सिक्किमका सिमियोन सुकिता राईले शनिबार राति रियालिटी सो ‘द पोयट आइडल’को दोस्रो सिजनको उपाधि जिते। उनले उपाधि उचाल्दा सबैले उनको अनुहारमा खुसी भरिएको देखे। तर, उनको मन भारी भइरहेको थियो। उनलाई आफ्नो खुसी अपूर्ण लागिरहेको थियो।
आइतबार बिहान नेपालखबरसँगको भेटमा सिमियोनले भने, ‘मञ्चमा मेरो खुसी हेर्ने बुवा हुनुहुन्थ्यो। आमा हुनुहुन्थेन। आमाले धाप मारेर स्याबास् छोरा भन्न नपाउँदा खुसीको आयतन आधा घट्दो रहेछ।’
उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीसँगै मञ्चमा उभिएका थिए- सिमियोन। नाम उद्घोष गर्न नतिजा हातमा लिएर बसेका थिए- कार्यक्रम सञ्चालक नायक दिव्य देव।
सिमियोनको आधा सास भित्रै रोकिएको थियो। मन उडेर सिक्किम पुगेको थियो। जहाँ उनकी आमा मोबाइलमा छोराले भनेका कविता सुन्दै थिइन्। सिमियोनका खुट्टा गलेका थिए। उनलाई थचक्क बस्न मन थियो। सिमियोनको यस्तै मनस्थितिका बीच दिव्यदेवले विजेताको नाम उद्घोष गरे- ‘सिक्किमका सिमियोन सुकिता राई।’
उनी जोडले चिच्याए। सिमियोनलाई लागेको थियो- आफ्नो आवाज आमाको कानसम्म पुगोस्।
उनकी आमाले पनि मोबाइलमा छोराको खुसी हेरिन्।
आफ्नो नाम भनेपछि सिमियोन खुसीले उफ्रिए। उनीसँगै उपाधि भिडन्तमा रहेका मोहित र विजयले उनलाई जुरुक्क बोकेर खुसी सेलिब्रेट गरे। उनी विजयी भएको सँगै उभिएकी मुस्कानले पनि तत्काल स्वीकार गरिन्। तर, सिमियोन आफैंलाई यो कुरा स्वीकार गर्न समय लाग्यो।
‘म त सपना पो देखिरहेको छु जस्तो लाग्यो,’ सिक्किमेली लवजमा उनले भने , ‘आफैंले आफूलाई चिमोटी हेरेँ।’
सिमियोन लगभग ४ महिना नेपाल बसे। यति लामो समय आमालाई छाडेको यो नै पहिलोपटक थियो। उनलाई आमाभन्दा पर बस्ने र घरबाहिरको खाना खाने बानी थिएन।
उनी भन्छन्, ‘यहाँ हुँदा आमा र खानाको यादले धेरे सतायो।’
उनी ‘द पोएट आइडल’को फाइनलसम्म पुगिएला भनेर नेपाल आएका थिएनन्। ‘२/४ एपिसोडमा कविता भन्छु, नेपाल घुम्छु, नेपाली साथी बनाउँछु, अनि फर्किन्छु,’ यत्ति थियो उनको सोच।
तर, एकैपटक खतरा क्षेत्रमा नपरी अन्तिम प्रतिस्पर्धामा पुगे। ‘त्यसपछिचाहिँ उपाधि जित्नै पाए हुन्थ्यो भन्ने हुँदो रहेछ,’ सिमियोन भन्छन्।
प्रतियोगिताको फाइनलमा पुगेपछि सिमियोन सिक्किम फर्किए। १० दिन बसे। त्यो १० दिन उनका लागि अनौठो थियो। सिमियोनले भर्खरै कविता लेख्न थालेका होइनन्। उनी सिक्किमको युवा पुस्ताका लोकप्रिय कवि हुन्।
कविता २ र गजल १ गरी उनका ३ पुस्तक प्रकाशित छन्। उनी कवितामा सिक्किमका मुद्दा उठाउँछन्। त्यहीँको सरकारी स्कुलमा नेपाली पढाउँछन्। उनको आफ्नै छवि छ सिक्किममा।
यसपटक आफ्नो क्रेज देखेर उनी आफैं छक्क परे। हरेक बाटा र गल्लीमा भेटिने जो कोही उनलाई देखेर चिच्याउँथे। उनीसँग सेल्फी खिच्थे र गज्जब गरेका छौ, तिमीलाई जिताउन हामी सहयोग गर्छौं भनेर हौसला दिन्थे।
सिमियोन भन्छन्, ‘म कविता त पहिला पनि लेख्थेँ, सिक्किमका थुप्रै मञ्चमा कविता सुनाएको छु। आफ्नै ठाउँमा बसेर लेख्नु र आफ्नो ठाउँको प्रतिनिधित्व गरेर लेख्नुमा धेरै फरक रहेछ।’
सिमियोनलाई आफ्नो ठाउँबाट आएको हौसला। नेपालमै पनि नेपालीले गरेको प्रेम, मञ्चमा पाएको स्याबासी र कवितामा स्रोता-दर्शकले दिएको प्रतिक्रियाले जित्छु भन्ने आत्मविश्वास त थियो तर सँगसँगै थियो- डर पनि।
भन्छन्, ‘मलाई मुस्कानसँग निकै डर लागेको थियो। उसको पब्लिसिटी, लोकप्रियता देख्दा उनी विजयी हुन्छिन् जस्तो लाग्थ्यो।’
सिमियोनले उपाधि जित्न निकै मेहनत गरेका थिए। उनलाई सिक्किम सरकारको पनि पूर्ण साथ थियो।
‘यति हुँदाहुँदै हारेकै भए पनि म खुसी भएर जान्थेँ,’ सिमियोन भन्छन्, ‘जितभन्दा धेरै ठूलो कुरा नेपाल बसाइका चार महिनाले मलाई दिएको छ। जित्नु र सिक्नु फरक कुरा रहेछ।’
सिक्किम नेपाली साहित्यका लागि निकै उर्वर भूमि मानिन्छ। त्यहीँ बसेर कविता लेख्ने सिमियोनलाई कहिल्यै लागेको थिएन- कुनै दिन कविताले यति ठूलो मञ्च पाउनेछ र त्यसको एक हिस्सा आफू पनि बनिनेछ।
‘द पोएट आइडल’को अघिल्लो सिजनको अडिसन उनले थाहा पाएनन्। एकैपटक उत्कृट १४ का कविता प्रसारण हुन थालेपछि मात्रै उनले सिक्किममै बसेर नेपालमा कविताका लागि बनाएको भव्य सेट टेलिभिजनमा हेरे। उनलाई त्यो सेटमा उभिएर कविता भन्ने लोभ जाग्यो। त्यही लोभका कारण उनले अठोट गरे- अर्को सिजनमा भाग लिन्छु।
सिक्किममा सिमियोनको आफ्नै सर्कल छ। आफ्नो जमातमा पोयट आइडलको अडिसन खुलेपछि सल्लाह गरे। १५ जनाले कविता पठाए। पहिलो अडिसनमा सबै छानिए।
दोस्रो अडिसनका लागि कविता लेख्ने विषय दिइयो। उनीहरू सबैले कविता पठाए। एकदिन सिमियोनलाई म्यासेज आयो, ‘तपाईँ डिजिटल अडिसनका लागि काठमाडौं बोलाएको खण्डमा आउन सक्नुहुन्छ कि सक्नुहुन्न?’
सिमियोनलाई लाग्यो- म त सेलेक्ट भएछु।
उनले साथीहरूलाई सुनाए। साथीहरूलाई पनि उही सन्देश पुगेको रहेछ। उनीहरू सबैलाई लाग्यो- हामी सबै प्रतियोगिताका लागि छानियौं।
सबै सँगै काठमाडौं आए। तर, कोही छानिएका थिएनन्। दोस्रो अडिसन दिएर उनीहरू सिक्किम फर्किए।
उनी सिक्किमकै नाम्चे स्वर्ण उच्च माध्यमिक विद्यालयमा नेपाली पढाउँछन्। गत पुस २२ गते साँझ सिमियोन आफूले पढाउने स्कुलको होस्टलमा एक्लै बसिरहेका थिए। उनलाई म्यासेज आयो- तपाईं उत्कृष्ट १४ मा छानिनुभएको छ।
उनी ठीक त्यसैगरी चिच्याए, जसरी शनिबार राति विजेताका रूपमा आफ्नो नाम घोषणा हुँदा चिच्याएका थिए।
उनलाई अब ४ महिनाका लागि स्कुलमा बिदा माग्नुपर्ने थियो। आमासँग बिदा माग्नुपर्ने थियो। स्कुलमा सुनाए। स्कुलले सहजै स्वीकृति दियो। सुरुमा उनलाई बेतलबी बिदा दिने कुरा भएको थियो। तर सिक्किम सरकारले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्न लागेको भन्दै तलबै पाउने गरी बिदा मिलाइदियो।
बुवाआमाले त झन् असहमति जनाउने कुरा भएन।
तर, सिमियोनका पाइला भने निकै भारी भएका थिए।
‘आमा कहिल्यै घरबाट पर जान रुचाउनुहुन्न। मोबाइल बोक्नुहुन्न। आमालाई फोन गर्न आउँदैन। फोनमा धेरै कुरा गर्न जान्नुहुन्न। मुखले नभने पनि मेरो छोरा अर्काको ठाउँमा गएर कसरी बस्ला भनेर आमाको हृदयले भनेको उहाँको आँखामा देखेको थिएँ,’ घर छाड्नुअघिको सम्झना सुनाउँछन् उनी।
सिमियोन सामान्य परिवारमा हुर्किएका हुन्। उनी तन्नेरी हुँदासम्मै उनका बुवा मनबहादुर राई बेरोजगार थिए। खेतीपातीको काम गर्थे। आमा सावित्री राई घरसँगै आफ्ना ३ छोरा सम्हाल्थिन्।
सिमियोन भन्छन्, ‘मैले हरेक बिहान घाँस-दाउरा गरेर स्कुल पढेको हुँ।’
उनी सानै थिए। उनका बाङ्गा (काका) दानियल राई कविता लेख्थे। दानियल कविताको किताबै छाप्न चाहन्थे। तर खै के कुराले उनको यो सपना पूरा हुन पाएन।
काकाबाट प्रभावित उनले ३० वर्षको उमेरमा कविताका किताब प्रकाशन गरे। ३३ वर्षमा ‘द पोएट आइडल’को उपाधि जिते।
सिमियोन भन्छन्, ‘काकाबाहेक मेरो परिवारमा कविता लेख्ने अरु कोही छैनन्। मैले पाएको यो उपाधि मेरा काकाको देन हो।’
नेपालको बसाइ सिमियोनका लागि सहज थिएन। २०/२२ दिनसम्म त उनलाई नेपाल बस्न नपरे पनि हुन्थ्योजस्तो लागिरह्यो।
कारण, यहाँ उनका साथी थिएनन्। खानाको स्वाद फरक थियो। होटलबाहिर निस्किएर कहाँ जाने! यी सबै कुरासँग अभ्यस्त हुन समय लाग्यो।
पोएट आइडलको यात्रा पनि उनका लागि सहज थिएन। स्वतन्त्र रूपमा कविता लेख्ने सिमियोनलाई बाँधिएर कविता लेख्न सकस भयो। बिस्तारै यी सबै कुरा सहज हुँदै गएका थिए। पोएट आइडलको दोस्रो सिजन सकियो। अब उनले सिक्किम फर्किनुपर्नेछ। अहिले उनलाई लागिरहेको छ, ‘अलिक समय यतै बस्न पाए हुन्थ्यो नि!’
सिक्किम छाडेर आउँदाजस्तै गह्रौँ भएका छन्, सिमियोनका पाइला।
पोएट आइडलको यो यात्रामा सिमियोनले १० वटा कविता लेखे। कति कविता हृदयले लेखे, कति कविता चेतनाले।
कविता लेख्नका लागि आयोजकले कविहरूलाई विभिन्न ठाउँको स्थलगत भ्रमण गरायो। त्यही क्रममा सिमियोन मानव सेवा आश्रम पुगेका थिए। त्यहाँ उनले एकजना आमालाई भेटे।
उनलाई छोराले झुक्याएर आश्रममा छाडेका रहेछन्। तर, आमा भने हरेक क्षण छोराको पीरमा फिल्सिरहेकी थिइन्। उनका आँखा छोरा फर्किएर आउनेमा प्रतीक्षारत थिए।
उनी छोरो सम्झिएर रोइरहेकी थिइन्। त्यसपछि उनले ‘म लक्ष्मी र मेरो कथा’ शीर्षकको कविता लेखे।
सिमियोन भन्छन्, ‘मलाई आमाको मन लेख्न साह्रै गाह्रो भएको थियो।’
कवितामा जजले कमेन्ट गरे, ‘आमाले छोराछोरीप्रति यति धेरै गुनासो गर्दिनन्। गुनोसो धेरै भयो।’
सिमियोन आफ्नै आमालाई सम्झिए भक्कानिए।
‘अहो! मेरी आमालाई पनि त मेरा कति कुराप्रति मन दुखेको हुँदो हो। तर कहिल्यै गुनासो गर्नुभएन। मलाई लागिरह्यो, मसँग मेरी आमाको कुनै गुनासो छैन। तर आमाहरूका गुनासा त समाजले यसरी पो कुण्ठित पारेको रहेछ,’ सिमियोनको बुझाइ बदलियो, ‘आमाहरूले पनि गुनासो गर्न पाउनुपर्छ।’
कविता लेख्दा र भन्दा मात्रै होइन, कवितासँग गाँसिएका सम्झना सुनाउँदै गर्दा पनि सिमियोनको गला थुप्रैपटक अवरुद्ध भयो।
सिक्किम फर्किनुअघि मानव सेवा आश्रम गएर पुनः ती आमालाई भेट्न मन थियो उनलाई। तर समय मिलेन। उनी सिक्किम फर्किने तयारीमा छन्।
‘अब त नेपालमा मेरा थुप्रै साथी छन्। पोएट आइडल टिमसँग पनि एक वर्षको सम्झौता छ। फेरि नेपाल फर्कन्छु। अनि आमालाई भेट्न जानेछु,’ सिमियोन भन्छन्।
Shares
प्रतिक्रिया