ad ad

कला


तीजका गीत र नृत्यमा किन उठाइँदैछ प्रश्न?

गीत र नृत्यले समय र परिवर्तनको स्वर बोल्नुपर्छ, कामुकता र अश्लिलता होइन
तीजका गीत र नृत्यमा किन उठाइँदैछ प्रश्न?

अमृता अनमोल/रासस
भदौ २१, २०८१ शुक्रबार १२:४९, काठमाडौँ

हरितालिका तीज ढोकैमा आएको छ। तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ। घरघरमा तीजका भाका घन्किएका छन्। रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन्। 

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन्। कसैले दर खाएका, कसैले नाचेका त कोही माइत जान लागेका फोटो र भिडियोहरू छ्याप्छ्याप्ती राखेका छन् । पश्चिम पहाड र त्यसआसपासका गाउँघर र बजार क्षेत्रका चोकहरूमा तीज विशेष नाचगान चलिरहेका छन् । घरघरमा दर खुवाउन आफन्त चेलीहरू जम्मा गर्ने क्रम बढेको छ । चेलीहरूलाई कसकोमा कहिले जाने, खाने र नाच्ने भ्याइनभ्याइ छ। 

धार्मिक रुपमा पार्वतीले शिवलाई पतिका रुपमा पाउन निरहार व्रत गरेपछि पति पाएको कथामा आधारित पर्व हो तीज । यस अर्थमा तीज महिला प्रेमले मान्यता र सफलता पाएको दिन हो । त्यही आस्थामा अहिले पनि हिन्दू अविवाहित महिला राम्रो पति पाउन शिवको पूजा आरधना गर्छन् । विवाहित पतिको दीर्घायूको कामना गर्छन्। 

तीजको धार्मिक पक्ष यत्ति भएपनि सांस्कृतिक र सामाजिक पक्ष निकै फराकिलो छ । तीज स्वतन्त्रता, मनोरञ्जन र अधिकारको उपयोग गर्न पाउने ठूलो अवसर हो । मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्त भेट्ने र सुख दुःख साट्ने रमाइलो पर्व पनि हो। 

अरुबेला जन्मघरमा जान नपाउने परनिर्भर महिलालाई तीज महिलाको लागि माइतीसँग भेट गराउने अवसर हो । तीज वर्षभरि भन्न नसकेका कुरा गीत बनाएर गाउन सक्ने अधिकारमुखी पर्व हो । हिंसा, विभेद, चेतना, विद्रोह, अधिकार र सुख तथा दुखका पल एकसाथ उठाउन पाउने स्वतन्त्रताको पर्व पनि हो । यही स्वतन्त्रताका कारण गीतमार्फत तत्कालीन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर आइरहेका पनि छन्। 

तीज मुलतः महिला प्रधान पर्व हो। लोकलयमा आधारित तीज गीत, तिनका भाका र नाच हाम्रा संस्कृति हुन्। तीजको यति ठूलो सांस्कृतिक र सामाजिक पक्ष हुँदाहँुदै पनि तीज अहिले विकृत बन्दै गएको छ । काठमाडौंँ आसपासका केही कलाकारले तीजको मौलिकता बिर्सदा त्यसको असर समाजमा देखिन थालेको छ। 

सस्तो लोकप्रियता र मनोरञ्जनका लागि उनीहरूले झ्याउरे लयमा मायाप्रितिका गीत मात्रै पस्केका छन् । अधिकांश तीज गीतमा तीजको भाका र लय छैन । गीतले समय र परिवर्तनको स्वर बोलेका छैनन् । उनीहरूले तीज गीतलाई उत्ताउला रत्यौलीका शब्द र लयमा ढालिदिएका छन्। त्यसमा चेतनाको छनक छैन । बरु भद्धा र अस्वभाविक माया प्रेममा समर्पित भएका छन्। उत्ताउला र निकै हचुवा पाराका छन् । नृत्य र पहिरन उस्तै कामुक र अश्लील छन्।

वास्तवमै महिलाप्रधान पर्व तीज अहिले चेपुवामा परेको छ । एकातिर तीजको मौलिकतामाथि आक्रमण भएको छ अर्कोतिर तीज विकृत बन्दै गयो भन्दै त्यसमै रमाउने समूह सक्रिय भएको छ । लाग्छ, ती तीज गीत होइनन् रत्यौली हुन् । रत्यौली पनि नराम्रो होइन हाम्रो संस्कृति नै हो । तर, कतिबेला रत्यौली गीत गाउने र नाच्ने, कतिबेला तीज कलाकारले छुट्याउनुपर्छ। 

व्यवसायिक कलाकारले व्यवसाय गर्ने भन्दैमा कला र संस्कृतिको सिमा नाघ्न् गलत हो । किनकी कला र संस्कृति देशको सम्पति हो । कलाकार गहना हुन् । देशको सम्पति जोगाउन राज्य र गहनाको शान राख्न कलाकारले ध्यान दिनैपर्छ । नत्र आउदो पुस्ताले तीज गीत भनेर केलाई चिन्ने? तीज नाच भनेर केलाई हेर्ने प्रश्न उब्जीएको छ।

