यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा २०८१ सालको पहिलो नेपाली सिनेमा 'बोक्सीको घर' प्रदर्शनरत छ। केकी अधिकारीको मुख्य भूमिका रहेको यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन्। बोक्सीको अस्तित्वलाई कानुनी रूपमा नेपालको संविधानले मान्यता दिँदैन। यद्यपि, आज पनि देशका विभिन्न ग्रामीण क्षेत्रमा बोक्सीको अवधारणा जिउँदै रहेको समय-समयमा बाहिरिने समाचारहरूले बताइरहेकै हुन्छन्।
एकातिर कसैलाई बोक्सीको आरोप लगाउनुलाई अपराध मान्न थालिएको छ भने अर्कोतिर अवचेतन मनको शक्तिले यथार्थमा इच्छानुसारको प्रभाव पार्न सकिन्छ भन्ने तर्कलाई पुष्टि गर्न विज्ञान (क्वान्टम फिजिक्स) समेत लागिपरिरहेको छ। यसरी विचार र चेतनाले विभक्त युगमा सुलक्षण भारती र टिमले 'बोक्सीको घर' सिनेमा बनाउनु युगसान्दर्भिक लाग्छ। आउनुस्, अहिलेलाई भने 'बोक्सीको घर'भित्र छिरौँ। त्यहाँभित्र के रहेछ, बुझौँ।
कथा
आजभन्दा ठिक ३० वर्षअघिको कुरा हो। सानी जुनुलाई ठूलो भएर, धेरै पढेर पत्रकार बन्न मन छ। त्यसपछि गाउँ आएर कथाहरू लेख्न मन छ। तर, उसलाई विवाह गरेर पराइघर पठाइन्छ। भोलिपल्ट ऊ रगतपच्छे भएर माइत फर्किन्छे। त्यसपछि ऊ माइतमै बसेर पुन: पढ्न थाल्छे। के ऊ धेरै पढेर पत्रकार बन्ली त? कथा लेख्ली त?
त्यसो त प्रश्नहरू आउँदै रहलान्। उत्तर पनि भेटिँदै गर्लान्। बरु सबैभन्दा पहिला फिल्मको सुरुवातमा के हुन्छ हेरौँ। अँध्यारो रातमा ठूलो डरलाग्दो पिपलको रूख हुँदै एउटी पत्रकार गाउँ छिर्छे। ऊ यो गाउँमा कथा लेख्न आएकी हो। त्यही गाउँभित्रैको एउटा कथा।
यसो भनौँ फिल्मले जुनु पत्रकार बन्ली या त पत्रकार जुनु बन्ली भन्ने प्रश्नको रहस्य र अत्यासको कथा भन्छ। चौतारामा जुगौँदेखि उभिएको कौतुहल र डरको कथा भन्छ। पिपलको रूखको कथा भन्छ।
कथावाचन
ब्याक एन्ड फोर्थ गर्दै नन लिनियर शैलीमा कथा भन्ने यो फिल्ममा घरी क्यामरा कथावाचक बन्छ त घरी पात्र। फिल्मको पहिलो हाफ बिस्तारै हिँड्छ तर, ठमठम्ती बलियो पाइला चाल्दै हिँड्छ। दोस्रो हाफ भने हतार गरेर हिँड्छ तर पाइला दह्रो टेकिएजस्तो लाग्दैन। लरबरिँदै हिँड्छ। दर्शकको हृदयमा फिल्मको पहिलो हाफले रहस्य र दोस्रो हाफले अत्यास जगाउन खोजेको महसुस हुन्छ।
पटकथा
नाटकबाट झण्डै एक दशकपछि चलचित्र रूपान्तरण भएको यस फिल्मको कमजोर पाटो हो, पटकथा। त्यसो त पटकथामा धेरै कुरा लोभलाग्दोसँग उतारिएको छ। यद्यपि, समग्रमा यसले कथाको प्रस्तुतीकरणलाई न्याय गर्न सकेको छैन। पिपलको रूखलाई बोक्सीको घरको रूपमा स्थापित गराउन शिक्षक र विद्यार्थीको परिकल्पनालाई पटकथामा राम्रोसँग उतारिएको छ। जुनु र रविबीचको दोस्ती, जुनुको आमासँगको सम्बन्ध, जुनुको सपना र उसको सपनासँग हुने खेलबाड, उसको समग्र अस्तित्वसँग हुने खेलबाड! पटकथाले कथालाई पटक्कै न्याय नगरेको होइन। तर, कहाँनेर चुक्यो त?
फिल्मको सुरुवातमै सहरबाट एउटी पत्रकार आउँछे, कथा लेख्न भनेर। यता जुनु पत्रकार बनेर गाउँ फर्केर कथा लेख्ने सपना देख्छे। यसरी समानान्तर रेखामा यी दुवैको कथा भन्दै फिल्मले एउटा रहस्य पैदा गर्न खोज्छ। आंशिक नै सही, एक मन त दर्शकलाई लागिदिन्छ पनि कतै जुनु साच्चिकै त आइन कथा लेख्न? पत्रकार बनेर! तर, यो रहस्यको सिलसिला धेरै तन्किँदैन। अलि पर पुगेसँगै दुई रेखाहरू समानान्तर रहिरहँदैनन्। ठोक्किन्छन् र एउटा भ्रम टुट्छ। यो भ्रम टुटिसकेपछि समेत पटकथा भने यसरी बुनिन्छ, मानौँ अझै केही ठूलै रहस्य बाँकी छ।
कलात्मक बन्ने लोभमा हो या पात्रको मनस्थिति व्यक्त गर्ने अन्य शैली नभेटिएर हो, दुई जुनुलाई अन्तिमसम्मै रहस्यात्मक तरिकाले देखाइन्छ। एउटा बिन्दुसम्म त ठिकै हो तर, अन्तिमसम्म त्यसैगरी पटकपटक देखाइरहँदा त्यसले दर्शकभित्रकी अबोध जुनुमा ठूलो हाउगुजी जन्माइदिन्छ। यद्यपि, फिल्मको अन्तिमसम्म दर्शकको मनभित्र जिन्दगी पढिसकेकी जुनुलाई केही रहस्य बाँकी रहेनछ है भन्ने स्पष्ट भइरहँदा दोहोर्याई, तेहेर्याई देखाइएका ती दृश्य एउटा खोक्रो ढोङ नलाग्ला भन्न सकिन्न।
यस्तै, पिपलको बोटमा भेटिने (त्यस्ता पात्र त जुगौँदेखि बस्थे होलान्) त्यो निश्चित पात्र त्यहाँ, त्यसरी कहिलेदेखि बस्दैछ? अनि, जुनु र जुनुकी आमाको सम्बन्ध सकिइसकेको हो? पत्रकारको त्यो रूपान्तरण विश्वसनीय छ त? फिल्मलाई एउटा घर मान्ने हो भने त्यस घरको छानोमा यस्ता यावत् प्रश्नले प्वाल पार्दा ती प्वालबाट पटकथा चुहिरहेको महसुस भइदिन्छ। ती प्वालहरू टालेर हेर्ने हो भने फिल्म राम्रो बनेको हो।
पात्र
फिल्मको प्रमुख पात्र हो जुनु! जुनु, जो सानैदेखि पत्रकार बन्न चाहन्छे। लोग्नेलाई दाइ भन्ने अबोध बालिका जुनुलाई पत्रकार बन्ने सपना कसले र कसरी भरिदियो? फेरि सहरबाट पत्रकारिता पढेर गाउँ आएरै कथा लेख्नुपर्छ भन्ने प्रगतिशील चेतना त्यो अबोध बालिकामा कसरी आयो? आउन सम्भव हुन्छ, तर कसरी सम्भव भयो देखाउन असम्भवचाहिँ नहुनुपर्ने हो।
