कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फिल्ममा प्रायः निर्देशक हराउने बताएका छन्।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको 'निर्देशक हराएको सूचना' शीर्षकको अन्तरक्रियामा उनले आफ्ना फिल्म सोसल ड्रामा भएकाले निर्देशक हराउने गरेको सुनाए।
'मैले विभिन्न कमेन्टहरूमा देखिरहेको हुन्छु, नेपाली सिनेमामा निर्देशक देखिँदैन। तर, मचाहिँ के भन्छु भने फरकफरक सिनेमाको फरक जनरा र त्यसलाई बनाउने फरक तरिका हुन्छ। म फिल्म बनाउँदा सोसल ड्रामा बनाउँछु। मेरोमा निर्देशक प्रायः हराउँछ,’ उनले अर्थ्याए, ‘किनभने, मेरो फिल्म हेर्दा यो देखिरहेको र भोगिरहेको हो जस्तो लाग्छ। निर्देशकले केही विशेष गरेजस्तो लाग्दैन। जसकारण इभेन्टको कलेक्सनजस्तो लाग्छ।’
तर, कुनै जनराका फिल्ममा भने निर्देशकको निकै काम हुने उनको बुझाइ छ।
‘फेरि कुनैकुनै जनरामा निर्देशकको असाध्यै काम हुन्छ। सानो कथालाई पनि धागोमा उनेजसरी कति सुन्दर तरिकाले भनेको हुन्छ। त्यसमा पक्कै पनि निर्देशक हराउँदैन,’ उनले प्रस्ट्याउँदै भने, ‘किनकि, त्यो सिनेमाको जनरा नै त्यस्तो हुन्छ। कुनैकुनै यस्तो भइदिन्छ कि त्यहाँ निर्देशक हराएकोजस्तो लाग्छ।’
हुन पनि उनले निर्माण गरेका फिल्ममा निर्देशकभन्दा पनि दीपकराज नै हाबी हुने गरेको आरोप लाग्छ। यसै कुरालाई जोड्दै सहजकर्ता प्रकाश सुवेदीले प्रश्न गरेका थिए।
दीपकराज भने यस भनाइमा सहमत देखिएनन्। आफ्नो फिल्मको क्याप्टेन निर्देशक नै हुने गरेको उनको दाबी छ।
‘फिल्म भनेको टिमवर्क हो,’ निर्देशकको भूमिकाबारे दीपकराजले यसरी व्याख्या गरे, ‘त्यसलाई डोर्याउने त निर्देशकले नै हो। ड्राइभिङ सिटमा नबसे पनि पनि सहचालकले स्लो गरौं, साइट लगाऔं भन्छन्। बाहिरको वातावरण सहचालकले ड्राइभरसँग सेयर गर्छ। सेयर गर्नुको मतलब सहचालक नै ड्राइभर हुनु होइन। फिल्मको ड्राइभर त निर्देशक नै हो।’
एकअर्काको सल्लाह लिन भने निर्देशकले हिच्किचाउन नहुने उनको भनाइ थियो।
‘हामी त कहिलेकाहीँ स्पटमा काम गर्ने प्राविधिकहरूसँग पनि सल्लाह लिइरहेका हुन्छौँ,’ उनले अनुभव सुनाए, ‘हरेक ठाउँबाट सल्लाह लिनेदेखि उक्त सिन राख्ने/नराख्ने भन्ने निर्देशकलाई नै अधिकार हुन्छ। मेरो फिल्ममा पनि लगभग त्यही हो। तर, म उत्कृष्ट फिल्म बनोस् भनेर जहिले पनि निर्देशकसँग नजिक हुन्छु। चाहे त्यो दीपाजी (दीपाश्री निरौला) हो या अरू नै किन नहोस्? म सुरुमै सिनेमा गर्दा तपाईंलाई डिस्टर्ब गरिराख्छु है, चाहे राख्नुस्-नराख्नुहोस् भन्छु। कुनै दृश्य अझै उत्कृष्ट हुन सक्छ कि भनेर सल्लाह दिन्छु। तर, यसको मलतब हस्तक्षेप होइन।’
आफूले हस्तक्षेप नगरे पनि फिल्ममा निर्देशक नाम मात्रको हुन्छ भन्दा दु:ख लाग्ने उनको गुनासो थियो।
‘वास्तवमा त्यो निर्देशकप्रतिको अन्याय हो। सुरुसुरुमा दीपा त नाम मात्रको हो, निर्देशक त दीपकराजको हो भन्थे। यो कुराले दीपाजीलाई जति दुःख लाग्छ, मलाई त्योभन्दा दुई गुणा बढी दुःख लाग्छ।’
