राजकुमार हिरानी! भनिन्छ अहिलेसम्म शतप्रतिशत सफल छन् उनका फिल्म। यो सत्य हो भने यसलाई उनकै फिल्म 'डंकी' ले झुटो बनाउला कि?
हो, क्युएफएक्स लगायत देशभरका हलहरूमा बिहीबारबाट एकसाथ प्रदर्शनमा आएको निर्देशक हिरानीको डंकीले क्यारमबोर्डको टंकीजसरी फर्किएर उनकै टाउकोमा नठुङ्ला भन्न सकिँदैन। उनकै 'थ्री इडियट्स' पटकपटक हेर्ने म हजारौँमा एक मात्र हुँ सायद। तर, डंकी मैजस्ता अन्य धेरै दर्शकहरूलाई एकपटक सक्न पनि हम्मे पर्नसक्छ।
१. कथा कि व्यथा ?
डंकी, विषयवस्तु गम्भीर हो। साँच्चै, म एउटा भ्रममा रहेछु अस्तिसम्म। विषयवस्तु र कथा उस्तै कुरा त हो नि जस्तो लाग्थ्यो। खैर, निर्देशक हिरानीले विषयवस्तु र कथाबीचको फरक छर्लङ्ग बुझाइदिएका छन् डंकीमाथि 'डंकी' बनाएर।
बचपनमा पेट दुख्यो स्कुल जान्नँ वा टाउको दुख्यो घर जान्छु भन्ने बहानाको जोर नचलेपछि दोबाटोबाटै मोडिएर वा पछाडिको पर्खाल नाघेर 'स्कुल बंक' गर्नुभएको छ? त्यस्तै, तर अलि ठूलो बहानामा, ज्यादै डरलाग्दो चोरबाटो हुँदै 'देश बंक' गर्नु नै डंकी मार्नु हो। तर, दु:खद कुरो के हो भने पहिलो हाफभरि डंकीको कथा सुरु पनि हुँदैन। के सुनाउँदै बस्छन् त त्यतिञ्जेल? यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ। अहिलेलाई देश बंकतिरै लागौँ।
देश बंक गर्नु स्कुल बंक गर्नुजस्तो सामान्य कुरो पक्कै होइन। खोलापारि वा डाँडापारि पुगेजस्तो मात्र पनि त होइन। अनेक देशका बोर्डर छिचोलेर यात्रा गर्नु त्यो पनि साथमा सीमित खानेकुरा र लत्ताकपडा बोकेर- यो जति एड्भेन्चरस के हुनसक्ला? बाटोमा जाँदाजाँदै लगेको खानेकुरा सकिएला। चोरबाटो हो लुटेराहरू फेला नपर्लान् भन्न सकिँदैन। बिरामी परियो भने? नपरिएला? बिरानो देश, बिरानो हावापानी! खास, डंकीको कथा त यस्तै संघर्षको वरिपरि घुम्नुपर्ने होइन र? विषयवस्तुको गाम्भीर्य हिरानीले देखेनन् या उनलाई त्यति गहिरोसँग डंकीको यथार्थले छुँदै छोएन?
जे होस्, उनी डंकीको माथिमाथिको पत्रमै रमाए। सतहमै उफ्रिँदा मज्जा पनि त आउँछ। फलानोले त अङ्ग्रेजी बोल्न नआएर डंकी मार्यो! प्लेन चढेर जाने भाग्य रहेनछ लन्डनसम्मै बिचरा ढिस्कानो हिँडेरै, गुडेरै पुगेछ! बस् ! यहाँभन्दा गहिरिनुपरेको भए उनले जानेको सेन्स अफ ह्युमर फेरि कता लगेर चिप्काउनु? कत्रो व्यथा, होइन?
जे होस्, योपटक हिरानीले जोखिम मोलेरै डंकी मारेका हुन्।
२. ह्युमर कि ट्युमर?
