नेपाली सिने जगतमा कमेडी विधामा हिजो वा आजदेखि होइन दशकौँदेखि सिनेमा बनिरहेका छन्। नेपाली सिने जगतमा हास्यव्यङ्ग्यका धरोहर भनी मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)लाई लिने गरिन्छ। यो जोडीले हास्यव्यङ्ग्य कर्ममा लागेर केस फुलाइसकेको छ।
तर, हास्यव्यङ्ग्यमा कदम राख्दै गर्दा यो जोडी पनि युवा थियो, तन्नेरी थियो। उतिबेलाको तन्नेरी वा भनूँ उतिबेलाको तन्नेरी युग आजको लागि पुरानो युग हो। आजकै युग पनि जब हास्यव्यङ्ग्य बनाउँछ बाबुआमा, हजुरबुवा, दाजुभाउजू र काकाकाकीहरूकै कथा भन्छ। अर्थात् हिजोतिर फर्किएर कथा भन्छ।
आजको आधुनिक युगले आजतिरै फर्किएर आजकै आधुनिक युवाहरूमाथि व्यङ्ग्य गर्दा कस्तो सुनिएला? आजको युवाले आफ्नै साथीभाइको कथामाथि उपहास गर्दा कस्तो देखिएला? पावर रेन्जर हेरेर हुर्किएका, पब्जी खेल्दै अल्लारिएका, एक्सन र क्राइम ड्रामा मन पराउने आजका युवाहरू जीवनका अफ्ठ्याराहरूमा पनि रमाउन परेमा कसरी रमाउलान्? आजका आधुनिक युवामा हास्यव्यङ्ग्यको चेत कस्तो छ? यिनै र यस्तै प्रश्नको जवाफस्वरूप निर्देशक आकाश मगरको 'जिग्री' क्यूएफएक्स लगायतका अन्य सीमित हलहरूमा बाहिरीइसकेको छ।
यो एक्सन-क्राइम-कमेडी फिल्ममा निर्देशक मगरलाई हामी अभिनेताका रूपमा मुख्य भूमिकामा समेत देख्न पाउँछौं। एक्सनमा कमेडी वा क्राइममा कमेडी नेपाली सिनेमाका लागि सम्भवतः नौलो खुराक हो। होइन भने पनि दुर्लभ खुराक भने पक्कै हो। त्यसो त क्राइम-एक्सन ड्रामामा मजाक घोलेर पस्किनु एउटा जोखिमपूर्ण काम हो। युवा सिनेकर्मीले त्यो जोखिम उठाउनु पक्कै पनि सामान्य कुरा भने होइन। खैर, अहिलेलाई भने फिल्मका भित्री कुराहरू नै खोतलौँ।
१. कथा
जब दुई दुश्मनहरूले नचाहँदा नचाहँदै एउटा हराएको ब्रिफकेस फेला पार्छन् त्यसपछि थाहै नपाइकन उनीहरू एकअर्काको जिग्री भइसक्छन्। फिल्मको कथा एक वाक्यमा भन्दा यस्तै सुनिन्छ। र भनिन्छ, कुनै पनि फिल्म राम्रो हुनलाई त्यसको 'वान-लाइन स्टोरी' सटीक र स्पष्ट हुनुपर्छ। तपाईंलाई फिल्मको यो वान-लाइन स्टोरी कस्तो लाग्यो? छैन त सटीक? पक्कै छ। तर, फिल्म हेरिसकेपछि फिल्मलाई एक वाक्यको स्पष्ट कथाले नपुग्दोरहेछ भन्ने पक्कै लाग्नेछ।
फिल्मको कथा नराम्रो छैन। तर, गहिरो पनि छैन, सतही छ। गहिरो नहुनु राम्रो हुनु हो कि होइन? या फेरि सतही हुनु नराम्रो हो कि होइन? यसको निर्णायक बन्ने अवसर हरेक दर्शकको लागि खुल्ला छँदैछ। अँ, तपाईं पनि त दर्शक हो।
खैर, पात्रहरूले दैनिक जीवनमा भोग्नुपरेको समस्या र त्यसको समाधानको लागि गरेको संघर्षलाई अझै नजिकबाट विस्तारमा भन्न सकेको भए फिल्म राम्रो छ या छैन भन्नका लागि यति दोमन गरिरहन पर्दैन थियो कि?
