ad ad

कला


लगालग हिट फिल्म दिइरहेकी उपासना : स्क्रिप्ट सुनेरै रोइन्, ‘खुस्मा’ बन्न वर्षदिन खर्चिइन्

स्नातक पढ्दै थिइन्, अचानक भुवन केसीको कल आयो– फिल्मको प्रस्तावसहित
लगालग हिट फिल्म दिइरहेकी उपासना : स्क्रिप्ट सुनेरै रोइन्, ‘खुस्मा’ बन्न वर्षदिन खर्चिइन्

खुस्माको स्क्रिप्ट सुनेरै रोएको बताउँछिन् उपासना। फोटो/भिडिओ : सरोज बैजु


लक्ष्मी बलायर
भदौ २६, २०८१ बुधबार ६:४०, काठमाडौँ

‘मेरो करिअरको यात्रा सम्झिँदा रमाइलो लाग्छ,’ अभिनेत्री उपासना सिंह ठकुरी खुसी हुँदै भन्छिन्।

हुन पनि उपासनाको फिल्मी करिअर रोचक छ। भर्खर स्नातक पहिलो वर्षमा पढ्दै थिइन्। एकदिन अचानक भुवन केसीको कल आयो। फिल्मको प्रस्तावसहित।

उपासना त अकमक्क परिन्। किनकि त्यतिबेला फिल्म खेल्ने सोच नै थिएन। प्रस्ताव अनपेक्षित थियो।  

खासमा भुवनले इन्स्टाग्रामका तस्बिर देखेर उपासनालाई अफर गरेका रहेछन्। भुवनकै होम प्रोडक्सनबाट बन्ने फिल्म ‘क्याप्टेन’ को हिरो थिए अनमोल केसी। ‘होस्टेल’ बाट डेब्यु गरेका अनमोलको क्रेज व्यापक थियो। 

तर, उपासनाले तुरुन्तै जवाफ दिन सकिनन्। भुवनले उपासनाको परिवारसँग कुरा गरेपछि बल्ल फिल्म खेल्न तयार भएको उनको भनाइ छ।

‘म त्यो बेला निकै कम उमेरकी थिएँ। फिल्म क्षेत्रबारे केही थाहा थिएन। तर, टिम एकदमै राम्रो थियो। को-एक्टर अनमोल पनि निकै सहयोगी,’ उनले भनिन्, ‘क्याप्टेन गर्दा सहज लाग्यो। ५०/६० जनाको अगाडि मैले मज्जाले काम गर्न सकेँ। त्यसपछि अझै फिल्म गर्नुपर्छ भन्ने लाग्यो।’

२०७५ फागुन १७ गते रिलिज भएको ‘क्याप्टेन’ ठिकठाक चल्यो। तर, उपासनाको अभिनयको राम्रै चर्चा भयो। डेब्यु फिल्म नै फापेपछि उनी फिल्ममेकरको नजरमा पर्ने नै भइन्।

लगत्तै उपासनालाई हिट फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेलमा अफर आयो। र, उनी फिल्ममा दयाहाङ राई र सौगात मल्लको अपोजिटमा देखिइन्। २०७६ असोजको पहिलो साता रिलिज भएको यो फिल्म सुपरहिट भयो।

त्यसपछि उपासनाले फर्किएर हेर्नु परेको छैन। कबड्डी ३ पछि उपासनाले डिसेम्बर फल्स, २ नम्बरी, हात्तीछाप लगायतका फिल्ममा काम गरिसकेकी छिन्। जसमध्ये २ नम्बरी पनि हिट फिल्ममध्ये एक हो।

तिनै उपासना अब फिल्म ‘खुस्मा’ मा देखिँदैछिन्। द्वन्द्वकालमा अंकुराएको प्रेमकथा भन्ने यो फिल्म असोज ३ गतेबाट रिलिज हुँदैछ।

करिअरकै विशेष फिल्म ‘खुस्मा’
‘खुस्मा’ उपासनाका लागि विशेष छ। धेरैजसो फिल्ममा ‘लभरगर्ल’ बनेकी उपासना यस फिल्ममा फरक भूमिकामा छिन्। मगर युवतीको पात्र निर्वाह गरेकी उपासना कथाले छोएपछि फिल्म टिमसँग जोडिएको सुनाउँछिन्।

भन्छिन्, ‘गतवर्षतिर हो अशोक थापा मगरले फिल्मको प्रस्तावसहित म्यासेज गर्नुभयो। भेटमा स्क्रिप्ट सुनाउनुभयो। स्क्रिप्ट सुन्नेबित्तिकै यो फिल्म त जसरी पनि गर्छु भन्ने लाग्यो। भावुक भएर म रोएको पनि थिएँ। मलाई यस्तो फिल्म गर्न पहिल्यैदेखि मन थियो। कलाकार भएपछि सबैखाले चरित्र जिउन पाऊँ भन्ने लोभ हुन्छ। त्यसमाथि महिलाकेन्द्रित फिल्म भएकाले जोडिएँ।’

उपासनाका बुवा सैन्य पृष्ठभूमिका हुन्। घरमा फिल्मको कथा सुनाएपछि बुवाआमालाई निकै रिलेट गरेको बताउँछिन् उनी।

भन्छिन्, ‘घरमा गएर मामुलाई सुनाएँ। उहाँ पनि रुनु भयो। खासमा बुवा आर्मीमा हुनुहुन्थ्यो। फिल्म पनि द्वन्द्वकालको समयको छ। त्यो बेला मेरो ड्याडीको पोस्टिङ पनि रुकुममै थियो। यो कथा मेरो परिवारसँग पनि रिलेट हुन्छ।’

मैकोट पुग्दा
कथा मन परेपछि उपासना छायांकनअगावै रुकुमको मैकोट पुगिन्। त्यहाँ पुग्दा आफूलाई निकै फरक अनुभूति भएको सुनाउँछिन् उनी।

‘स्क्रिप्टमा जे थियो, मैकोट गएपछि साँच्चिकै त्यही पाएँ। त्यहाँको मान्छेहरूको स्टोरी सुनेर यस्तो पनि रहेछ भन्ने लाग्यो। हामीले बाँचिरहेको जीवन र उहाँहरूले बाँचेको जीवन त कति फरक रैछ। उहाँहरूको स्टोरी कति जनालाई थाहा छैन। सबैजनाले सुन्नुपर्छ र महसुस गर्नुपर्छ भन्ने महसुस भयो। मैले शतप्रतिशत दिनुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्।

उपासनाका अनुसार यस फिल्ममा द्वन्द्वकालको सुरुवातदेखि अन्त्यसम्मको अवस्थालाई देखाइएको छ। कथामात्रै नभई खुस्मा पात्र पनि निकै निकट लागेको सुनाउँछिन् उनी।

‘यो क्यारेक्टर एकदमै फरक थियो। यसको लागि मैले लामो समय दिएँ। लोकेसन हन्टिङदेखि वर्कसप र सुटिङमा एक वर्ष नै खर्चेँ। त्यहाँ कति धेरै सोल्टिनी र भाउजू बनाएँ। उहाँहरूको रियल स्टोरी मेरो पात्रले भोगेको छ,’ उपासनाले भनिन्, ‘अरु फिल्मभन्दा यसमा साँच्चै चरित्र राम्रो गरेजस्तो लाग्छ। खुस्मा भन्ने क्यारेक्टर म नै हो जस्तो लाग्छ। किनकि मैले पूरा सुटिङभरि नै त्यो चरित्र बाँचे। शत प्रतिशत दिएर काम गरेँजस्तो लाग्छ।’

मगर समुदायको कथा भएकाले भाषाको मामिलामा निकै गाह्रो भएको उपासनाको भनाइ छ। फिल्ममा नेपाली भाषा बोले पनि लवजमा मेहनत गरेको सुनाइन्।

‘यसमा १५/२० वर्षअगाडिको स्टोरी छ। त्यहाँ खाम भाषा प्रयोग हुँदोरहेछ। हुन त फिल्ममा नेपालीमा बोलिएको छ। तर, कुनै कुनै शब्दचाहिँ सोही भाषाका छन्। टोनमा पनि काम गरेका छौँ। निर्देशकले पनि निकै सहयोग गर्नुभयो। यसमा मेरो निखारिएको भूमिका हेर्न पाइनेछ,’ उपासनाले भनिन्।