हिरानीको सेन्स अफ ह्युमरलाई नरुचाउने दर्शक भेटिनु अपवाद हो। कमेडी ड्रामा उनको जनरा नै हो। तर, डंकीजस्तो गम्भीर विषयवस्तु भेटिसक्दा पनि त्यो ह्युमर बिसाउनै नहुने कारण के रहेछ? त्यो बिसाउँथे त अरू केही समाउँथे, दर्शकले नयाँ कुरा भेट्थे। हिरानीको अर्को पाटो पनि देख्न पाउँदा दर्शकलाई खुशी नै मिल्थ्यो होला। अथवा जे पनि हुनसक्थ्यो। तर, जोखिम मोल्न सक्नुपर्थ्यो कि? हुन त उनको स्वतन्त्रताको कुरा हो कस्तो फिल्म बनाउने, कसरी बनाउने।
जसरी के खाने, कस्तो जीवनशैली बाँच्ने भन्ने स्वतन्त्रता हरेकलाई हुन्छ। तर, गम्भीर बिरामी हुँदा मन लागे जसरी खाइदिनुस् त के हुन्छ? स्वास्थ्यको लागि पनि ह्युमर त राम्रो हो तर, त्यस्तै कुनै गम्भीर अवस्थामा ह्युमर पनि ट्युमर बनिदिनसक्छ। त्यसको राम्रो उदाहरण हो डंकी!
३. चरित्र कि विचित्र?
त्यसो त बाहिरी दुनियाँबाट कोही आउँछ र यो दुनियाँको हिस्सा बन्छ, यो दुनियाँको समस्याको समाधान त्यो 'एलियन पात्र' ले गरिदिन्छ। हिरानीको यो एउटा फिल्मी फर्मुला नै हो भन्दा फरक नपर्ला। तर, पिकेको एलियन स्वैर पात्र हुँदाहुँदै पनि कथामा ऊ जमेको थियो। उसको चरित्रको जग बलियो थियो। तर, डंकीमा हार्डी सिंहलाई हिरानीले उत्तिकै बलियो जगमा उभ्याउन सकेका छैनन्।
पहिलो कुरा त लालटुका युवाका समस्या गर्न लालटुभित्रैबाट कुनै पात्र जन्मिन किन सक्दैन? पठानकोटबाटै कोही किन आउनुपर्छ? यो स्पष्ट छैन।
बाहिरबाट आएको उसलाई अरूका समस्या अरूलाई लागिरहेको भन्दा आफ्नो लागिदिन्छ। लाग्न पाउँछ। तर, किन लाग्छ? यो पनि स्पष्ट छैन।
साँच्चै, सुखीलाई पहिलोपटक देख्दा ऊ लालटुकै होलाजस्तो कति दर्शकलाई लाग्यो होला? यस्तो लाग्छ उसलाई लालटुले चिन्दै चिन्दैन। तर, बाहिरबाट आएको हार्डीले एक रात हार्ड ड्रिंक के पिलाएको थियो मानौँ ऊ रातारात लालटुको सेलेब्रिटी बासिन्दा भइगयो!
अनि अँ, सुखीसँग जुन दु:खद घटना घट्छ, दर्शकलाई त्यो कति दु:खद लाग्छ? कति दर्शकको हृदय गाँठो पर्यो होला? कतिका आँखा भिजे होलान्? मुटु कमजोर भएको दर्शकलाई त लामखुट्टे मार्दा पनि आँसु आउँछ त्यो फरक कुरा। तर, अन्यलाई सुखीको पीडाले छोयो पनि होला? मलाई शंका लाग्छ।
तपाईं हरेक दिन समाचारमा कसै न कसैको मृत्युको खबर सुन्नुहुन्छ। मृत्युको खबर सुन्दै, कठै भन्दै तपाईं आफ्नो दैनिकीमै लागिरहनुहुन्छ। तर, कुनै दिन आफूले चिनेको मान्छेको मृत्युको खबर सुन्नुहोस् त, तपाईंको दैनिकी भत्किन्छ। तपाईं गर्दैगरेको काम झट्ट छोडेर शोक मनाउन थाल्नुहुन्छ, चसक्क बिझ्न थाल्नुहुन्छ। कति गहिरोसँग चिन्नुहुन्छ मृतकलाई दुखाइको गहिराइ पनि त्यति नै हुन्छ।
सुखीले ज्यान दिएर लागि परेको संसारसँग दर्शक परिचित नै छैन। सुखीको नियतिले दर्शकलाई छुन सक्दैन।
उता मन्नुको फोन आउँछ। दौड प्रतियोगिता एकाएक रोकिन्छ। गाउँलेहरू कुद्न छोडेर फोनमा झ्यामिन्छन्। पहिलो प्रश्न त यो हो- मन्नु ती गाउँलेहरूले प्रतियोगिता रोकेर पर्खिनुपर्ने आखिर को हो? गाउँलेहरूका लागि ऊ के हो?
दोस्रो प्रश्न यो हो- मन्नु स्वयं आइपुग्दा भने मुन्टो उठाएर पनि कुनै गाउँलेले उसलाई किन हेर्दैन?
साँच्चै, ती तीनजना पात्रहरूलाई डंकी मार्नै लाग्दा किन घुसाइयो कथामा? को हुन् ती पात्रहरू? के मर्नैका लागि मात्र तिनलाई इरानसम्म घिसारिएको हो त? होला पनि है? किनभने, अरू तीनजनालाई त मर्न दिनुभएन। आखिर, शाहरुख खानको पात्रले लन्डन पुर्याएरै छाड्ने वचन दिएको छ। कथालाई रियलिस्टिक बनाउन थाले फेरि स्टारको स्टारडमको के हुन्छ नि? होइन?
जे होस्, हिरानीलाई शाहरुख महंगो परेकै हुन्।
४. कथावाचन भर्सेस् कथापाचन
कथाको कुरा त सुरुमै गरिहालियो। तर, निर्देशकको कला त विशेषगरी कथावाचनमा देखिने हो। कथावाचनचाहिँ कत्तिको पाचन हुने खालको छ त?
हुन त वाचन गर्नु भनेको वाक्य बोल्नु नै हो। तर, सिनेमाको भाषामा वाक्य पनि चित्रमै हुनु राम्रो मानिन्छ। निर्देशकले भन्न चाहेको कथा पात्रहरूबीचको संवादले भन्नु नै सिनेमाको कला हो। र अहिले त सिनेमाजगत संवादबाट पनि अघि बढेर 'भिजुअल स्टोरीटेलिङ'को अभ्यास गर्न थालिसकेको छ। बोल्नु पनि नपरोस्, कमभन्दा कम बोलेरै कथा भन्न सकियोस्।
यो अभ्यास सिनेमामा सुरु भइसक्दा निर्देशक हिरानी भने संवादले पनि नपुगेर मनोवाद (मोनोलग) र स्वगत (सलिलकी)को सहारा लिइरहेका छन्। र अन्तिममा त स्टेटमेन्टको सहारा पनि लिनुपरेको छ उनलाई। जसले गर्दा फिल्म सलल बग्न पाएको छैन। गाँसको बीचबीचमा ढुंगा लागेजस्तो।
गरीबकै लागि मात्र बोर्डर किन बन्द? यो उठाउनैपर्ने प्रश्न हो। तर, क्यामराको फ्रेमभित्र यो प्रश्न उनका पात्रहरूले, दृश्य वा संवादमार्फत् सोध्न सकेको भए?
कतै हिरानीको कथा भन्ने शैली डेट इक्स्पायर्ड भएको त होइन। मिति घर्केको ब्रेड त पचाउन गाह्रै पो पर्ला।
५. लजिक कति सटिक?