२. किन गहिरो छैन?
तर, फिल्म गहिरो छैन भनिसकेपछि किन? भन्ने खसखस पनि त सँगसँगै जन्मिहाल्छ। आउनुस्, हामी सँगसँगै बसेर त्यो खसखस मेटाऔँ। दुई मुख्य पात्र भएको यस फिल्ममा अभयराज बरालको पात्र तिर्थ ऋणमा छ। सहरको स्तरीय होटलमा जागिरे ऊ ऋण तिर्न नसकेर ऋणदाताहरूदेखि भागी हिँड्छ। ऊ अझै पनि सहर छोड्ने बन्दोबस्त गर्न (तलबले नपुगेरै हो कि किन हो, स्पष्ट खुलाइएको छैन) अरूका सामग्री चोरी गरेर बेच्छ र पैसा जुटाउँछ। तर, फिल्मको अन्त्यसम्म पनि उसले त्यत्रो ऋण किन लियो? कहाँ, कसरी फसायो र अहिले आर्थिक अभावमा छ? केही पनि खुलाइएको छैन।
अर्को कुरा, उनीहरूले भेटाएको ब्रिफकेस अति महत्त्वपूर्ण छ जुन कथाको मागअनुसार हुनै पनि पर्छ। तर, त्यो ब्रिफकेस किन त्यति महत्त्वपूर्ण छ? त्यसभित्र आखिर के छ? यो रहस्य फिल्मको अन्त्यसम्म पनि नखुल्दा दर्शकले कथाका पछिल्ला अनुक्रमहरूमा विश्वसनीयता भेट्छन् भन्नेमा शंका गर्न सकिन्छ।
३. कथावाचन
क्यामरा स्वयंले कथा भनिरहेको यो फिल्म सिधासिधा सुनाइएको छ। कथाको क्रम सलल बगेको छ। यो किसिमको 'लिनियर स्टोरीटेलिङ' ले दर्शकलाई कथा बुझ्न सहज गराउनुपर्ने हो। तर, फिल्मको अन्त्यसम्म पनि दर्शकहरू कथाभित्र के भइरहेछ नबुझेर छटपटिन्छन्। किन त? आउनुस्, यो अर्को खसखस पनि मेटाइहालौँ।
कमेडी फिल्मको खास द्वन्द्व दिग्भ्रम (कन्फ्युजन) हो। अर्थात् अन्योलको अवस्था। के भइरहेछ? के गर्नुपर्ने हो? कता जानुपर्ने हो? थाहा नभएको, नबुझेको अवस्था। सामान्य ड्रामामा द्वन्द्व निर्माणका लागि खलपात्रले बाधा-व्यवधान खडा गरे काफी हुन्छ तर, कमेडी ड्रामामा खलपात्रले त्योसँगसँगै अन्योल सिर्जना गर्नु समेत अनिवार्य हो।
त्यही दिग्भ्रम सिर्जना गर्ने लहडमा फिल्मको कथावाचन जेलिएको महसुस हुन्छ। त्यो अन्योल, त्यो दिग्भ्रम फिल्मका पात्र-पात्रबीच हुन अति अनिवार्य हो। तर, दर्शकलाई भने कम्तीमा के भइरहेछ स्पष्ट हुन जरुरी छ। किनभने, के भइरहेछ नबुझी हाँस्नु त मूर्खको काम हो। र दर्शक मूर्ख बन्न चाहँदैन। खैर, फिल्मले यो पाटोमा ध्यान दिन सकेको छैन।
४. कला
फिल्मको मीठो पक्ष भनेको यसको कला पक्ष हो। फिल्मको प्रोमोसनको बेलादेखि नै दुई मुख्य पात्रमध्ये एउटालाई आलु र अर्कोलाई तामा भनिएको छ जुन खाँदा मात्रै होइन सुन्दा पनि मीठा बिम्ब हुन्।
