मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। यसैबीच, मल्टिप्लेक्स हलहरुले अग्रिम फिल्मको अग्रिम बुकिङ खुलाएका छन्।
देशकै ठूलो चेन क्यूएफएक्स यस फिल्मलाई उत्साहजनक सो दिएको छ। सार्वजनिक तालिकाअनुसार क्यूएफएक्स चेनमा यस फिल्मले पहिलो दिन ४७ सो पाएको छ।
क्यूएफएक्सले उपत्यकामा २८ सो दिँदा मोफसलमा १९ सो उपलब्ध गराएको हो। अन्य मल्टिप्लेक्स हलहरुले भने बुकिङ खुलाउने तयारीमा छन्।
गत आइतबार फिल्मको काठमाडौँमा नेपाल प्रिमियर गरिएको थियो। जहाँ बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दीन सिद्दीकी सहभागी भए।
भामको दोस्रो निर्देशकिय फिल्म ‘शाम्बाला’ मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ। फिल्मको कथा भामसहित अविनाश विक्रम शाहीले लेखेका हुन्।
यो फिल्म यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ।
बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितेकी हुन्।
तिब्बती भाषामा रिलिज हुने फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिने छ।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।
एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो।
Shares
प्रतिक्रिया