सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनको वकिलले यसको पुष्टि गरेका छन्।
सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई इरानी र्यापर तमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए।
सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनले उक्त सजायविरुद्ध अपिल गर्नेछन्।
यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सालेही पहिलोपटक सन् २०२२ अक्टोबरमा पक्राउ परेका थिए। त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए। उनीविरुद्ध धेरै आरोप लागेका थिए।
जुलाई २०२३ मा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो।
तर यस वर्ष जनवरीमा इस्फाहानको क्रान्तिकारी अदालतले सालेहीविरुद्ध नयाँ आरोप लगाएको उनका वकिलको भनाइ छ।
अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अपप्रचार र दंगा भड्काउनेलगायत कैयौँ अभियोगमा दोषी ठहर गरेको छ।
अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपिल गर्न २० दिनको समय छ।
Shares
प्रतिक्रिया