आलु पात्रलाई हेर्ने हो भने उसको टाउको आलुजस्तै चिल्लो छ। अर्थात् तालु छ। उसको शरीरको बनोट हेर्दा पनि ऊ हरेक तरकारीमा आलु नमिसाई भात नखाने आम नेपाली जस्तै देखिन्छ। अनि जुनै तरकारीमा मिसाउँदा पनि मीठो हुने आलुजस्तै यो आलु पात्रपनि दुश्मनसँग पनि वर्षौंदेखिको साथीसँगजस्तै लुटुपुटु गर्न थालिहाल्छ।
उता तामा पात्रकै पनि टाउको नै हेर्ने हो भने उसले पनि बाँसघारीजस्तै देखिनेगरी कपाल पालेको छ। स्वादकै कुरा गर्दा पनि तामाजस्तै उसको बोली वचन पनि अमिलो नै छ। बानी पनि अमिलो- रिस उठेपछि पिटपाट गरिहाल्नुपर्ने। तर, अमिलो भइकन पनि मीठो- पिटेर धुलो पारिसकेपछि दुईचार डल्ला पिठोका डल्ला अर्थात् म:म: खुवाएर फकाउन पनि जान्ने।
त्यसो त, पात्रमाथि नै प्रयोग गरिएको कुकुरको बिम्ब पनि म:म: जस्तै मीठो लाग्छ।
विदेशी पर्यटकको गाडी घुमाउने पात्रले ठमेलका पसलतिर विदेशीले किनोस् भनेर झुण्ड्याइने जस्तै लुगा लगाउँछ। फिल्ममा खुलदुली सिर्जना गराउन कुनै मौन पात्र पनि छ। जो फिल्मभरि मुस्किलले एक शब्द बोलेको होस्। उसको अनुहारमा एक किसिमको अव्यक्त सान छ। यो चाहिँ को रहेछ? यसले केही त पक्कै गर्नेवाला छ! जस्तो लाग्ने यो मौन पात्र रहस्यमयी लाग्छ। यो मौन पात्रलाई अनुहार एउटा छोडेर शिरदेखि पाउसम्म कालो वस्त्रमा परिकल्पना गर्नु अर्को मीठो कुरा हो।
कतै कतै बल गरेर हास्यास्पद बनाउन खोजिएको भान नहुने त होइन तर, कमेडी फिल्ममा हुनुपर्ने 'वर्ड प्ले', 'छद्म भेष', 'हास्यास्पद अतिरञ्जना', 'हास्यास्पद खलपात्र' आदिजस्ता कुराहरू फिल्ममा पर्याप्त देख्न पाइन्छ जुन भने मीठो कुरा हो।
५. साहित्य
हास्यव्यङ्ग्यभित्र पनि साहित्यलाई विशेषगरी तीन विधामा बाँडिएको पाइन्छ। पहिलो, विडम्बना (आइरनी), दोस्रो व्यङ्ग्य (सटायर) र तेस्रो विचित्र (कमेडी)। फिल्मको लेखन वा यसको साहित्यिक पक्षलाई हेर्ने हो भने यो फिल्म विडम्बना र व्यङ्ग्यसहितको विचित्र साहित्य हो।
विडम्बना र व्यङ्ग्यले समाजको यथार्थ रूप, पात्रले भोग्नुपरेको पीडा, गर्नुपरेको संघर्ष र व्यहोरेको असफलतालाई चित्रण गर्छ भने विचित्रले ती सबै कुरासहित अझै अघि बढेर कसरी चामत्कारिक तरिकाले अन्त्यमा पात्र सफल हुन्छ भनेर देखाउँछ।
अझै सरल भाषामा भन्ने हो भने, 'अँ त, यस्तै त हुन्छ नि है?' हुँदै 'लौ, यस्तो पनि हुन्छ र?' सम्म पुग्नु, पुर्याउनु नै विचित्र साहित्यको धर्म हो। यो फिल्मको कथा पनि त्यसैगरी स्वभाविक रूपमा सुरु भएको छ।