उनले फिल्मको निर्माण र निर्देशनलाई फुबटल टिमसँग तुलना गरे। ‘मैदानमा खेलाडीले भन्दा दर्शकले स्पष्ट रूपमा देखिरहेको हुन्छ। यसको मतलब दर्शकले नै फुटबल खेल्ने भन्ने होइन। कहिलेकाहीँ निर्देशकलाई सम्पादकले पनि कति राम्रो सल्लाह दिन्छन्। त्यतिबेला सम्पादकले बनाएको फिल्म हो भन्न पाइँदैन नि,’ गिरीले भने।
पछिल्लो समय विभिन्न कारणले फिल्ममा निर्देशक हराउनुपर्ने बाध्यता रहेको समेत उनले खुलाए।
‘फिल्ममा निर्देशक हराउनेभन्दा पनि सिर्जनशीलता नपुगेजस्तो लाग्छ,’ दीपकराजको बुझाइ छ, ‘म सिनेमा प्रायः हेर्छु। फिल्म बनाउँदा पनि कहिलेकाहीँ म कल्पनाको उडानमा उड्न सक्दिनँ। किनकि, मेरो बाध्यात्मक अवस्था छ। प्राविधिकको रूपमा खुम्चिनुपरिरहेको छ। पहिल्यै बजेट हेरिन्छ। हुन त यसको उत्तर निर्देशकले दिनुहोला। म त फिल्ममेकर हुँ। जसकारण निर्देशकलाई कहिलेकाहीँ खुम्चाइदिन्छु पनि होला।’
त्यसैगरी, अर्का वक्ता निर्देशक रामबाबु गुरुङले नेपाली फिल्ममा निर्देशक हराएको कुरा स्वीकारे।
‘बजारमा के बिकिरहेको छ। स्टारकास्टमा बढी भर पर्यो कि? राम्रो ब्यानर, राम्रो निर्माता, प्राविधिक र स्टारमा भर परेर निर्देशक कहाँ छ भन्ने कुरा भयो कि? यसलाई म स्वीकार पनि गर्छु।’
उनले आगामी दिनमा फिल्ममा आफू पूर्ण रूपमा देखिने कोसिस गर्ने प्रण पनि गरे।
‘एउटा निर्देशक आफ्नो कर्ममा सबै कुरामा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ। तर, फेरि कति हुनुपर्ने भन्ने पनि होला! यो सिर्जनशील काम भएकाले पनि आफूलाई मन लागेको कथा भन्न पाउँछ। तर, त्यत्ति हो, एउटा निर्देशक चाहे राम्रो भनोस् वा नराम्रो भनोस्। तर, त्यहाँ निर्देशकको उपस्थिति भने हुन्छ नै,’ गुरुङले भने, ‘धेरै ठूला च्यालेन्ज लिन गाह्रो हुन्छ। तर, म आफूलाई जुन विषयमा जुन कथामा पुर्याउन सक्छु भन्ने आत्मविश्वास आयो भने काम गर्छु।’
दर्शकको चेतनाले पनि निर्देशकको स्थान निर्धारण हुने उनको भनाइ छ। ‘देख्ने आँखामा पनि भर पर्छ,’ गुरुङले प्रस्ट्याए, ‘दर्शकहरूले कसरी हेरिररहेका छन्, कथालाई, सिनेमालाई? निर्देशकले राम्रो गरेको छ, गरेको छैन भन्ने पनि हुन्छ।’
निर्देशक झरना थापाले फिल्मलाई डोर्याउने मुख्य काम निर्देशकको रहेको बताइन्। उनले भनिन्, ‘कहिलेकाहीँ फिल्ममा क्यामेरापर्सनको धेरै काम देखिन्छ। तर, कहिलेकाहीँ निर्देशकको काम पनि देखिन्छ। समग्रमा भन्नुपर्दा निर्देशकको काम देखिन्छ नै। फिल्मको पूरा टिमलाई र कथावस्तुलाई समेटेर लैजाने घोडा त निर्देशक नै हो।’
‘कहिले त कामको तरिका र मूल्याकंन गरेको तरिकाले क्यामेराम्यान उत्कृष्ट देखिन्छ। कहिले कथा र विषयवस्तु ठिकै हो, कलाकार भएन भन्ने कुरा आउँछ। तर, वास्तवमा जो जसको काम अलिकति माथि देखिए तापनि त्यसलाई लैजाने र बनाउने काम मुख्य निर्देशकको नै हुन्छ।’
Shares
प्रतिक्रिया