रुक रुक रुक! अरे बाबा रुक! अजय देवगन र तब्बु! सन् १९९४ मा विजयपथबाट सँगै देखिएको यो जोडीलाई सिनेप्रेमीहरूले त्यति नै रुचाउँछन् जति शाहरुख र काजोलको जोडी रुचाइन्छ। सन् २०२२ को दृश्यम २ सम्म आइपुग्दा पनि दर्शक यिनको जोडीलाई देखेर कहिल्यै अघाएनन्।
र, यतिबेला क्यूएफएक्स लगायतका देशभरका हलहरूमा यही जोडीको सिनेमा प्रदर्शनरत छ- निरज पाण्डे निर्देशित 'औरों मे कहाँ दम था!' खैर, यो जोडीले कत्तिको दम देखाइरहेको छ त? आउनुस्, धेरैबेर नरोकिएरै अब खाँटी मुद्दामा प्रवेश गरौँ।
कथा
कृष्णा, जो वसुलाई असाध्यै प्रेम गर्छ आज जेलभित्र छ। दुई ज्यान लिएको कसुरमा २३ सालदेखि ऊ कैद छ। तर, उसलाई थाहा छैन बाहिर निस्किँदा वसु उसको प्रतीक्षामा हुन्छे कि हुन्न? तर, उसलाई यस्तो किन लाग्छ? यही प्रश्नको जवाफ खोज्ने काम नै
फिल्मको कथाले गर्छ।
पटकथा
मीठोगरी सुरु भएको फिल्ममा दृश्यहरू फेरिइरहन्छन्। घरी जेल, घरी समुद्री किनार, घरी अंकल, घरी वसु! त्यसका बाबजुद कथा अघि बढिरहेको पनि छ है भन्ने महसुस गर्न सक्दैनन् दर्शकहरू। पृथ्वी, मानौँ आफै रिङ्गिरहेको त छ तर, सूर्यलाई लगाउनुपर्ने चक्कर लगाउन भने बिर्सिरहेको छ। जसकारण समय रोकिइएको छ।
अंकलको कहानी र पात्रको प्रेमकथाबीच आखिर के सम्बन्ध छ? दर्शक यही पत्ता लगाउन दिमाग खियाइरहन्छन् तर, अबेरसम्म त्यसको केही सुइँको पाउन नसक्दा दिक्दारिएर हाई काढ्छन्। हाई काढिसक्नासाथ मध्यान्तर हुन्छ। यहाँनेर आइपुग्दा दर्शकले खोजिरहेको जवाफ फेला पनि पर्छ। तर, कुतूहलको आगो निभिसकेको दर्शकमा त्यसको प्रभावले उति जोडको दम दिन सक्दैन। सिधै भन्ने हो भने, धैर्य अनुसारको 'ट्विस्ट एन्ड टर्न' कथाले लिन सक्दैन।
यस्तै कमजोरी दोस्रो हाफमा पनि देखिन्छ। एउटा कृष्णाको दमले नभ्याएपछि कथालाई थप जटिल बनाउन पटकथाकारले दोस्रो कृष्णा (तेस्रो पात्र) जन्माएका छन्। जसको चरित्रलाई उनले न्याय गर्न सकेका छैनन्। घरीघरी ब्ल्याक हुन खोज्दै गरेको यस तेस्रो पात्रलाई फिल्मले न त दिल खोलेर ह्वाइट बनाउन सकेको छ न त दसगजामा उभ्याएर ग्रे नै बनाउन सकेको छ। यो पात्र ह्वाइट हुनु हो भने पहिलो पात्रलाई अन्याय हुने निश्चितै छ। यही रफ्तारमा यस पात्रलाई ब्ल्याक बनाउनु हो भने फिल्म चार घण्टाको हुनसक्थ्यो!
ग्रे हुन सक्थ्यो- तर, बिडम्बना हुन सकेको छैन। त्यसैले, यो पात्रमा न कुनै वृत्त छ न कुनै रङ। त्यसो त यो पात्रको मनोदशा मात्र समेत स्पष्ट नहुँदै गर्दा बलियो चित्रण हुनुका बाबजुद दर्शकले उसको औचित्य भेटाउन सक्दैनन्।
कथावाचन
नन-लिनियर शैलीमा अघि र पछि गर्दै कथा भन्ने यस फिल्मले घरी कृष्णाको प्रेमकथा सुनाएको छ त घरी उसको जेलकथा सुनाएको छ। यो भन्दै गर्दा, मुख्य कथावस्तु त आखिर प्रेम नै हो। जेल त तपसिलमा आउने किस्सा। तर, जब कहानीभन्दा किस्सा बढी सुन्दर लागिदिन्छ तब पनि एउटा समस्या महसुस निम्तिदिन्छ। विवाह एकजनासँग होस् तर, मन अर्कोसँग मिलोस् त? आँखा अर्कोसँग जुधोस्, मुटु अर्कैको लागि धड्कियोस्! के यो सम्बन्धविच्छेद हुने सङ्केत होइन? अवश्य हो। दर्शकको पनि फिल्मको मूलकथासँग यसैगरी सम्बन्धविच्छेद भइदिन्छ।
जसरी कृष्णालाई जेल छोडेर बाहिर जान इच्छा हुँदैन त्यस्तै दर्शकलाई पनि वसु र कृष्णाको प्रेमकथा सुन्नभन्दा उसको जेलको किस्सामै बढी दिलचस्पी भएर आइदिन्छ। अथवा भनौँ, जेल र प्रेमको समानान्तर कथावाचन सन्तुलित लाग्दैन। तर, जेलको किस्सा सानदार लाग्नु समस्या होइन। समस्या हो, प्रेमको कथा उति दमदार नलाग्नु! र यस्तो किन भयो त?
केही महिनाअघि व्यापक चर्चा बटुलेको विजय सेथुपतिको 'महाराजा'ले पनि एउटै संवाद र दृश्य बारबार दोहोर्याएको थियो। तर, त्यो दोहोरिनु दर्शकलाई सार्थक किन पनि लाग्थ्यो भने त्यसमा प्रयोग गरिएको 'म्याक-गफिन' पात्रको लागि कति महत्त्वपूर्ण थियो? र त्यसप्रतिको पात्रको संवेदनालाई फिल्मले अति स्पष्टसँग दर्शकको चेतनामा स्थापित गर्न सकेको थियो।
यस फिल्ममा पनि त्यस्तै शैली अपनाउन खोजिएको देखिन्छ तर, दोहोरिने दृश्य र पात्रको संवेदनालाई त्यति नै बलियोगरी बाँध्ने 'मियो' वा 'म्याक-गफिन' यहाँ भेटिँदैन। यहाँ दुईबीचको 'प्रेम' नै त्यति दमदार थियो भन्ने मान्यताले 'प्रेम'लाई नै एउटा अमूर्त 'म्याक-गफिन'का रूपमा लिइएको महसुस हुन्छ। यो आफैमा गलत रोजाइ त होइन तर, दुर्भाग्य के भइदियो भने, कहानी सुनाउँदै गर्दा बीचबीचमा आइदिने अनेक पात्रहरूले वसु र कृष्णाको त्यही प्रेमलाई मानौँ धमिल्याइदिएका छन्। जसकारण त्यो स्पष्ट वा सङ्लो छैन। टाठो वा टड्कारो छैन। दर्शक दुख्न तयार भइदिए जति त्यसले दुखाइदिँदैन।
समय र सिद्धान्त
पात्रको कुरा यो बसाइमा पटकथा र कथावाचनको सन्दर्भमै पर्याप्त आइसकेकै छ। आउन बाँकी तपसिलमा आउँदै पनि रहलान्। बरु कुरा गरौँ फिल्मको समयरेखा र त्यसले बोकी हिँडेको सिद्धान्तको। सन् २०२४ मा अधबैंसे जोडीको प्रेमकथा सुनाउँदै गर्दा पनि फिल्म आजको सिद्धान्त बोकेर हिँड्न सकेको छैन। फिल्मकी नारी पात्रलाई जानेर होस् या नजानेर नै स्वार्थी देखाइएको छ। स्वार्थी हुनुको कारण उसले चाहे प्रेम देखाओस् र चोखिन खोजोस् तर, उसको प्रेममाथि दर्शकले प्रश्न जरुरै उठाउनेछन्।
नारी पात्र यथार्थमै गलत नै हुन सक्दैनन् त? त्यस्तो पक्कै नहोला। तर, जुन तरिकाले यस नारी पात्रको चरित्र चित्रण गरिएको छ उसको स्वार्थी हुनुमा लेखक र निर्देशक हाबी भएको महसुस भइदिन्छ। र नारी पात्रमाथिको यो जोरजबर्जस्ती पुरुष पात्रलाई निस्वार्थी र प्रगतिशील देखाउनकै लागि गरिएको छ।
प्रेम दिमागले गरिने कुरा होइन। प्रेम हृदयले गरिने कुरा हो। २३ वर्षको अवधिमा आफूले प्रेम गरेको मान्छेलाई भेट्न जानै नसक्नु त दिललाई दिमागले जित्नु होइन र? उसको जीवनमा आएका दुवै पुरुषले उसलाई आफू स्वयंलाई भन्दा ज्यादा प्रेम गर्न सकिरहँदा ऊ भने आफ्नै हृदयलाई सुन्न पनि नसकोस्? अनि, त्यही पात्र फेरि भावनामा विह्वल भइदिएर प्रेमी (पुरुष)को पाउमा निहुरिदेओस्!
यस नारीलाई घरी यति तार्किक देखाउनु छ कि जसले गर्दा पुरुष 'दिलजले' वा 'दिवाना' देखिऊन्। र घरी त्यही नारीलाई यति भावुक देखाउनु छ कि फेरि पनि तिनै पुरुष उति नै 'महान' देखिऊन्।
जाँदाजाँदै, नारी पात्रलाई पनि उत्तिकै 'दिलवाली' देखाउन मात्र सकेको भए पनि यो फिल्ममा कतै न कतै दम भेटिन्थ्यो। सोच्नुस् त, कृष्णाको खबरदारीका बाबजुद वसु (पाओस्, नपाओस्) तर उसलाई भेट्न गएकी हुन्थी भने कथा कति दमदार लाग्ने थियो? उनीहरूबीचको प्रेम कति दमदार लाग्ने थियो! लभस्टोरी फिल्म हेर्न बसेका दर्शकलाई जेलस्टोरी सुनाएर बाँध्ने बाध्यता त कमसेकम पर्ने थिएन।
तबु (वसु)लाई छोडेर अजय देवगन (कृष्णा) एक्लैको दमले फिल्मलाई 'विजयपथ' तर्फ पक्कै डोहोर्याउन सकेको छैन।
Shares
प्रतिक्रिया