दुई अपरिचितहरू एकअर्काको विपक्षी छन्, दुश्मन छन्। एउटाले तिर्नु छ, अर्कोले असुल्नु छ। हामीजस्तै सामान्य मान्छेहरूको हाम्रोजस्तै दु:ख, समस्या छन्। तर, बिस्तारै उनीहरू ठूला-ठूला अपराध गरेर पनि खुलेआम हिँडिदिन्छन्, ठूला-ठूला ग्याङ्स्टरहरूसँग लड्छन्। त्यो पनि मिलीजुली? त्यस दौरानमा ठूलै हत्या र ठूलै ठगी गरेका यी हामीजस्तै सामान्य र अबोध पात्र उनीहरू प्रहरीको आँखै अघिबाट अर्कैलाई दोषी देखाएर उम्किन्छन् र बाँकी जिन्दगी मोज गर्छन्। र उनीहरूको खुसीमा हामीलाई पनि खुसी नै लाग्छ। ह्त्या गरेका त हुन् तर विचित्रै सँग हामीलाई उनीहरू हत्यारा हुन् भन्ने लाग्दै लाग्दैन, उनीहरूको पोल खोलिदिन मन लाग्दैन। चमत्कार जस्तो पनि नलाग्ने कुन्नि कस्तो चमत्कार गर्छन्। तर, हामीलाई लागिदिन्छ, 'यथार्थमा पनि यस्तै हुन्छ र?'
६. अभिनय
फिल्मको अर्को सबल पाटो अभिनय पनि हो। निर्देशक समेत रहेका अभिनेता आकाश मगर र उनको जिग्रीको भूमिकामा देखिएका अभयराज बरालको अभिनयले फिल्मलाई न्याय त गरेको छ नै साथै, कलाकारको अभावकै कारण एउटै अनुहारलाई एकपछि अर्को फिल्ममा दोहोर्याइरहनुपरेको नेपाली सिनेमाले अब केही वैकल्पिक अनुहार पाएको हो कि? अपेक्षा गर्न सकिन्छ।
साथै, लुट र चिसो एस्ट्रेजस्ता आधुनिक धारका सिनेमामार्फत् आफ्नो अभिनय क्षमता देखाइसकेका सुशीलराज पाण्डेले पुन: एकपटक आफूलाई अब्बल अभिनेता साबित गरेका छन्। चिसो एस्ट्रेमा अति थोरै डायलग बोल्ने पात्र 'विक्की भेजा' पछि जिग्रीमा मौन पात्र 'राघव' बनिरहँदा पनि उनी खाली आँखा र बडी ल्याङ्वेजले मात्र पनि अभिनय गर्नसक्ने दुर्लभ कलाकारको रूपमा नाम लेखाउँदै पो छन् कि?
फिल्मको कास्टिङ समेत सम्हालेका निर्देशक एवं अभिनेता केदार श्रेष्ठ, थिएटरमा जमेकी कलाकार पशुपति राई लगायत बाँकी अन्य कलाकारको पनि अभिनय सन्तोषजनक नै देखिन्छ।
जाँदाजाँदै, नमुना-नमुना पात्रहरू एकै ठाउँ भेला हुँदा जे जे हुनसक्छ 'जिग्री'ले त्यही त्यही देखाउने प्रयास गरेको छ। यी हरेक नमुना पात्रहरू सुरुदेखि अन्तिमसम्म एउटै ब्रिफकेसका लागि दौडिन्छन्। कति पात्रहरूको चरित्रमा गहिराइ पुगेको छैन यद्यपि, यी सबै पात्रहरूको उपस्थितिले कमेडीको एउटा पर्फेक्ट सर्कल भने बनाउन सकेको छ। खैर, यो ठ्याक्कै मिलेको विचित्रको गोलो घेरो तोड्नै नसकिने गरी बलियो हुन्थ्यो त फिल्म अझै कति मीठो हुन्थ्यो होला है?
साँच्चै, रोज्नै पर्यो भने तपाईंलाई आलु मनपर्छ कि तामा? यी दुईमा एक रोज्न त गाह्रै पो पर्यो। बरु मलाई त त्यो बहुमूल्य ब्रिफकेसलाई सुटकेसमा हाली हिँड्ने बोडी पो मनपर्यो त!
Shares
प्रतिक्रिया