अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’को टिजर हालै सार्वजनिक भएको छ। जसमा नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीसँग सम्बन्धित एउटा संवाद छ।
टिजरमा दयाहाङ भन्छन् : सीजी ग्रुप (चौधरी ग्रुप) सुन्या छौ? चाउचाउ बनाउँछ नि! त्यसले मलाई मासिक ४ लाखको अफर गर्या थ्यो।
जवाफमा अर्का कलाकार माओत्से गुरुङ भन्छन् : तैँले किन (जागिर) खाइनस् त?
अनि दयाहाङ भन्छन् : चौधरी आफैँ धनी छ, धनीमाथि धनी के बनौँ?
उक्त संवाद कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगी चौधरी स्वयंमलाई निकै रोमाञ्चक लागेको छ।
उनले उक्त संवादसहितको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा सेयर गर्दै रमाइलो स्टाटस लेखेका छन्।
उक्त क्लिप्स दयाहाङलाई मेन्सन गर्दै चौधरीले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तो छ त दयाहाङ जी! हैट!’
चौधरीको उक्त स्टाटसमा विभिन्न खालका कमेन्ट आइरहेका छन्। यसलाई फेसबुकमा सेयर गर्दै दयाहाङले पनि हे..हे लेखेका छन्।
हेर्नुहोस् चौधरीले सेयर गरेको ‘डिग्री माइला’को त्यो संवाद–
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ आगामी चैत ३० गतेबाट रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया