी २ आफैमा एउटा कस्तो फिल्म बनेको छ, हामी त्यसबारे चर्चा गरौँ।
फिल्मको सुरुवात रहस्यमयी तरिकाले हुन्छ। हरर फिल्म हेर्न बसेको महसुस हुन्छ। तर, केहीछिनमै हरर फिल्म एक्सन फिल्म बनिसक्छ। हुन त हरर फिल्ममा एक्स्न हुनै नहुने भन्ने कतै लेखेको छैन। तर, हरर फिल्ममा हररभन्दा एक्सन खास हुन खोज्यो भने डराउनुको साटो हिरोले भिलेनलाई बजाउँदैपिच्छे 'खाइस्!' भन्दै ताली पिट्न मन लाग्नसक्छ। त्यसमाथि पनि भिलेन र हिरोको तालमेल मिलेन भने, अर्थात् कमिला मार्न सिंह पठाइयो भने हास्यास्पद लाग्नसक्छ। र यो कुरा फिल्मले ५ मिनेटभित्रै प्रमाणित गरिसक्नेछ।
एक्सन हेरेरै हाँस्नुपर्ने भो कि भनेर चिन्ता नगर्नुस्। तपाईंलाई हँसाउनकै लागि फिल्मले फेरि अर्को जनरा समाइसक्छ, कमेडी! हुन त कमेडी ओरिजिनल चन्द्रमुखीको पनि महत्वपूर्ण पक्ष थियो। तर, यसपटकको कमेडी ज्यादा दिक्कलाग्दो महसुस हुन्छ। अर्थात् 'फिल्ममा कमेडी त चाहिहाल्छ' भन्दै जबर्जस्ती राखिएको जस्तो महसुस भइदिन्छ। यसरी हेर्दा फिल्मको कथावाचन भद्रगोल छ भन्दा फरक नपर्ला।
जहाँसम्म पात्रहरूको कुरा छ, यस्तो लाग्छ, कति पात्रहरू त फिल्ममा किन छन् बुझ्न सकिँदैन। ती नभए पनि फरक पर्थ्यो र जस्तो लागिदिन सक्छ। ती नहुने हो भने कथा अघि नै बढ्दैन जस्तो गरेर ल्याइएका पात्रहरू अन्तत: नहुँदा पनि फरक नपर्नेझैं लागिदिन्छ। कहानी स्पोइल नगरी भन्नुपर्दा फिल्मले कथाका लागि राघवको पात्र पाण्डियन महत्त्वपूर्ण छ है भन्ने देखाउन यति धेरै संघर्ष गरेको छ कि यसो भन्न सकिन्छ, पहिलो हाफभरि दर्शकलाई त्यही कुराको विश्वास दिलाउनकै लागि बाँधिएको भूमिकाभन्दा बढी केही छैन। र त्यही भूमिका बाँध्ने क्रममा केही यस्ता पात्र जन्मिएका छन् जसलाई कसरी कहाँ लगेर तह लगाउने भन्नेमा फिल्मलाई गाह्रो परेको देखिन्छ र तिनलाई यत्तिकै छोडिएको छ। केही पात्रहरू भने सस्पेन्स सिर्जना गर्ने उद्देश्यले राखिएको भए पनि हरर, मिस्ट्री हेरिरहेका दर्शकका लागि त्यो एउटा असफल प्रयासभन्दा बढी केही लाग्नेछैन।
कहिलेकाहीँ कमजोर पात्रहरूले पनि बलियो डायलग बोलिदिँदा त्यसैले भए पनि दर्शकलाई केही राहत दिनसक्छन्। तर, चन्द्रमुखी २ का डायलगहरूले तपाईंको कान राम्रै पकाइदिनेछन्। ओरिजिनलमा समेत भएका वादिवेलुलाई तपाईं यो सिक्वेलमा समेत देख्न सक्नुहुनेछ। तर, वादिवेलुको पात्रले चन्द्रमुखीमा जसरी तपाईंलाई बाँधिराख्न सक्दैन। हिजोको चन्द्रमुखीमा वादिवेलुको पात्रले तपाईंलाई मज्जा दिलाएको थियो भने आज तिनको पात्र स्वयं मजाक बनिदिएको लाग्नसक्छ। तपाईंलाई चन्द्रमुखी १ र २ का पटकथाकार एउटै भएको कुरामाथि समेत शंका जागिदिन सक्छ। बेलाबेला बज्ने गीतहरूले तपाईंलाई होमसिक बनाउन सक्छन्। उठेर घरतिर दौडिहालूँ जस्तो नलाग्ला भन्न सकिन्न।