यद्यपि, मोफसलका थुप्रै महिला भने व्यावसायिक कलाकारभन्दा भिन्न छन् । जसले तीज गीतमार्फत निरन्तर कुरीति कुसंस्कारको विरोध गर्दै चेतना प्रवाह गरेका छन् । सङ्घसस्थाहरूले आयोजना गरेका तीजका औपचारिक कार्यक्रममा स्थानीय कलाकार पुगेका छन् र चेतनाप्रवाह गर्ने र रमाउने तीज गीत पस्किरहेका छन्। 

तीज कति दिन मनाउने र कसरी मनाउने पछिल्ला वर्षहरूमा यसको बहस बढ्तै हुने गरेको छ । तीज तिथि र व्रत एक दिन हुने भएकाले कतिपयले तीज त्यसैदिन मात्रै मनाउनुपर्ने तर्क राख्छन् । कसैले पहिले पहिले एकै दिन मनाउने गरेको तर अहिले महिनौं मनाएर तीजलाई विकृत बनाएको दाबी गर्छन् । तीजको सांस्कृतिक पक्षबारे जानकार हुनेले तीज एक दिन मनाउने गरेको वा एक दिनमात्रै मनाउनु पर्छ भन्ने तर्क राख्नु गलत हो । तीजलाई मौलिक र सरल बनाउनुपर्छ भन्ने विचार चाहिँ सही हो। 

लोकगीतको बढ्ता चल्ती रहेको पश्चिम पहाडमा उहिले पनि साउने संक्रान्तीबाटै तीजको रौनक सुरु हुन्थ्यो । महिलाहरू कहिले कसको आँगन कहिले कसको आँगनमा तीज गीत आयोजना गर्थे । दाजुभाइहरूले मादल र खैंजडी बजाएर सघाउँथे । कोही दिदीबैनीसंँगै नाच्ने र गाउँथे पनि। 

आफ्ना सुखदुःख र भोगाइलाई गीत बनाउथे । विभेद, अभावसंँगै खुसी र उद्वेगलाई गीतमार्फत् पोख्थे । तीजमा छोरीचेली ननाचेको आँगन अशुभ हुन्छ भन्ने मान्यता थियो । त्यसैले पालैपालो सबैको घरमा तीज गाइन्थ्यो । नाच्न गाउन भेला भएकालाई कांँक्रा, अमिला, अचार, चिया, हलुवा, खीर खुवाउने चलन थियो । नागपञ्चमी, गुरु पूर्णिमा, कृष्णाअष्टमी, तीज, ऋषि पञ्चमीलगायतका दिन भने ठूला चोक, चौर र चौतारोमा तीज कार्यक्रम आयोजना हुन्थे । तीज नजिकिएपछि धेरै छोरीबुहारी माइत मावल जान्थे । माइत जाने बुहारीलाई पनि घरमा एक दिन दर अर्थात मीठो पकवान खुवाएर पठाइन्थ्यो । माइत आउन नपाउने चेलीबेटीलाई दरका सामग्री घरमै पनि पठाइन्थ्यो।
 
समय फेरिदै जाँदा तीज मनाउने शैली फेरिएको छ । उहिले गाउँघरमा गाउने महिला अहिले शहर बजारमा आएका छन् । मान्छे जहाँ जान्छ त्यससँगै सस्कार र संस्कृति पनि बोकेर आउछ । शहर बजारमा नाच्न आँगन छैनन् । चौतारो छैनन्। 

यस्तोमा तीज मनाउन होटल र पार्टी प्यालेसमा जानुलाई विकृत र असभ्य मान्नु हुँदैन । कामकाजी महिलाले पाहुनापाछा बोलाएर घरमा दर पकाएर खुवाउने समय पाउदैनन् त होटलमा लगेर खुवाउछन् । यस्तो सुविधा उपयोगलाई छाडा भन्न मिल्दैन। विहे, पूजा, व्रतबन्ध, जन्मदिन होटल र पार्टी प्यालेसमा गर्न हुन्छ भने तीज मनाउन नहुने कुनै अर्थपूर्ण तर्क छ र? कामकाजी महिला काम छोडेर माइतीघर जाने अवस्था छैन । पहिले जन्मका आधारमा भेटिनेहरू अहिले कर्मका आधारमा भेटिन्छौंँ । उनीहरूबीच तीज मनाउनु दर खानुलाई विकृतिको पराकाष्टाका रुपमा चर्चा गरिनुको अर्थ छैन।
 