जुँगे दाइ, जो वैवाहिक संस्थाको आडमा एउटी ७/८ वर्षीया बालिकाको बलात्कार गर्नसक्छ। यस्तो हिंस्रक मानसिकताको पात्र अचानक बाबु र आमाको कुरा काट्दै स्वास्नीको हकका लागि बोल्छ। त्यसो त यी दुई दृश्यका बीच अन्दाजी ७/८ वर्षको अन्तराल छ। तर, अन्तरालमा के के भयो र ऊ यसरी फेरियो? एउटा हिंस्रक मानसिकताको मान्छे आखिर दयालु र मायालु कसरी भयो? प्रश्न छ, उत्तर छैन।
एउटी पत्रकार जो शिक्षित छे, जो शिक्षित युवाहरूको पनि नेतृत्व गर्न सक्षम छे, जोसँग आवाज छ र आवाज पोख्ने माध्यम छ। ऊ जुनुजस्तो परिबन्दमा छैन। जुनु पो आफ्नाहरूबाटै लुटिई, बहिष्कृत र तिरस्कृत भई। जुनुसँग पो उसलाई विश्वास गरिदिने कोही भएन। उसँग त उसलाई विश्वास गरिदिने कोही छ। उसको जाने आफ्नो ठाउँ छ। अब त झन् जुनुको निर्दोषीको प्रमाण ऊ आफू स्वयं भइदिएकी छे। समाजको दोषको जिउँदो सबुत स्वयं भइदिएकी छे। यहाँनेर उसले पनि मानसिक सन्तुलन गुमाउनु कलात्मक त लाग्छ तर, पाच्य लाग्दैन।
समाज र नारी
प्रस्तुतीकरणमा अस्पष्टता हुँदै गर्दा पनि फिल्मले जुगौँदेखि चलिआएको सामाजिक विकृतिको भण्डाफोर गरेको छ भने विकृत समाजमाथि दह्रो झापड हानेको छ। पितृसत्तात्मक समाजभित्र छोरी मान्छेले भोग्ने पीडा देखाउँदै गर्दा फिल्मले छोरा मान्छेको मनोविज्ञान पनि केलाउन भ्याएको छ। चाहे त्यो मायालु फुच्चे रवि होस् या फेरि वयस्क जुंगे दाइ, जुनुलाई अँगालो मार्नु उनीहरू आफ्नो हक सम्झिन्छन्। तर, जुनुबाट अँगालिनु आफ्नो मानमर्दन।
अनि, शिक्षाको मुहान विद्यालय, ज्ञानका ज्योति गुरु आफैँ पनि बोक्सीको अस्तित्वमाथि अन्धविश्वासी भएको देखाइरहँदा फिल्मले नेपाली समाजको शैक्षिक गुणस्तरमाथि समेत कटाक्ष गर्न भ्याएको छ। के हाम्रा विद्यालयमा पाठ्यक्रमको साथसाथै शिक्षकको गुणस्तर पनि युग सुहाउँदो छ त? के शिक्षकहरूबाट छात्राहरू सुरक्षित छन् त? आफ्नो हात र उत्तेजना सम्हाल्न नसक्ने शिक्षकले विद्यार्थीको भविष्यको जिम्मेवारी निभाउन सक्लान् त?
