सेता लुगा रंगिएका छन्। झुण्डझुण्डमा मानिस भेला भएका छन्। कतै युवायुवती त कतै वृद्धवृद्धा। होलीको हर्षोल्लास छ। युवायुवतीदेखि वृद्धसम्म अहिले होली गीतको नयाँ भाकामा झुमेका छन्।
होली खेल्नेमाझ यो भाका लोकप्रिय बनेको छ। देउडा गायक चक्र बमले पहाडी समुदायले होलीमा गाउने शब्द र तराईका रानाथारु समुदायले गाउने मौलिक होलीका शब्दलाई मिसाएर सार्वजनिक गरेको ‘कति राम्रो होली’ गीत चर्चामा छ।
सुख शान्त होइजाऔँ देश नेपाल
रोजगारी आइजाऔँ आँगनमा, कति राम्रो होली फागुनमा
युवा फर्काइदेऊ आँगनमा, कति राम्रो होली फागुनमा
आफ्नै युट्युब च्यानलबाट एक साताअघि सार्वजनिक उक्त गीतको म्युजिक भिडिओ १२ लाखभन्दा बढी पटक हेरिएको छ। सुदूरपश्चिमको पहाडी समुदाय र कैलाली–कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायको मौलिक पहिरनमा म्युजिक भिडिओ तयार गरिएको छ।
गीतमा चक्र बमलगायतको स्वर छ। रानाथारु शब्दमा नारायण रानाले सघाएका छन्। एरेन्ज केशव बडूले गरेका हुन्। होलीलाई लक्षित गर्दै सार्वजनिक गीतले चर्चा बटुलेपछि चक्र भन्छन्, ‘मौलिक सिर्जनालाई देखाएको अपनत्व हो, आत्मियता हो।’
सुदूरपश्चिमका मौलिक भाकालाई टिपेर युवा पिढीले रुचाउने किसिमका सिर्जना गर्ने सर्जकको छवि बनाएका छन् चक्रले।
बम सुदूरपश्चिमको भाषालाई देशव्यापी चिनाउन तल्लीन छन्। तीन वर्षअघि डोटेली भाषामा ‘ओइ काजल’ गीतले चक्रको चर्चा चुल्याएको थियो।
बाल्यकालमा सुनेका सुदूरपश्चिमको पहाडी जिल्लाका भाका र तराईमा बसोबास गर्ने रानाथारु समुदायको भाकालाई मिलाएर गीत बनाउने पुरानो इच्छा पूरा भएको चक्र बताउँछन्।
लोप हुँदै गएको पहाडी समुदाय र रानाथारु समुदायको फरक भाषा लवजलाई मिलाएर पस्किएको उनले बताए।
‘पुर्ख्यौली घर पहाड भए पनि जन्मे हुर्केर तराई (कैलाली) हो। त्यसैले दुवै संस्कृतिलाई नजिकबाट नियाल्न पाएको छु। छुट्टाछुट्टै गीत बनाउनुभन्दा दुवैलाई एउटै ट्रयाकमा बाँधेर लामो गीत बनाउने कोसिस गरेँ,’ उनी भन्छन्, ‘धेरै वर्षअघिदेखि नै योजना बनाइरहेको थिएँ। दुवै समुदायको होली गीतको शैली लगभग उस्ताउस्तै हुनाले एउटै बाँध्न सजिलो भयो।’
सुदूरपश्चिमभित्रका भाकालाई फ्युजन गरेर आफ्नै शैलीमा प्रस्तुत गर्ने चक्र आफै मोडलिङ पनि गर्ने गर्छन्।
‘विगतदेखि नै एकअर्का समुदायको भाकालाई एउटैमा जोड्ने प्रयास गरिरहेको छु। होली गीतको अडिओ र भिडिओमा दुवै समुदायको मौलिक संस्कृति पस्किएँ। निकै मन पराइदिनुभएको छ,’ उनी भन्छन्।
Shares
प्रतिक्रिया