नेपाली चलचित्र ‘बलिदान’ मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छिन्। फिल्ममा मुख्य भूमिकामा शर्माले अभिनय गर्ने पक्का भएको हो।
फिल्ममा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको यस फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए। शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन्।
‘बलिदान’ बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन्। समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा चर्चित बिराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको यस फिल्मको टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्मको निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी हुन्। यस फिल्मलाई आगामी वर्ष २०८१ मा रिलिज गर्ने योजना छ।
Shares
प्रतिक्रिया