तीजका दरमा महिलाले के खाए र लगाए भन्ने विषय धेरै आलोचनाको विषय बनेको छ । स्वभाविक हो उत्तेजक लुगा लगाउनु र मादक पदार्थ खानु महिला पुरुष कसैले हुँदैन । विडम्वना कुन पुरुषले के खाजा खायो? कति हजारको जुत्ता किन्यो, मोवाइल किन्यो, उनीहरूले चाडबाडमा के के खान्छन्? के लाउछन्? यसको चर्चा कहिल्यै हुँदैन। तर, महिला तीजमा कुन कुन ठाउँमा दर खान गए? केके खाए? कसरी खाए? यसलाई निकै बहस गरिन्छ । मानौँ उनीहरू अपराधी हुन्। त्यो संस्कृति बचाउनकालागि गरिएको बहस हो कि महिलालाई आलोचना गर्न मननीय छ। 

तीज गीतको कुरा गरौँ। समय र परिवेशअनुसार फरक भाका र लयमा रचिएका तीज गीतले त्यससमयको इतिहास बोलेका हुन्छन् । हजुरआमाका पाला भक्तियुग थियो । त्यतिबेला ‘कहामा जान्छौं रानीचरी बगाल बरीलै भगवान भेटन’ भनेर भगवानप्रतिको भत्तिगीतm गाइन्थ्यो। 

आमाका पालामा सासु बुहारीबीचको द्वन्द्व, पतिको थिचोमिचो र छोराछोरीबीचको विभेद विरुद्ध तीज गीत बनाइयो। ‘स्वामी मुख हेरुँ भने खुन खाएका बाघ झैं सासु मुख हेरुँ भने पोल्ने आगो झैं’ त्यही थिचोमिचोको गीत थियो । दिदीभाउजुले पनि तीज गीतबाट आफूमाथिका अन्याय र अत्याचारका कुरा तीज गीतमार्फत बाहिर ल्याए । छोरी भएकै कारण सानैमा विहे गरेर जानुपर्ने, बाबुको अंश नपाइने, पढ्न नपाइने कुरादेखि विहे गरेर गएको घरमा समेत आफूले माया नपाएका कुरा गीत बनाए र गाए। 

पञ्चायती शासन, छोराछोरीको विभेद, दाइजो, बहुविवाह, बालविवाह लगायतको विरोधमा गीत गाए । ‘अन्याय र अत्याचार हिंसा हुँदा बोलन, लागौं अब पञ्चायती शाशन मासन’ पञ्चायती शासनविरुद्ध दिदी भाउजुहरूले यिनी गीत गाएकै थिए। 

अरु बेला ठाडो शिर लगाएर हेर्न नसक्ने महिला तीज गीतमा अन्याय र अत्याचारको विरोध गर्दै गला फुलाएर गाउने र छाती फुलाएर छमछमी नाचेकै थिए । राष्ट्रसेवक नेताले बोल्न नसक्ने, समाज सुधारकले उठाउन नसक्ने विरोध र चेतनाका कुरा बस्तीबस्तीका महिलाले उठाएका थिए। 

कुनै समय थियो महिलाहरूलाई आफूमाथिको अन्याय, अत्याचार र विभेदविरुद्ध बोल्न वन्देज थियो । त्यसैले हाम्रा आमा, हजुरआमाहरू आफूमाथिको अन्याय, विभेद र थिचोमिचोलाई गीत बनाएर विरोध गर्थे । अहिले त्यस्तो छैन । आफूमाथि भेदभाव भएको कुरा तत्काल भन्न र प्रतिकार गर्न सकिन्छ । त्यसैले दुःखभन्दा रमाइला कुरा अहिले तीज गीत बनाइएका छन् । उपलब्धिहरू गाइएका छन् । यो स्वभाविक हो। 

कुनै पनि चाडपर्व निरपेक्ष हुँदैनन् समय सापेक्ष हुन्छन् । समयसँगै तिनलाई मनाउने तरिका फेरिन्छन् । यससंगै तीज फेरिएको हो । दशैंँ तिहार, फागु, माघी, लोसार सबै पर्व मनाउने तरिका फेरिएका छन् । चाडपर्व र संस्कारलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजान आवश्यक छ । यसले चाडपर्व र संस्कार समृद्ध र सशक्त बन्छन् । चाडपर्व र सस्कारको मौलिकता जोगाउन पर्वलाई मौलिक रुपले मनाऔंँ । यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष मर्न नदिऔंँ । यो बहसको विषय हुनसक्छ। 

चाडपर्वलाई बोझिलो नबनाऔंँ सरल र सहज बनाऔंँ । सबै अट्ने गरी र मनाउन सक्ने गरी मनाऔंँ । यस अर्थमा तीजको बहस गरौँ। तर, महिलाले रङ्गीचङ्गी लुगा लगाए, खुसी मनाए, धेरै दिन दर खाए, होटल रेष्टुराँमा गए भन्ने जस्ता बेतुकका बहस नगरौंँ । महिलाप्रधान पर्वलाई सबैले गौरव गरेर मनाऔंँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .