नेपाल कृषिप्रधान देश हो। त्यसमध्ये पनि नेपालको तराई सबैभन्दा उर्बर भूमि हो। परापूर्व कालदेखि नै हरेक नेपालीले पढ्दै, सुन्दै र दोहोर्याउँदै आइरहेको कुरा हो यो। नेपालभित्र मात्र नभएर यस उक्ति विश्वभर समेत चर्चित छँदैछ। खैर, यतिबेला कृषिले भन्दा बढी नेपाललाई रेमिट्यान्सले चिनाउन थालेको हो कि? यो डर पनि बढ्दो छँदैछ। वैदेशिक रोजगारीमा जानेको मात्र नभएर बाकसमा स्वदेश फर्किनेहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भइरहँदा रेमिट्यान्सको सट्टा कृषिको पल्ला भारी भएमा देशको भलो हुने कुरा नागरिक र सरकार दुवैलाई थाहै छ।
हरेक नेपाली विदेशबाट फर्किँदा स्वदेशमै केही गर्ने आशा र उत्साह लिएर फर्किन्छ। त्यसो त नेपाल सरकारले पनि देशमै रोजगारीको सिर्जना गर्नका लागि अनेक परियोजना ल्याएका समाचार सुन्न पाइएकै हुन्छ। तर, ती स्वदेश फर्किएका युवाहरू किन फेरि पनि विदेश नै उड्न विवश भइरहेका छन्? सरकार र नागरिकबीच आखिर कहाँनेर, कत्रो खाडल छ र एउटै आस्था लिएर पनि यी दुईको भेट हुन सकेको छैन? कि सरकारले यो सबै देखिरहेकै छैन? या फेरि देखेर पनि चुप छ? या बुझिरहेको छैन? अनिल कुर्मीद्वारा लिखित एवं निर्देशित लघु चलचित्र 'फेरा'ले यस्तै एउटा दीर्घ-बहसको विषयलाई मिहीन ढंगले उठाएको छ। केही महिनाअघि सम्पन्न १३औं नेपाल युरोपियन युनियन फिल्म फेस्टिवलका लागि आवेदन गरिएका ५२ लघु चलचित्रमध्येबाट छानिएका उत्कृष्ट ११ चलचित्रभित्र पर्न सफल यो फिल्मको कथा र प्रस्तुतीकरणबारे कुरा गरौँ न त।
एउटा किसानको छोरो 'भगत', कोरोना महामारीपछि भाग्यले बचेर स्वदेश फर्किएको छ। उसँग तराईमा थोरै जग्गा छ। साहुसँग ऋण लिएर उसले जग्गाको आधा भागमा 'फूलगोभी' लगाएको छ र बाँकी आधा भागमा 'बन्दागोभी'। कोभिड-१९ पछि स्वदेश फर्किएका ऊजस्तै युवालाई लक्षित गरेर सरकारले पुन:एकीकरण अभियान उद्घोष गरेको छ। रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याए स्वदेश फर्किएका युवालाई पालिकामा आवश्यक कागजात बुझाई साझा कार्यालयबाट अनुदान प्राप्त गर्न सकिने भनेर आह्वान गरेको छ सरकारले। आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गरी उत्साहित ऊ एकदिन अनुदानको मल ल्याउने आशामा साइकल डोहोर्याउँदै साझा कार्यालय पुग्छ।
विदेश नै नगएको युवाले अनुदानको मल लगिसक्छ तर, उसको त सूचीमा नाम नै भेटिँदैन। समाधान खोज्न उसलाई वडा कार्यालय पठाइन्छ। तर, वडाले भनिदिन्छ- यो त हाम्रो काम नै होइन, पालिका कार्यालय जाऊ! पालिका पुग्दा उसलाई फेरि वडातिरै फर्काइन्छ। वडाले फेरि पालिका र पालिकाले फेरि साझा! आफैले घिसारी हिँड्ने उही साइकलको पाङ्ग्राजस्तै फेरा हालिरहन्छ ऊ- यताबाट उता, उताबाट यता, यताबाट उता र फेरि ... यसरी फेरा लाउँदालाउँदै अन्तिममा मेयरको कार्यालय पुग्छ ऊ। अनुदान त उसले त्यहाँ पुगेर पनि त पाउँदैन। तर, केही त पक्कै पाउँछ। के पाउँछ? धोखा!
हो, अनुदान पाउने आशामा सरकारको दैलोदैलो चहार्दै हिँडेको ऊ मेयरको कार्यालयबाट बेइमानी लिएर फर्किन्छ। स्थानीय सरकारमा त विपक्षी दलको हालीमुहाली रहेछ। त्यहाँ कागजात भएर नपुग्दो रहेछ। सरकारको पक्षमा भोट चाहिने रहेछ। साँच्चै? के जनताले प्रतिपक्षी हुन पाउँदैन? या फेरि स्वतन्त्र बस्न पाउँदैन? के सरकारले हेर्ने आफूलाई भोट हाल्ने नागरिकलाई मात्रै हो? सरकार कहिलेदेखि यसरी व्यापारी बन्न थाल्यो? अब ऊ कहाँ जाओस्? साहुको ऋण कसरी तिरोस्? मल हाल्न नपाउँदा उसले गोभीहरू कसरी फलाउला? गोभी नफलाए बच्चा र जहानलाई के खुवाउला? भएको घरबारी पनि साहुले उठाइदियो भने परिवारलाई कहाँ बसाउला?