सुटिङ हुँदा थुप्रै सिनमा आफू निकै भावुक भएको उपासनाको दाबी छ। करिअरको सुरुवातदेखि नै आफूले दर्शकबाट निकै माया पाएको उनलाई लाग्छ।

भनिन्, ‘मैले अडियन्सबाट धेरै माया पाएको छु। जति पनि फिल्म खेलेँ, त्यो पूरा यात्राले नै मैले खुस्मा पाएकी हुँ। खुस्मापछि अझै आशा छ। यो यस्तो स्टोरी हो, जसलाई सबैजनाले हेर्नुपर्छ जस्तो लाग्छ। राज्यको लागि अपिल हो। त्यो अवस्थामा कति मान्छेले कति समस्या भोग्नुपर्‍यो। जो धेरैलाई थाहा छैन। फिल्म हेरेर महसुस गर्दा सकारात्मक कुरा आउँछ जस्तो लाग्छ।’  

धिरजसँगको जमेको सहकार्य
यस फिल्ममा उपासना अभिनेता धिरज मगर जोडीको रूपमा छिन्। फिल्मको टिजर, गीत र ट्रेलर सार्वजनिक भएसँगै यो जोडीको निकै चर्चा भइरहेको छ। दर्शकहरूको प्रतिक्रियाले एकदमै खुसी लागिरहेको उनको भनाइ छ।

सुटिङ सेटमा धिरजसँग सहकार्य गर्दा निकै सहज भएको उनको अनुभव छ।

‘स्क्रिप्ट सुन्दा नै कथालाई न्याय गर्न मिलेर काम गर्नुपर्छ जस्तो लागेको थियो। किनकि यो लभस्टोरी नै अलि फरक छ। उहाँसँग काम गर्न रमाइलो भयो। धिरज एकदमै सजिलो र राम्रो हुनुहुन्छ,’ उनी भन्छिन्।

उपासनाले सुटिङसेट प्रसंग समेत सुनाइन्, ‘हामी मैकोट पुगेपछि क्लोज भएका थियौँ। सुटिङको बेला ढुंङ्गाबाट लडेर मेरो खुट्टामा चोट लागेको थियो लडेर। धिरजले बोकेर घरसम्म लग्नुभएको थियो।’

निरन्तर यात्रामा
पुर्ख्यौली घर दार्चुला भएकी उपासना बुवाआमासँग खासै बस्न पाइनन्। किनकि उनका बुवाआमा जागिरे थिए। तीन वर्षसम्म दार्चुलामा हुर्किएकी उनी पछि महेन्द्रनगर हजुरआमासँग बसिन्। काठमाडौँमा आएपछि कहिले ठूली मामु त कहिले फुपू र अकंलसँग बसिन्।

स्कुलका कार्यक्रम हुँदा उनलाई निकै दु:ख लाग्थ्यो। पुरानो दिन सम्झिँदै भनिन्, ‘सानो हुँदा अभिभावक दिवस लगायतका कार्यक्रममा प्रस्तुति दिँदा निकै खल्लो लाग्थ्यो। सबैका आमाबुवा देख्थेँ। तर, मैले प्रस्तुति दिँदा उहाँहरू हुनुहुन्थेन। अरुले आफ्नो बच्चालाई मायाले हेर्ने। त्यो भावना निकै मन पर्थ्यो। मलाई पनि कसैले हेरिदिए हुन्थ्यो लाग्थ्यो। मुभीमा आएपछि कति जनाको माया पाइन्छ।’

विगत ६ वर्षदेखि उपासना फिल्मक्षेत्रको निरन्तर यात्रामा छिन्। सामाजिक यथार्थवादी जनराको फिल्म मन पराउने उनलाई रोमान्टिक कमेडी र साइकोलोजिकल थ्रिलर फिल्म पनि खेल्न मन छ।

‘यो जर्नी अहिलेसम्म एकदम रमाइलो लागिरहेको छ। अहिलेसम्म जति पनि फिल्म खेलेँ, सबै टिम निकै राम्रो थियो। वातावरण पनि मन परिरहेको छ। नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चसम्म पुगोस् भन्ने चाहना छ,’ उपासनाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .