फिल्मको सुरुवाती दृश्यले दर्शकलाई रोमान्टिक बनाउन थालेको मात्र के हुन्छ अचानक सबै कुरा बदलिन्छ। अब पक्कै हेनरी केविल र डुवा लिपाबीच चुम्बन होलाजस्तो लाग्दै गर्दा अचानक उनीहरू एकअर्कालाई मार्न उद्दत भइदिन्छन्। तब लाग्छ, हेनरी केविलको पात्र उर्फ फिल्मको मुख्य चरित्र अर्गाइललाई जासुसको रूपमा देख्न पाइने भयो।
तर, यो पनि झुट! अर्गाइल त बस् एउटा जासुसी उपन्यासभित्रको काल्पनिक पात्र मात्रै पो रहेछ। वास्तवमा हामी त एलिजाबेथ उर्फ एली कनवेको कथा पो हेर्न, सुन्न बसेका रहेछौँ। जो त्यस जासुसी उपन्यास 'अर्गाइल' कि लेखिका हो। जसले अर्गाइल सिरिजका चारवटा किताब निकालिसकेकी छ र अब पाँचौँ भागमाथि ऊ काम गर्दैछ।
ऊ आफ्नो पाँचौँ किताबको पाण्डुलिपि आफ्नी आमालाई पठाउँछे। तर, आमा भन्छे, उसले अझै एउटा च्याप्टर लेखे मात्रै यो भागको अन्त्य राम्रो बन्नेछ। ऊ प्रयास गर्छे, सक्दिन, फेरि प्रयास गर्छे, फेरि सक्दिन। उसलाई जति आएको थियो त्यति त उसले लेखिसकेकी थिई। अब ऊसँग मानौँ शब्दहरू नै बाँकी छैनन्।
कस्तो फसाद है? तब ऊ सोच्छे कि ब्रेक लिऊँ। आफ्नी आमालाई भेट्न लन्डन जाऊँ! साँच्चै, विश्वास गर्नुभयो? गर्नुहुन्छ भने पनि परेको आफैँ बेहोर्नुहोला।
त्यसो त, यो सबै सत्य हो। ऊ लेखिका एली हो, उसले किताब लेखेकी हो, अन्तिम अध्याय लेख्न नसकेकी पनि हो, आमा भेट्न हिँडेकी पनि हो। तर, भनिहालेँ नि, विश्वास गर्ने कि नगर्ने। जे गरे पनि परेको जोखिम आफैँ उठाउनुहोला। कहानीमा ट्विस्ट आइदिए जवाफदेही कोही हुनेछैन।
कथा
खैर, जासुसी सिनेमाको कथा थोरै गुप्त नै राख्नुपर्ने स्थितिका बाबजुद जोखिम मोलेरै म तपाईंलाई कथाबारे बताउँदैछु।
एउटी उपन्यासकार जो जासुसी उपन्यास लेखेकै कारण एउटा जासुसी गिरोहको एम्बुसमा पर्छे। किनभने, उसले लेखेका काल्पनिक कुरा वास्तविकतासँग मेल खाइरहेको छ। उसलाई त्यो गिरोहबाट बचेर निस्किनु छ र जसरी पनि आफ्नो आगामी किताबको लास्ट च्याप्टर लेख्नु छ।
यस्तो स्थितिमा के उसलाई बचाउन कोही आउँछ? या ऊ आफै काफी छे? कोही बचाउन आउँछ भने को आउँछ? आफै काफी छे भने कसरी छे?
कथावाचन
फिल्मको कथा भन्ने शैली घडीको पेन्डुलमझैँ छ। मानौँ पटकथाकार जेसन फोक्स दुईवटा डुंगामा एकैसाथ खुट्टा हाली यात्रामा निस्किएका छन्। र निर्देशक म्याथ्यु
बोआन घरी दायाँ डुंगाको कथा सुनाउँछन् घरी बायाँ डुंगाको। अर्थात् फिल्मभित्र काल्पनिक र वास्तविक संसार समानान्तर रूपमा एकसाथ बगिरहेका छन्।
यद्यपि, फिल्मभित्रको वास्तविक संसार पनि अन्ततः काल्पनिक संसारमा नै रूपान्तरित भएको छ जुन कमेडी जनराको आधारभूत विशेषता पनि हो।
पात्र
फिल्मका पात्रहरूको कुरा गर्नुपर्दा प्राय पात्रहरू रुचिकर नै लाग्छन्। ब्राइस डालस होवार्डले निभाएको मुख्य पात्रलाई यसरी बुनिएको छ मानौँ उसलाई जसरी मोड्दा
पनि मोडिन्छ र जसरी तन्काउँदा पनि तन्किन्छ। यद्यपि, यसरी अथाह भविष्य बोकेको यो 'इलास्टिक' पात्रको चरित्र निर्माणको जग भने उति बलियो छैन। त्यसो त अन्य पात्रहरूको चरित्र निर्माणमा पनि उति मेहनत गरिएको देखिँदैन।
सानो लगानीमा बनेर पनि गत वर्षको ओस्कार विजेता रहन सफल साइ-फाइ एक्सन कमेडी ड्रामा एव्रीथिङ एव्रीह्वेयर अल एट वान्ससँग तुलना गरेर हेर्दा पनि ठूलो लगानीमा बनेको यो स्पाइ एक्सन कमेडी ड्रामा विभिन्न पक्षमा कमजोर लागिदिन्छ।
लाग्छ, यो जासुसी फिल्मले चरित्र निर्माण र पात्र विकासको आधारभूत सूत्र त उस्तै जनराको ओस्कार विजेता उही फिल्मको जासुसी गरेर पनि सिक्न सकेको भए पात्रहरूको संवेदनासँग कतै त दर्शक जोडिने थिए कि?
प्रविधि
विविध कमजोरीका बाबजुद फिल्मको प्राविधिक पक्षले भने दर्शकका आँखालाई न्याय नै गरेको छ। एउटा दृश्यदेखि अर्को दृश्यमा अन्तर हुँदाको 'ट्रान्जिसन' कतिपय ठाउँमा सन्तोषजनक मात्रै नभएर उल्लेखनीय पनि छन्।
यस्तै, दर्शकमा थोरै धैर्य थपिदिने काम फिल्मको ब्याकग्राउन्ड स्कोरले पनि गरिदिएको छ।
जाँदाजाँदै, २ घण्टा १९ मिनेटसम्म सत्य र झुटको भुलभुलैयामा हराउन र बाहिर निस्किँदा नयाँ भुलभुलैयामा आफूलाई पाउन मन छ भने 'अर्गाइल' कम्तीमा एकपटक हेर्दा समय नै खेर त नजाला। रेस्लर जोन सिना, पपस्टार डुवा लिपा र द विचर-स्टार हेनरी केविलको क्यामियो कति दर्शकलाई खानाको थालीमा चटनी जस्तो लाग्नसक्छ भने कतिपयलाई हात्तीको मुखमा जिरा। झुटबाट सुरु भएर झुटमै अन्त्य भएको फिल्मको कथा लाग्छ, प्रिक्वेलबाट मात्रै सुरुवात हुनेछ।
फिल्म क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ।
Shares
प्रतिक्रिया