कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई 'बाघ' को रुपमा चित्रण गरेका छन्। 'महाजात्रा' को प्रेसमिटमा बोल्दै आचार्यले प्रदीपलाई नेपाली सिनेक्षेत्रमा बाघ भएर निस्किएको प्रतिक्रिया दिएका हुन्।
प्रदीपकै निर्देशनमा बनेको 'महाजात्रा' मा हरिवंशको पनि अभिनय छ। प्रदीपको बारेमा बोल्दै हरिवंश भन्छन्, 'प्रदीप पहिले बिरालो थियो, अहिले त बाघ भएर निस्कियो। अनुहार उस्तै हो। पहिले साइजमा सानो थियो, पछि बाघ भएर निस्कियो। चलचित्र क्षेत्रको बाघ भएर निस्केको छ। तर, हिसांत्मक बाघ भने होइन।'
'जात्रा' बाट फिल्म निर्देशनमा होमिएका प्रदीपले पहिलो फिल्मबाटै निकै चर्चा बटुले। उनको निर्देशन र लेखनमा बनेका जात्रासहित शत्रुगते, जात्रै जात्रा र महापुरुष पनि बक्सअफिसमा सफल बने। सिर्जनशीलता र मेहनतकै कारण प्रदीप यहाँसम्म पुगेको बताउँछन् आचार्य।
'सिर्जनशीलताले प्रदीप यहाँसम्म पुगेको हो। अरुले साथ दिएर एउटा/दुइटा राम्रो होला! तर, प्रदीप भट्टराई जुन बेला महसञ्चारमा प्रवेश गर्यो। त्यसपछि उसको हरेक चिज र बोलेको कुराहरु मदन दाइ र मैले एडप्ट गर्दैँ गयौँ। अनि पाँच/सात दिनमै यो मान्छे ठिक रहेछ भन्ने भयो,' आचार्यले सम्झिँदै भने, ' त्यतिबेला महसञ्चारमा सितिमिति मान्छे भित्रिर्ने चान्स कम हुन्थ्यो। हामी झट्टै अरुलाई विश्वास गर्दैन्थ्यौँ। तर, एक हप्ताभित्रै यो हामीलाई काम लाग्ने मान्छे हो, चाहिने मान्छे हो भनेर उहाँले प्रमाणित गर्नुभयो।'
प्रदीप पहिल्यैदेखि क्रियटिभ व्यक्ति भएको उनले दाबी गरे।
'प्रदीप आएपछि हामीले डाइरेक्सनमा ध्यानै दिन छोड्यौँ। स्क्रिप्ट पनि प्रदीप यसरी बनाउनू भनेर जिम्मा लगाउन थाल्यौँ। ऊ पहिलेदेखि नै क्रियटिभिटी एकदमै भएको मान्छे हो। अहिले त प्रमाणित नै भइसक्यो। प्रदीप क्रियसनसहित कमान्ड र मेकिङमा पोख्त मान्छे हो।'
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदीप आफ्नो गुरु मान्छन्। मह सञ्चारबाट प्रदीपले आफ्नो फिल्मी करिअर अघि बढाएका थिए। यसअघि मह सञ्चारबाट बनेको फिल्म ‘शत्रु गते’ को निर्देशक पनि उनी नै थिए। साथै प्रदीपले हरिवंशलाई लिएर गतवर्ष 'महापुरुष' मा बनाएका थिए। जुन फिल्म बक्सअफिसमा हिट भएको थियो।
चैत ९ गतेबाट रिलिज हुने 'महाजात्रा' मा हरिवंशसहित विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, दिव्य देव, रवीन्द्र झालगायतको अभिनय छ।
Shares
प्रतिक्रिया