दोस्रो हाफले भने तपाईंलाई केही राहत दिनसक्ला। किनभने, पहिलो हाफमा भूमिका बाँध्दाबाँध्दै फुर्सद नपाएको फिल्मले चन्द्रमुखीको कथा बल्ल दोस्रो हाफमा भन्नेछ। चन्द्रमुखीको रूपमा कंगनाका नृत्यले दोस्रो हाफमा दर्शकलाई बाँध्नेछ। त्यसो त, राघवलाई पनि पाण्डियनभन्दा बेट्टैयाको अवतारमा दर्शकले बढी रुचाउनेछन्। संवादमा भने यहाँ पनि मेहनत नपुगेको हो कि भन्ने लाग्नसक्छ।
फिल्मको सबैभन्दा निराशाजनक पक्ष के हो भने आजभन्दा १७ वर्षअघिको चन्द्रमुखीमा बरु मनोविज्ञानको कोणबाट ज्योतिकाको चरित्रलाई स्पष्ट बनाइएको छ तर आजको 'चन्द्रमुखी'ले अन्धविश्वासभन्दा बढी केही कुरालाई स्थान दिएको देखिँदैन। र अझै दु:खद कुरा त त्यही अन्धविश्वासमाथि पनि किन विश्वास गर्ने त भन्नेबारे समेत फिल्मले कुनै चासो राखेको देखिँदैन। यस्तो लाग्छ, पी वासुले फिल्मको आउटलाइन २ मिनेटमा कोरे र मानौं पटकथा लेख्न जरुरी नै ठानेनन्।
हुन त चन्द्रमुखीको कथा पी वासुको आफ्नो मौलिक कथा होइन। सन् १९९३ मा मधु मुत्तम लिखित, फाजिल निर्देशित मलयालम फिल्म 'मणिचित्रथाजू' लाई वासुले २००४ मा 'अपथामित्रा' नाम दिएर कन्नाडा रिमेक बनाए। र त्यसकै अर्को वर्ष अर्थात् २००५ मा उनले रजनीकान्त र ज्योतिकालाई लिएर हिन्दी-तमिल रिमेक 'चन्द्रमुखी' बनाए। यसरी एउटै फिल्मलाई यसअघि दुईदुईपटक अफिसियल रिमेक बनाइसकेका वासुले यसपटक तेलुगुमा चन्द्रमुखीको सिक्वेल भन्दै चन्द्रमुखी २ बनाएका हुन्। तर, 'चन्द्रमुखी २' चन्द्रमुखीको सिक्वेल बन्न सकेको छ त? या फेरि एउटा सस्तो डुप्लिकेट मात्र बन्न पुगेको छ? यसको निर्णायक हरेक दर्शक आफै हो।
हुन त हरेक दर्शकको आँखामा आ-आफ्नै लेन्स हुन्छ। यदि कुनै दर्शक कंगना वा राघवका फ्यान मात्र हुन् भने उनीहरूलाई फिल्म धमाकेदार लागिदिनसक्छ। तर, तपाईं यी स्टारका फ्यान भइकन पनि त्योभन्दा बढी लगाव फिल्मप्रति छ भने तपाईंलाई फिल्म औसत लागिदिनेछ। तर, तपाईं फ्यान कसैको होइन, र फिल्म फिल्मकै लागि वा जनराका लागि हेर्नुहुन्छ भने तपाईंलाई अपेक्षा राख्नु किन घातक हो भन्ने आध्यात्मिक ज्ञान पुन: एकपटक प्राप्त भइदिनसक्छ।
खैर, पटकथामा मेहनत नदेखिए पनि अभिनयमा कलाकारहरूले आफ्नो परिश्रम देखाएका छन्। ब्याकग्राउन्ड स्कोरलाई पनि स्कोर नदिन मन लाग्नेछैन। सिनेम्याटोग्राफी पनि अब्बल नै देखिन्छ। तर, पृष्ठभूमिमा सबै कुरा अब्बल हुँदाहुँदै पनि फिल्म कथावाचन र पटकथामा चिप्लिएको कुरामा दुईमत छैन।
फिल्मलाई नयाँ बोतलमा पुरानो रक्सी भन्न पनि मिल्दैन। किनभने, रक्सी त जति पुरानो उति कडा हुन्छ भन्छन्। बरु फिल्मलाई नयाँ गातामा पुरानो किताब भन्न भने सकिन्छ। सिलेबस सबै नमिल्ने त होइन तर, त्यति पढेर पास हुन सकिन्छ भनेर विद्यार्थी ढुक्क हुन सक्दैन।
Shares
प्रतिक्रिया