सिधाबाटो अथवा भनौँ कानुनी रूपमा लन्डन जान नसकेपछि उनीहरू डंकी मार्ने निर्णयमा पुग्छन्। देशको कानुन मिचेर गैरकानुनी रूपमा देश बंक गर्नु अपराध हो- तर यो कुरा फिल्ममा कहिँकतै बस् फर्मालिटीका लागि पनि कसैले बोल्नेवाला छैन। अरू त अरू त्यो देशभक्त बफादार फौजी पात्रले समेत भन्दैन। रोचक कुरा त के भने डंकी मार्ने उपाय सुझाउनेदेखि चोरबाटोभरि नेतृत्व गर्ने नै उही हुन्छ। एक सेकेन्डका लागि पनि उसले यो गैरकानुनी जुक्तिउपर दोहोर्याएर विचार गरेको छैन। यो फौजी पात्र आखिर कुन सिद्धान्तमाथि उभिएको छ? निर्देशक सायद आफै स्पष्ट छैनन् कि?
लन्डनमा बिनाभिजा, बिनाकागजात पक्राउ परेपछि मन्नु भन्छे जमिन कसैको पेवा होइन, सबै ईश्वरको हो। बोर्डरले छुट्याउन पाइँदैन। जमिन सबैको सरोबरी हो। एक हिसाबले हो पनि। यो बोल्नै नहुने त होइन, यसरी सोच्ने मान्छे पनि हुन्छन्। तर, मन्नु- जो कुनै समय आफ्नो रहेको घरमा आज अरूकै नेमप्लेट लागेको देख्न नसकेकै कारण डंकी मारेर लन्डन पुगेकी छे उसले यो कुरा गर्नचाहिँ पक्कै सुहाउँदैन।
पात्र भावनामा बहकिन पाउँछन्। तर, अघि पनि भनियो, आखिर फिल्म भनेको निर्देशकले भन्न चाहेको कथा पात्रमार्फत् भनाउने न हो। गैरकानुनी रूपमा अर्काको देश जानेलाई जमिन ईश्वरको हो मानिलिएर खुत्रुक्क त्यहीँको नागरिकता थमाउनुपर्छ भन्ने सन्देशसहित्को कथा भन्नुचाहिँ हिरानीको तर्कले तार्किकता गुमाउनु नै हो। तर्क भनेको तार्किक नै हुनुपर्छ, सटिक नै हुनुपर्छ।
६. अभिनय
खैर, निर्देशकको कुरा मात्रै कति गर्ने है? कलाकारले कस्तो कला देखाए त? चरित्र जे जस्तो पाएको भए पनि कलाकारहरूले आफ्नो पाटोलाई न्याय गरेकै छन्। शाहरुखको अभिनय सदाबहार लाग्छ- खोट लगाउने ठाउँ पनि नभेटिने तर, नयाँपन पनि नभेटिने। तापसी पन्नु, बमन इरानी, अनिल ग्रोभर लगायतका कलाकारहरूको अभिनय क्षमतामा टिप्प्णी गरिराख्नै परेन। तर, क्यामियोमा देखिएका विक्की कौशललाई यत्तिकै जान दिन सकिँदैन। हिरानीकै 'सञ्जु'मा कमलेशको चरित्र निभाइसकेका उनले डंकीमा पनि 'सुखी'को चरित्र उति नै काइदासँग निभाएका छन्। कौशलको फ्यान तपाईं होइन तर पनि अभिनयको दम परख्न थोरबहुत जान्नुभएको छ भने तपाईं डंकीको खाँटी कथामा कौशललाई मुख्य भूमिकामा देख्न लोभिनुहुनेछ।
जाँदाजाँदै, कमेडी टोनको साटो इमोसनल टोनमा कथा भन्न सकेको भए राजकुमार हिरानीको डंकीले, डंकीका गीतहरूले जस्तै मन छुन्थ्यो होला।
प्रतिक्रिया