यस्तो अवस्थामा विदेशबाट सीप, जोस र जाँगरसहित स्वदेश फर्किएको युवा फेरि पनि विदेश नै फर्किन बाध्य छ। स्वदेश-विदेश, विदेश-स्वदेश गर्दै फेरि पनि स्वदेश छोडेर विदेश नै पुग्ने गरी भगतहरू अविरल फेरा हालिरहन्छन्।
फिल्मको कथाजस्तै यसको दृश्य भाषा पनि सटीक र सुन्दर गरी बुनिएको छ। सुरुवाती दृश्यमा पृष्ठभूमिमा समाचार बजिरहेको छ। सरकारले अनुदान योजना ल्याएको समाचार सुन्दै भगत र उसकी जहान विमला एउटा सानो पुल तर्दै गरेको देखिन्छ। यो दम्पतीलाई जीवनले फड्को मार्न अझै त्यति लामो र अफ्ठ्यारो यात्रा गरिरहनुपर्छ झैं लाग्दैन।
उनीहरू सोच्छन्, सुखका दिन अब त्यति टाढा छैनन्। सरकारले भरोसा जो दिलाएको छ। लगत्तै, क्यामराले उनीहरूलाई पृष्ठभूमिमा धकेल्दै समाचार बजाइरहेको रेडियोको क्लोज अप शट लिन्छ। यसो हुँदा रेडियोले बजाइरहेको सरकारको अनुदान योजनाप्रति दर्शक टड्कारो रूपमा चाख लिन पुग्छन्। जसले गर्दा भगत र विमलाको उत्साहसँग दर्शक सहजै एकाकार भइदिन्छन्। सिनेम्याटोग्राफीको यो काइदाले फिल्मको दृश्य भाषालाई बलियो बनाउन सहयोग गरेको छ।
मूख्य भूमिकामा आफू स्वयं देखिएका निर्देशक कुर्मीले स्थानीय सरकारमा लाटासोझा जनताले भोग्दै आइरहेको फोहोरी राजनीतिलाई अति सरल ढंगमा स्पष्ट चित्रण गरेका छन्। त्यसो त मात्रै ९ मिनेट ४ सेकेन्डको यो छोटो फिल्ममा पनि कुर्मीले बिम्बको प्रयोगमार्फत् पात्रको मनस्थिति र देशको अवस्थाको सटीक चित्र उतारेका छन्। वडादेखि पालिका र पालिकादेखि वडा धाउँदाधाउँदा हैरानिएको युवक अँध्यारो भित्ताको अघिल्तिर त्यही भित्ताजस्तै सपाट अनुहार बोकेर सोचमग्न देखिन्छ। उसको मनस्थिति चित्रण गर्न निर्देशकले भित्तामा झुण्डिएको झोलाको प्रयोग गरेका छन्। एउटा पुरानो झुत्रे झोला, जुन नेपाली झण्डाजस्तै त्रिभुज आकारमा छ, घडीको पेन्डुलमजस्तै हल्लिरहेको छ- दायाँ, बायाँ, दायाँ, बायाँ ... किसानी या रेमिट्यान्स? स्वदेश या विदेश? भगतको मनस्थिति पनि त्यही झोलाजस्तै पेन्डुलम भइदिएको छ।
अर्को ठाउँमा, उबडखाबड बाटोमा साइकल डोहोर्याउँदै भगत हिँडिरहँदा पृष्ठभूमिमा पुल निर्माणको काम भइरहेको देखिन्छ। उसलाई कसैले भनिदिएको छ कि अब उसको काम गरिदिनसक्ने मेयर मात्रै हो। एउटा किसान र अनुदानबीच पुल हाल्ने काम अब मेयरले कसो नगर्लान्? अफ्ठ्यारो स्थितिबीच पनि उसको मनमा आशा अझै मरेको छैन।
मेयर- उसको अन्तिम आशाको त्यान्द्रो! त्यही त्यान्द्रो पनि चुँडिएपछि साइकल घिसार्दैघिसार्दै निराश घर फिर्दै गरेको ऊ बारीको रेखदेखका लागि उभ्याइएको बुख्याचाको अघिल्तिर आइपुगेर रोकिन्छ। बुख्याचाको शिर मकै भुट्ने हाँडी घोप्ट्याएर बनाइएको छ। त्यसलाई हेर्दै ऊ सोच्दो हो- मेरो देशको सरकार यही हाँडीघोप्टे बुख्याचा हो।
मेरो देशको सरकार बुख्याचा हो- ऊ देशमा लुट मच्चिएको टुलुटुलु हेरी मात्र रहन्छ। मेरो देशको सरकार हाँडीघोप्टे हो- ऊ आफ्नै पेट कसरी भर्नेबारे मात्र सोचिरहन्छ! साँच्चै, उसको भागको अनुदान खाइदिने उसको छिमेकी हो कि सरकार हो?
र फेरि एकपटक कृषिप्रधान देशको सबैभन्दा उर्बर भूमि तराईको ठिटो, आफ्नै माटोमा गोभी फलाउन नसकेर पुन: एउटा कठोर निर्णय गर्छ। अस्ताउँदो सूर्यलाई साक्षी राखेर ऊ आफैलाई प्रश्न गर्छ- किसानी कि रेमिट्यान्स?
त्यति नै बेला, स्वदेशमा अधुरो खेती र जहान। अनि आकाशमा धुवाँको मुस्लो छोड्दै भगतहरू बोकेर जहाज परदेशतिरै फेरा लाउन उड्छ। हाँडीघोप्टे बुख्याचा ट्वाल्ल परेर हेरिरहन्छ। बस्, हेरी मात्र रहन्छ। अब, झुक्किएर पनि एउटा किसानको साइकल हाँडीघोप्टे बुख्याचाको अघि उभिनेछैन।
Shares
प्रतिक्रिया