तीजको अवसरमा भदौ २१ गते प्रदर्शन हुने फिल्म ‘देवी’ प्रिमियर सोमा रुचाइएको छ। बुधबार गरिएको भव्य रेडकार्पेट प्रिमियरमा फिल्मकर्मीहरूको बाक्लो उपस्थित थियो।
फिल्म हेर्न अभिनेता कार्म शाक्य, गजित विष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरी पुगेका थिए। त्यसैगरी फिल्मका मुख्य कलाकारहरू शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक सञ्जोग राईलगायत पनि हलमा पुगे।
फिल्म हेरेका अधिकांशले सिनेमा उत्कृष्ट बनेको भन्दै यसलाई धेरै दर्शकसम्म पुर्याउन जरुरी रहेको सुझाव दिए।
निर्देशक सौरभ चौधरीले फिल्म निकै राम्रो बनेको बताउँदै देवीजस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेकरको सपना रहेको सुनाए।
अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले भावुक बनाएको प्रतक्रिया दिइन्। उनका अनुसार नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ। तर, त्यसको प्रभावकारी कार्यन्वयन जरुरी रहेकाले देवीजस्ता फिल्मले सरकारलाई घच्घच्याउने उनको भनाइ छ।
अभिनेत्रीद्वय लुनिभा तुलाधर र मेनुका प्रधानले यस्ता सिनेमालाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसका रूपमा लैजानु पर्ने बताए।
निर्देशक राईले त हलमा रिलिजपश्चात् नेपालका विभिन्न ठाउँमा फिल्म देखाएर समाजलाई जागृत गराउने तयारीसमेत रहेको बताए।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन्। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ।
यस फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तले अभिनय गरेका छन्।
जोएल फ्रोमको डीओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दै छन्।
Shares
प्रतिक्रिया