‘प्रेमकथा मात्र लेखेर पुस्तक विक्री हुने हैन रहेछ,’ तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सवको ‘युवाका लागि आख्यान’मा लेखक सुविन भट्टराईले भने, ‘त्यसकारण पाठकलाई मन पर्ने सुत्र केही छैन।’
लेखक डा. टंक उप्रेतीले सहजीकारण गरेको कार्यक्रममा लेखक सरला गौतमसँगै सुविन मञ्चमा उभिएका थिए।
उनीहरूले आख्यानको शैली, युवापुस्ताको पठन अभ्याससँग केन्द्रित रहेर कुराकानी गरेका थिए।
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्यमा पर्दापण गरेका सुबिनले ‘समर लभ’, ‘साया’, ‘मनसुन’, ‘प्रिय सुफी’ हुँदै ‘इजोरिया’ जस्ता उपन्यास लेखे। उसो त उनका हरेक पुस्तक ‘बेस्ट सेलर’ हुन्।
सुरुवाती चरणमा प्रेम कथामाथि लेखेका सुविनले ‘प्रिय सुफी’बाट मुद्दाहरूमाथि लेख्न थाले। ‘म आफूले आफैंलाई बदलिएको हेर्न चाहन्छु।यसरी लेख्दै जाँदा किताब विक्री त प्रेम कथा भन्दा पनि राम्रो शैलीमा, राम्रे भाषामा लेखिँदा हुने रहेछ।’
‘इजोरिया’ले आफ्नै रेकर्ड ब्रेक गर्नु राम्रो अनुभव भएको उनको ठम्याइ छ। ‘प्रकाशकले के चाहने र लेखकले के चाहने भन्दा सबैभन्दा पर पाठक छ,’ सुविनले भने।
लेखक सरला गौतम नेपाली साहित्यमा ह्युमर र ठट्टा नभएकै कारण युवापुस्ताका रोेजाइमा कम परेको बताउँछिन्।
‘हाम्रो रुचिलाई नेपाली साहित्यले रिलेट गर्न सकेन। अहिलेकै सन्दर्भमा लेखिएको कुराले पनि मलाई छुन सकेन भने जति नै गम्भीर छ भने पनि पढ्दिनँ,’ उनले भनिन्।
सरलाका ‘डुमेरो’ र ‘अम्रिकाने काशी’ जस्ता उपन्यास प्रकाशित छन्। सरला आफ्नो लेखनको शैलीबारे बताउँछिन्, ‘मैले रिसर्च गर्दैछु भनेर मानिसहरूसँग कहिल्यै कुरा गरिनँ। यो जीवनको अभिन्न पाटो हो भनेर गरेँ।’
सुविन बढीजस्तो आफ्नै अतितलाई उत्खनन् लेख्ने कुरामा जोड दिन्छन्।
‘किनकि त्यसमा कल्पनाको रङ रोगन पर्दैन। सबैभन्दा ठूलो रिसर्च आफ्नो अनुभव हो। मान्छे आफ्नै अनुभवको विश्वविद्यालय हो। हामी अनेक मान्छेसँग कुरा गर्छौँ। उठबस गर्छौँ। उनीहरूको नाडी छाम्छौँ, तब न राम्रो साहित्य उत्खनन् हुने हो,’ उनले भने।
Shares
प्रतिक्रिया