प्रसिद्ध गायक तथा संगीतकार भक्तराज आचार्य हामीमाझ रहेनन्। अस्पताल लैजाने क्रममा आचार्यले आज (फागुन १४ गते) ८१ वर्षको उमेरमा अन्तिम सास फेरे।
आचार्य विसं १९९९ सालमा धनकुटामा जन्मेका थिए। आचार्यका बुवा बितेपछि २००० सालमा उनको परिवार नै भारतको डुवर्स बसाइँ सरेको थियो। सानैदेखि गायनमा रुचि राख्ने भक्तराजले त्यहीँ शास्त्रीय संगीतको अभ्यास गर्न थाले। विभिन्न सांगीतिक कार्यक्रममा हिन्दी र बंगला भाषाका गीत गाउन थाले।
२०२० सालमा भक्तराज भारतबाट नेपाल फर्के। विष्णुप्रसादको रचना र आफ्नै स्वर/संगीतमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरे। तर, उनलाई रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन। त्यसपछि उनी डुवर्स नै फर्किए।
आचार्यले २०३० सालमा नेपाल आएर पहिलोपल्ट गीत रेकर्ड गर्ने अवसर पाए। जुन गीत थियो: मलाई जीवन चाहिन्छ।
त्यसबाट उत्साहित भएर उनी रेडियो नेपालकै राष्ट्रिय गीत सम्मेलनको प्रतिपर्धामा उत्रिए। भक्तराजले त्यतिबेला अम्बर गुरुङको रचना र संगीत रहेको 'होसियार यसबखत समयको मुखलाई चिन' गाएका थिए। प्रतियोगितामा उनी स्वरतर्फ प्रथम भए।
त्यसपछि भक्तराजको सांगीतिक यात्राले उडान भर्न थाल्यो। थुप्रै भजन गाइसकेका भक्तराजका धेरै कालजयी गीतहरू नेपालीका जिब्रो छन्। जीवन भनुँ त घात छ, मुटु जलिरहेछ, हजार सपनाहरूको माया लागेर आउँछ, जति चोट दिन्छौ, सबै बेहोसी नशा पिएर, जहाँ छन् बुद्धका आँखा लगायत धेरै गीतहरू हरेक पुस्तामाझ उत्तिकै लोकप्रिय छन्।
भजन शिरोमणिको उपाधिसमेत पाएका भक्तराजको निधनसँगै नेपाली सांगीतिक क्षेत्र शोकमा छ। आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
यसैबीच हामीले तीनजना सर्जकसँग ‘स्वर्गीय भक्तराज आचार्यलाई कसरी सम्झनुहुन्छ’ भनेर सोधेका छौँ।
प्रतिमा बनाउने चाहना पूरा भएन: चेतन सापकोटा, संगीतकार
उहाँको निधनले नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति पुगेको छ। उहाँ भजन शिरोमणिका साथै एक प्रखर गायक र संगीतकार हुनुहुन्थ्यो। हामीजस्ता थुप्रै युवालाई काठमाडौं पुर्याउने र गायक बनाउने आवाज हो उहाँ। उहाँहरू भएर नै नेपालमा रेडियो नेपाल स्थापित भएको हो। किनकि, रेडियो नेपालमा उहाँका धेरै गीतहरू रेकर्डिङ भएका थिए।
उहाँलाई अघिल्लो वर्ष संगीतकार संघ, नेपालबाट नेपाली कला तथा संगीत क्षेत्रमा गरेको योगदानस्वरूप सम्मान गरिएको थियो। उहाँकै घर पुगेर नगदसहित सम्मानपत्र हस्तारण गरेका थियौँ।
उहाँले आफ्ना छोराहरूमार्फत् ‘नेपाली संगीत लिपिअनुसार चल्नुपर्छ, नेपाली संगीतको आफ्नै शास्त्रीय विधि छ, त्योअनुसार चल्नुपर्छ ’ भन्ने कुरामा जोड दिनुभएको थियो।
साथै गायकगायिकाहरू गीत गाउँदा उच्चारण शुद्ध गर्नुहुन्न भन्ने कुरा गर्नुहुन्थ्यो। उच्चारणमा ध्यान दिनेदेखि स्वर लिने तरिकामा उहाँले निकै ख्याल गर्न भन्नुहुन्थ्यो।
उहाँसँग थुप्रैपटक बोल्नेदेखि भेट्ने मौका पाएको थिएँ। विडम्बना, हामीले उहाँ जिउँदो हुन्जेल पनि उहाँबाट थुप्रै गुणहरू लिन सकेनौँ। किनकि, उहाँको शारीरिक कारणले जीवित हुँदा पनि सिक्नबाट वञ्चित भयौँ। क्यान्सर भएर जिब्रो काट्दा उहाँ ३० वर्षदेखि केवल दूध पिएर बाँचिरहनुभएको थियो।
उहाँ जीवित छँदै ललितपुरमा उहाँको प्रतिमा स्थापना गर्ने चाहना थियो। हामीले त्यसका लागि सरकारसँग पहलसमेत गरेका थियौँ। वडाबाट सिफारिस लिएर जीवित हुँदा सम्मान दिन मन थियो। तर, त्यो चाहना अधुरै रह्यो।
