‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’को छायांकन सुरु भएको छ।
वर्तमान नेपाली समाजको यथार्थ चित्रण गरी बन्न लागेको चलचित्रको छायांकन बिहीबार ललितपुरस्थित संखमूलबाट सुरु गरिएको हो।
चलचित्र काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायांकन हुनेछ।
डेढ वर्षदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण हुन लागेको हो।
निर्देशक भट्टराईका अनुसार सुविधाका नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउनेछ।
एउटा राम्रो अर्थपूर्ण फिल्मका लागि ‘झिल्को’ बनाउन लागेको उनले बताए।
थुप्रै म्युजिक भिडिओ निर्देशनपछि भट्टराईले ‘झोला’मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए।
यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो।
झोलापछि सन् २०१९ मा भट्टराईले दाइजोविरोधी चलचित्र 'भोर' सार्वजनिक गरेका थिए।
फिल्ममा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायतको अभिनय रहनेछ।
'झिल्को’को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित कवि देवव्रत र अरुणदेव जोशीले तयार पारेका हुन्।
दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्लेको संगीत फिल्ममा रहनेछ।
Shares
प्रतिक्रिया