पुरुष त पुरुष भए, महिला स्वयं पनि महिलाको पीडा किन बुझ्दैनन्? जवाफ नभेटिए पनि कतै संकेत र कतै संवादमै पनि फिल्मले यो प्रश्न उठाएको छ। जवाफ सायद दर्शकले आफूमै खोज्नुपर्नेछ। आत्मसमीक्षाको लागि घच्घच्याउन सक्नु पनि फिल्मको एउटा सार्थक पक्ष हो।
त्यसो त फिल्मको क्लाइमेक्स विश्वसनीयताको हिसाबले डगमग लाग्छ। यद्यपि, उक्त दृश्यले बिम्बात्मक शैलीमै भए पनि समाजको तितो यथार्थमाथि ढुंगा हानेको छ। पढ्न नपाएका छोरी मान्छे मात्र होइन, विकृत पितृसत्तात्मक समाजले पढेलेखेका सक्षम छोरी मान्छेलाई समेत बाँच्नलायक छोडेको छैन।
प्रविधि
फिल्ममा क्यामराको काम सन्तोषजनक नै लाग्छ। कतै आँखा बिझाउने गरी खिचिएको दृश्य याद आउँदैन। मुटु बिझ्ने दृश्य अवश्य छन् तर ती प्रविधिको पाटोमा पर्दैन। एउटा ठाउँमा खिचिएको अपसाइड डाउन सटलाई भने दर्शकले हलबाट निस्किसकेर पनि याद गर्नसक्छन्।
फिल्मका कतिपय ठाउँमा प्रयोग गरिएका कुनै कुनै ध्वनिले भने दर्शकमा जगाउन खोजेको संवेदना जगाउन नसकेको हो कि? त्यस्तो स्थितिमा ध्वनिको कामले भने दर्शक झिँजिन सक्छन्।
प्राविधिक पाटोमा फिल्मको सबैभन्दा राम्रो पक्ष सम्पादनमा देखिएको छ। एउटा सिक्वेन्सबाट अर्को सिक्वेन्समा जाँदा एक किसिमको दृश्यविन्यास देख्न सकिन्छ। यो खालको अभ्यास नेपाली सिनेमामा दुर्लभ नै देख्न पाइन्छ।
अभिनय
अभिनयको कुरा गर्नुपर्दा मुख्य पात्रमा केकी अधिकारीले अब्बल काम गरेकी छन्। एउटा विकृत मनस्थितिलाई शरीर र अनुहारबाट व्यक्त गर्न उनी सफल छिन्।
जुनुको भूमिकामा सुफला सापकोटाको अभिनय प्राकृतिक लाग्छ। त्यसो त कतिपय खस्रा पात पनि पछि गएर चिल्लो वा अन्यभन्दा चिल्लो हुन पनि सक्छन्। यद्यपि, 'हुने बिरुवाको चिल्लो पात' भन्ने उखान पुरानो हुँदैन भने बालकलाकार सुफला पनि एउटा चिल्लो पात हुन्। नेपाली सिनेजगतमा उनी हुने/भइरहने बिरुवा हुन्।
जुंगे दाइको भूमिकामा देखिएका लेखक/निर्देशक सुलक्षण भारतीको काम पनि प्रशंसायोग्य नै लाग्छ। पत्रकारको भूमिकामा देखिएकी स्वेच्छा राउतको अभिनय सन्तोषजनक नै लाग्छ।
जुनुकी आमाको भूमिकामा सेबिता अधिकारीको अभिनय जीवन्त लाग्छ। त्यसो त उनको पात्र मनमा एकथरी राखेर मुखले अर्काथरी बोल्छे। तर, जुनुलाई थप्पड हान्दा होस् या अङ्कमाल गर्दा, एकान्तमा रुँदै गर्दा होस् वा टोलाइरहँदा, उनको अभिनय यस्तो छ, उसले नबोलेका शब्दहरू पनि दर्शकले टड्कारो सुन्न सक्छन्। अभिनय चिन्ने दर्शक हलबाट बाहिरिँदै गर्दा भविष्यमा उनलाई केन्द्रीय भूमिकामा देख्न पाउने लोभसहित बाहिरिनेछन्।
सासु आमाको भूमिकामा रमा थपलिया सदाबहार लाग्छिन्। साथै, सुष्मा निरौला, सविन बाँस्तोला, जीवन बराल लगायतको अभिनय पनि सन्तोषजनक नै लाग्छ।