उहाँको संगीत पाएँ, म भाग्यमानी ठान्छुः नवराज लम्साल, गीतकार
आदरणीय भक्तराज दाइसँग मेरो लामो संगत थियो। म रेडियो नेपालमा जागिरे हुँदा चिनजान भएको थियो। उहाँ पनि गायक/संगीतकारसहित रेडियो नेपालको कर्मचारी। त्यसकारण सहकर्मीको रूपमा एक प्रकारको संगत थियो। उहाँ पुरानो पुस्ताको, म अलि नयाँ पुस्ताको भए पनि हामीबीच खासै ग्याप थिएन।
म रेडियो नेपाल जानुभन्दा अघि नै उहाँको जिब्रोको समस्या भइसकेको हुनाले खुलेर त्यति गफ हुँदैन्थ्यो। मैले चलाएका कार्यक्रम र बोलेका कुरासँग भने उहाँ आकर्षित हुनुहुन्थ्यो। उहाँ रेडियो नेपालमा पेन्सन लिन आउँदा पनि भेटघाट हुन्थ्यो। उहाँका छोराहरू सत्य र स्वरूप साथी भएकाले घर पनि जाने गर्थेँ।
मेरो जीवनकै महत्त्वपूर्ण कुरा, मेरो रचनामा उहाँको संगीत पाएँ। धेरै कालपछि उहाँको जीवनमा आधारित चलचित्र आचार्य बन्यो। त्यो चलचित्रका लागि मैले एउटा गीत र गजल लेखेँ। यी दुवै दार्शनिक खालका गीत छन्। मैले उहाँका लागि गीत तयार गर्नेभन्दा म धक्क फुलेको थिएँ। तर, मनमा डर पनि थियो कि यी गीत सुनाउँदा उहाँले के भन्नुहोला भने।
सत्य र स्वरूपसँग म उहाँको घर गएँ। दुवैले मलाई गीतकार र कविको रूपमा परिचित गराए। उहाँले मेरो गीत राम्रो मान्नुभयो। एउटा कविले लेखेको गीत झन् गम्भीर हुन्छ भनेर प्रतिक्रिया दिनुभयो। त्यो खुसीको क्षण म प्रेमपूर्वक सम्झन्छु।
उहाँले संगीत दिनुभएको गीतमा सत्य र स्वरूपले स्वर भरे। ती दुवै गीतहरू मेरो लागि निकै महत्त्वपूर्ण छन्- एउटा 'आगाको राप जीवन' र अर्को 'पर्खपर्ख खोला पर्ख, म पनि त जाने हो।'
उहाँको संगीतमा मेरा दुइटा रचना रेकर्ड भए, त्यसमाथि उहाँकै जीवनमा बनेको चलचित्रको लागि। त्यस हिसाबले म भाग्यमानी गीतकार हुँ। त्यो मेरो जीवनको खुसीको क्षण हो।
उहाँ एकदमै गहिरो आत्मविश्वास भएको व्यक्तित्व हो। बलियो आत्मसम्मान र कसैसँग नझुक्ने मान्छे हो। जिब्रोको समस्यापछि उहाँ कमजोर र निरीह भएको मैले कहिल्यै देखिनँ। गाउन नसके पनि उहाँले रोनाधोना र पीडा पोखेको देखिनँ।
हरेक भेटमा ऊर्जा दिनुहुन्थ्यो: दीपकराज गिरी, कलाकार
म उहाँ र उहाँको श्रीमती सुशीला भाउजूसँग नजिक थिएँ। भाउजू रेडियो नेपालमै काम गर्नुहुन्थ्यो, एकदमै माया गर्नुहुन्थ्यो।
उहाँ सायद अकाउन्टेन्ट हुनुहुन्थ्यो। नाटकको पैसा लिन जाँदा उहाँसँग भेट भइरहन्थ्यो। जहाँ भक्तराज दाइ पनि आइरहनुहुन्थ्यो। त्यतिखेर उहाँको जिब्रोको शल्यक्रिया भइसकेको थियो।
भेट हुँदा उहाँले अस्पष्ट स्वरमा 'म तिमीलाई टीभीमा हेर्छु, रेडियोमा पनि सुन्छु। तिम्रो अभिनय मन पर्छ' भन्नुहुन्थ्यो। त्यतिखेर म रेडियो नाटकसहित हास्य शृंखला 'ट्वाक्क टुक्क' मा आबद्ध थिएँ।
महिनैपिच्छे रेडियो नेपाल आउने उहाँ मसँग धेरै समय कुरा गर्नुहुन्थ्यो। राम्रो गर भनेर मलाई ऊर्जा दिनुहुन्थ्यो। त्यति ठूलो गायकले संघर्ष गरिरहेको कलाकारलाई दिएको त्यो हौसला कम महत्त्वपूर्ण थिएन। उहाँसँगको त्यो स्मरण यो मनबाट कहिल्यै मेटिन सक्दैन। रेडियो छाडेपछि भने उहाँसँग भेट भएको थिएन।
उहाँका धेरै गीतहरू सबैको रोजाइमा पर्छन्। तर, व्यक्तिगत रूपमा मलाई उहाँको 'सबै बेहोसी नसा पिएर' भन्ने गीत निकै अर्थपूर्ण लाग्छ। अनि अर्को मन पर्ने गीत 'जहाँ छन् बुद्धका आँखा'। यो सभा, समारोहमा धेरै बजिरहने राष्ट्रिय भावनाको गीत हो। म अलि आध्यात्मिक भएकाले थुप्रै भजनहरू सुन्ने गरेको छु।
Shares
प्रतिक्रिया