शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'बद्री बहादुर' प्रदर्शनको तयारीमा छ।
यही चैत २३ गतेदेखि प्रदर्शन गर्ने तयारी रहेको यस फिल्मलाई भारतीय कमेडियन कपिल शर्माले प्रचारमा सघाउने बताएका छन्।
निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए। त्यही क्रममा उनी कपिल शर्माको 'द कमेडी नाइटस विथ कपिल शर्मा शो'को सेटमा पुगेका थिए।
सोही क्रममा कपिलले फिल्मको प्रचार गर्ने वाचा गरेका हुन्। कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतले दाबी गरे।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन्। रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
यस फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ।
त्यसैगरी पूजा शर्मा र सलोन बस्नेतसहित निर्देशक बस्नेत स्वयंम विशेष भूमिकामा देखिएका छन्।
आउँदो बिहिबार फिल्मको ट्रेलर सार्वजनिक गरिनेछ। रामकाजी घिमिरेले लेखेको फिल्म विनोद सापकोटाले खिचेका हुन्।
काठमाडौँ, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
Shares
प्रतिक्रिया