शनिबार हायातमा भएको कन्सर्टमा प्रस्तुति दिएसँगै भारतीय गायक अरिजित सिंह चर्चामा छन्। सांगीतिक प्रस्तुतिकै क्रममा एक फ्यानले दिएको नेपाली झण्डा ओढेपछि उनको अहिले प्रशंसा भइरहेको छ।
त्यस्तै, भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ मा पुगेका अभिनेता रणवीर कपुरले नेपालकी मेनुका पौडेलको पाउ छोए। रणवीरले मेनुकाको तारिफ गर्दै आर्शिवाद लिएको भिडिओले नेपालीहरुको मन जितिरहेको छ। भारतीय भएर नेपालप्रति सम्मान गरेको भन्दै नेपालीहरुले खुसी व्यक्त गरिरहेका छन्।
तर, भारतीय कलाकारहरुका यी दुई व्यवहार देखेपछि गायक राजेश पायल राईले नेपालीप्रति प्रश्न तेर्साएका छन्।
‘अरिजित सिंहले नेपाली झण्डा ओढेजसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आर्शीवाद मागेजसरी त्यसरी नै हामी कलाकारले भारतमा, भारतको झण्डा या कुनै पनि देशको प्रस्तुति दिँदा त्यसै देशको झण्डा बोकेको भए हामीले माफी र गाली पाउन्थ्यौँ कि नाई? जिज्ञाशा’ उनले फेसबुकमा लेखेका छन्।
उनको भनाई एउटै काम विदेशी कलाकारले गर्दा महान भनिने र नेपाली कलाकारले गर्दा आलोचना हुने प्रवृतिप्रति लक्षित छ। राईको स्टाट्स सेयर गर्दै नेपाली कलाकारहरुले पनि समर्थन जनाएका छन्।
प्रतिक्रिया