कथार्सिस
अब एकैछिन कथार्सिसको कुरा गरौँ। कथा सुन्दै/हेर्दै गर्दा दर्शक पात्रसँग एकाकार हुन सक्नुलाई कथार्सिस भनिन्छ। दर्शकलाई, 'ओहो! यस्तै त हुन्छ नि।' अथवा, 'म यो महसुस गर्न सक्छु' लाग्नु नै कथार्सिस हुनु हो।
कथा भन्ने काइदामा घरी मुख्य पात्रसँग जोडिने त घरी अर्कै दुनियाँमा भड्किने गर्दैगर्दा अहिलेको पुस्ता जसले बोक्सी प्रथा सुनेका त छन्, प्रत्यक्ष हेरे-भोगेका छैनन्, उनीहरू केन्द्रीय पात्रसँग संवेदनात्मक रूपमा एकाकार हुन सक्दैनन्। समाजले बनाएको बोक्सीको अवधारणाका कारण निर्दोष महिला कसरी प्रताडित भएकी छे भन्नेतर्फ केन्द्रित नभएर समाजले 'बोक्सी' बनाएको पात्रको माध्यमबाट 'समाजमा बोक्सीको अवधारणा कसरी र किन बन्न गयो? कसरी निरन्तरता पाइरहेको छ?' भन्नेतिर फिल्म बढी केन्द्रित देखिन्छ। जसकारण फिल्ममा केन्द्रीय पात्र त छ तर पात्रमा फिल्म केन्द्रित छैन। पात्रको पीडा उजागर गर्न फिल्म केन्द्रित छैन। फिल्म पात्रको माध्यमबाट समाजको अपराध भण्डाफोर गर्नमा केन्द्रित छ।
यसले दर्शक र पात्रबीच एउटा पर्खाल उभ्याइदिएको छ। पर्खालको वारपार बसेर पात्र र दर्शक एकअर्कालाई सुन्न त सक्लान्, पर्खाल होचो भए हेर्न, छुन पनि सक्लान्। तर, एकअर्कालाई ग्वाम्ल्याङ्ग अँगालो हाल्न सक्दैनन्।
जाँदाजाँदै, समाजमाथि दरिलो झापड हान्दै गर्दा पनि बजार (बहुसंख्यक दर्शक) र कला (सीमित दर्शक)बीच कतै फसेको सिनेमा हो 'बोक्सीको घर'।
त्यसो त केही हप्ताअघि प्रदर्शन भएको 'रातो सुटकेस'ले म्याजिकल रियालिजम प्रयोग गरेरै यथार्थपरक कथा भनेको हो। अनेक बिम्ब त्यसमा पनि प्रयोग भएका थिए। तर, रातो सुटकेस आफ्ना दर्शक सीमित छन् भन्नेमा सुरुवातदेखि नै स्पष्ट लाग्छ। बोक्सीको घर मास अडियन्समै केन्द्रित देखिन्छ। त्यसो त, मास अडियन्सका लागि बनेको फिल्ममा बिम्ब हुनु नपर्ने भन्ने पनि होइन। गत साल सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली' यथार्थपरक कथामा सिधा र प्रस्ट भाषामा बनेको बिम्बात्मक सिनेमा हो जसलाई मास अडियन्सले पनि उत्तिकै रुचाएका थिए। तर, बोक्सीको घरमा यी दुई पक्षबीच तालमेल नमिलेको हो कि?
कलाचेत भएका सीमित दर्शकसँग अन्य चेत पनि हुन्छ। विद्रोही चेत पनि हुन्छ। तिनलाई पत्रकार पात्रको नेगेटिव आर्कले पक्कै बिझाउनेछ। र सिधा कुरा, प्रस्ट विचार मनपराउने मास अडियन्सले भने फिल्मको बिम्बात्मक क्लाइमेक्स मन पराउने कि मन नपराउने? कसरी बुझ्ने? भन्ने अन्योलमै सिटबाट उठ्नुपर्नेछ।
खैर, फिल्मले आवश्यक विषयवस्तुमाथि कथा भन्ने एउटा इमानदार प्रयास भने गरेकै हो।
Shares
प्रतिक्रिया