ad ad

कला


लकडाउनमा रियाज, गीत कम्पोज र शास्त्रीयसंगीत अभ्यास

लकडाउनमा रियाज, गीत कम्पोज र शास्त्रीयसंगीत अभ्यास

लक्ष्मी जि.सी
चैत २१, २०७६ शुक्रबार २:१०,

केही पेशालाई अपवाद मान्ने हो भने यतिबेला अधिकांशको दैनिकी घरभित्रै सीमित छ। स्वास्थ्य, सुरक्षाकर्मी र अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीसँग सरोकार राख्ने बाहेककाले आफूलाई घर वरिपरिसँग सीमित गरेका छन्। कोरोना भाइरस (कोभिड—१९)संक्रमण नियन्त्रण गर्ने उद्देश्य साथ गरिएको लकडाउनले समाजका हरेक तह र तप्कालाई असर गरेको छ।

यो बाध्यात्मक समयलाई अवसरमा बदल्नेहरु पनि केही छन्। घरमै बसेर कतिले आफ्नो कर्मलाई निरन्तरता दिइरहेछन्। ती मध्ये एक जना हुन्, गायक बिनोद बानियाँ। पोखरालाई कर्मथलो बनाएका उनी संगीतसँगै होटल व्यवसायसँग समेत जोडिएका छन्।

यतिबेला उनको सम्पूर्ण समय परिवारसँगै बितिरहेछ। ‘बिहान रियाज गर्छु, नयाँनयाँ गीत कम्पोज गर्छु, छोरीसँग खेल्यो, मोबाइल चलायो, टिभीहेर्यो दिन बित्छ’, आफ्नो दैनिकी सुनाउँदै उनी भन्छन्,‘व्यक्तिगत रुपमा भन्ने हो भने लकडाउनले धेरै कुरा सिकाइरहेछ।’ 

कोरोना भाइरस (कोभिड—१९) फैलावट रोक्न र जनस्वास्थ्यलाई ध्यानमा राखेर गरिएको लकडाउन सान्दर्भिक भएको उनको बुझाइ छ। सरकारले राहतको लागि पहल गर्नु सकारात्मक भए पनि त्यो सही व्यक्तिसम्म पुग्ला नपुग्ला भन्नेमा उनलाई शंका छ। ‘स्वास्थ्यसम्बन्धी सामग्री खरिद गर्नु आवश्यक भए पनि त्यसमा भ्रस्टाचार हुनु दुःखद हो’, उनी भन्छन्।

विश्व महामारीको यो समयमा देशका हरेक नागरिकले जिम्मेवार हुनुपर्ने बानियाँको सुझाव छ। ‘हामीले आ—आफ्ने ठाउँबाट सरकारको प्रयासमा सहयोग गर्नुपर्छ। नआत्तिई सक्नेजति सहयोग एक अर्कालाई गरौं’, उनले थपे, 'केही गर्न सकिन्न भने पनि केही छैन। कम्तिमा आफ्नो घरमै बसेर संक्रमणबाट जोगिऊ।’ घरमा बस्ने अवसर सधैँ नमिल्ने भन्दै उनी यो समयको सदुपयोग गर्न सकिने बताउँछन्।

यति धेरै मान्छेहरुको भिडमा गीतबाट चर्चा पाएकी गायिका मल्लिका कार्की यतिबेला जन्मथलो मोरङको रतुवामाई नगरपालिका, सिजुवामा छिन्। कामको सिलसिलामा जन्मथलो पुगेकी उनी लक डाउनले उतै बस्न बाध्य भएकी हुन्। ‘काठमाडौं फर्किने तयारीमा थिएँ। घरमा बुवाममीले केही दिन बस भन्नुभयो। त्यसको भोलिपल्टदेखि लकडाउन भयो। अहिले यतै छु’, उनी भन्छिन्, ‘यो बेलामा परिवारसँग छु। मन लागेको पकाएर खाने, बस्ने रमाइलो गर्ने अनि सुत्ने।’
बाबा आमासँग बस्दा आफु ढुक्क भए पनि श्रीमान्को चिन्ताले सताउने गरेको उनले सुनाइन्। ‘म परिवार साथमा छु। श्रीमान् काठमाडौंमा छन्। हुन त काठमाडौमा बाहिरभन्दा अलि सहज नै होला तर सँगै नहुँदा मन अलि आत्तिने रहेछ’, उनले भनिन्।

यो अनिश्चयको समयमा चल्ने अफवाहले अत्याउने उनको अनुभव छ। ‘यता गाउँतिर अनेक किसिमका हल्ला चलिरहेका हुन्छन्’, उनले भनिन्, ‘नयाँ मान्छे आयो रे। उसलाई कहाँ लग्यो रे भन्ने कुरा सुनिन्छ। यस्तोले झन् बढी दुविधा हुन्छ। के सही के गलत छुट्याउन गाह्रो हुन्छ।’

महामारीको समयमा व्यक्तिगत सुरक्षामा बढी ध्यान दिने हो भने संक्रमण रोक्न सरकारले चालेको कदम प्रभावकारी हुने उनी बताउँछिन्।

अर्का चर्चित गायक शिव परियारको पनि बानियाँ र कार्कीकै जस्तो दिनचर्या छ। लकडाउनको सुरुको केही दिन रमाइलो लागे पनि अब भने बोर लाग्न थालेको परियार बताउँछन्। ‘यो समय संयमता अपनाउने समय भएकोले व्यक्तिगत चाहनालाई थाती राख्नुपर्छ। त्यसैले सकेसम्म फुर्सदको यो समयलाई सदुपयोग गर्न प्रयास गरिरहेको छु’, उनले सुनाए।

‘नयाँ सिर्जनात्मक काम त गरेको छैन। शास्त्रीय संगीतको साधना गरिरहेको छु। छोरी सुहाना पनि संगीतमा रमाउँछिन्। हामीसँगै अभ्यास गरेर पनि समय बिताउँछौं’, उनी भन्छन्, ‘सधैँ मौका मिल्दैन यसलाई परिवारसँग बस्ने अवसरको रुपमा लिएको छु। नयाँ वर्षमा एउटा गीत रिलिज गर्ने तयारी थियो। अहिलेको परिस्थितले स्थगित भयो।’

विश्व नै एउटै संकटबाट गुज्रिरहेकोले बढी नै सचेत हुनुपर्ने उनको सुझाव छ। ‘विश्वका अन्य मुलुकमा जसरी कोरोना संक्रमण फैलिएको छ त्यस्तो स्थिति हाम्रो देशमा बन्यो भने हाम्रा स्वास्थ्यकर्मीलाई त्यो नियन्त्रण गर्न असम्भव जस्तै हुनेछ’, उनी भन्छन्, ‘त्यसैले संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आउन दिनुभन्दा घरमा बस्नु उत्तम विकल्प हो। त्यो आफ्नो र समाज दुवैका लागि हितकर हुन्छ।’

परियारले आफ्नो मानव जीवनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र आफूले पनि त्यसैअनुसार व्यहार गर्नुपर्ने मत राख्छन्। यो कठिन परिस्थितिमा पहिला जीवन रक्षा मुख्य विषय हो। ‘जीवन भए बाँकी कुरा त्यसपछि आउने हो, उनले भने, ‘त्यसैले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले गरेको लकडाउनको पालना गरौं। यो समय सबैका लागि कठिन छ। तर यसको हामीसँग विकल्प छैन। त्यसले यसको पालना गरौं र संक्रमण हुनबाट बचौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .