ad ad

कला


‘मिसन : इम्पोसिबल–७’ : यस्ता छन् सात विशेषता

हेर्न पाइन्छ टम क्रुजको खतरनाक स्टन्ट

नेपालखबर
साउन ४ , काठमाडौँ

यदि तपाईं एक्सन र थ्रिलर सिनेमाको भोगी हुनुहुन्छ, त्यसमाथि एक्सन सुपरस्टार टम क्रुजको खतरनाक स्टन्ट कौशलको फ्यान हुनुहुन्छ भने विश्वभरका हलहरूमा धुम मच्चाइरहेको ‘मिसन : इम्पोसिबल–डेड रेकोनिङ (पार्ट–१)’ मल्टिप्लेक्समा गएर हेरिहाल्नोस्।

रोमबाट वर्ल्ड प्रिमियर गरी १२ जुलाईमा विश्वभरका थिएटरमा एकसाथ रिलिज गरिएको ‘मिसन इम्पोसिबल–७’ मा ६१ वर्षीय टम क्रुजको ‘सासै रोकिने’ स्टन्ट थ्रिलरले तपाईंको अङ्गप्रत्यङ्गमा अद्भुत रोमाञ्चकता पैदा गराउनेछ।

हिजोका दिनमा कल्पना मात्र गर्न सकिने दुस्साहसिक दृश्यहरू आज प्रविधिको समृद्धिसँगै ग्रीन स्क्रिन, सीजीआई (कम्प्युटर जेनेरेटेड इमेजरी) र भीएफएक्स (भिजुअल इफेक्ट्स) प्रयोग गरेर ७० एमएम पर्दामा उतार्न सकिने युगमा हामी छौँ।

तर, मिसन : इम्पोसिबल–७ मा खिचिएका खतरनाक दृश्यमा टमले न कम्प्युटर प्रविधिको सहायता लिएका छन्, न डमीको प्रयोग गरेका छन्। सासै रोकिने सबै स्टन्ट आफैँले गरेर देखाएका छन्।

उनी द्रूत गतिमा दौडिरहेको मोटरसाइकलबाट २५ हजार फिटको उचाइबाट हाम फाल्छन्। त्यस्तै, हेलिकप्टरबाट हाम फालेर (स्पीड फ्लाइङ) ८० किमी प्रतिघण्टाको गतिमा तल झर्छन्।

६० माइल प्रतिघण्टाको गतिमा चलिरहेको रेलमाथि गुण्डासँग ‘फाइट सिन’ खेल्छन्। त्यति मात्र होइन, रोमको व्यस्त सडकमा एउटा हात नायिकासँग हतकडी लगाइएको अवस्थामा अर्को हातले मात्र गाडी कुदाएर ज्यान बचाउँछन्।

सन् १९९६ अर्थात् आजभन्दा २७ वर्षअघि बनेको अमेरिकन जासुस इथन हन्ट (टम क्रुज) को ‘मिसन : इम्पोसिबल’को सातौँ अध्याय हो– मिसन इम्पोसिबल–डेड रेकोनिङ (पार्ट–१)।

नेपाललखबर मल्टिमिडिया टीमले सिभिल मलको क्यूएफएक्स सिनेमामा ‘मिसन : इम्पोसिबल–७’ हेरेपछि तपाइँहरूका निम्ति यो सिनेमाको एक्सनसँग जोडिएको रोचक सात विशेषता यहाँ प्रस्तुत गरेको छ।

१. सन् २०११ मा बनेको एमआई–३ (मिसन इम्पोसिबल–घोस्ट प्रोटोकल) मा दुबईस्थित सिसैसिसाले बनेको २ हजार ७१७ फिट अग्लो विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा चढेर एक्सन देखाएका टम १ हजार ७०० फिटको उचाइसम्म चढेका थिए।

२. संसारकै सबैभन्दा महँगा कलाकार टमले ‘एक्सन दृश्य’ दोहोर्‍याउने गर्दैनन् भनिन्छ। हरेकमा नयाँ र झन् बढी खतरनाक दृश्यहरू सृजना गर्नु उनको विशेषता हो।

सन् २०१५ मा बनेको एमआई–५ (मिसन : इम्पोसिबल–रग नेशन) मा टम एक हजार फिटमाथि उडिरहेको जहाजको बाहिरपट्टि झुण्डिएका थिए। त्यसैमा, आर्मीले मात्र लिने विशेष तालिम लिएर २० फिट गहिरो पानीट्याङ्कीभित्र गरिएको दृश्य सुट गर्न ६ मिनेटसम्म सास रोकेर बस्ने अभ्यास गरेका थिए।

३. सन् २०१८ मा बनेको एमआई–६ (मिसन : इम्पोसिबल–फलआउट) मा आफैँले हेलिकोप्टर उडाएर स्टन्ट सिन दिएका थिए।

न्युक्लियर बम डिफ्युज गर्न उनले आफैँ हेलिकोप्टर उडाएर पहाडमा लैजान्छन्। बम डिफ्युज गरेर उनी २५ हजार फिटमाथि उडिरहेको हेलिकोप्टरबाट हाम फाल्छन्।

यो दृश्यको लागि उनले सय पटक हेलिकोप्टरबाट हाम फालेका थिए। यसरी नै उनी एमआई–२ मा पनि हेलिकोप्टरबाट हाम फालेका थिए तर त्यसमा सीजीआई प्रयोग गरिएको थियो।

हेलिकोप्टर उडाउने लाइसेन्स २ हजार घण्टा उडान भर्नेले मात्र पाउँछ। टमले त्यति समय हेलिकोप्टर उडाएर लाइसेन्स लिएका छन्।

४. स्टन्ट थ्रिलरका व्यवसायी समेत हुन् टम। उनी एमआई–७ का लगानीकर्ता पनि हुन्। यो सिनेमामा पहाडबाट मोटरसाइकलसहित हाम फाल्ने स्टन्ट दृश्यको अभ्यास गर्न मात्र ५०–६० मिलियन अमेरिकी डलर खर्च गरिएको बताइएको छ।

जबकि एक महिनाअघि (१५ जुनमा) रिलिज भएको सीजीआई र भीएफएक्सको भरपुर प्रयोग गरी बनाइएको ठूलो निर्माण कम्पनी मार्बलको ‘दि फ्ल्यास’ ८० मिलियन अमेरिकी डलरमा बनाइएको थियो।

यत्रो पैसा केमा खर्च गरियो त? रिपोर्ट अनुसार, टमले हरेक दिन ५० चोटि मोटरसाइकल उडाउने अभ्यास गर्थे। १ हजार ३०० चोटि यो स्टन्ट अभ्यास गरिएको थियो।

त्यति अभ्यास गरिसकेपछि बेलायतमा बनाइएको फलामे ट्रेल सहितको पहाडबाट टमको शरीरमा जीपीएस लगाएर बारम्बार हाम फाल्न लगाइयो।

त्यसपछि पहाडबाट साँच्चिकै हाम फाल्नको लागि मोटरसाइकलको गति कति हुनुपर्ने जस्ता प्राविधिक पक्षको डाटा संश्लेषण गरियो। यसका निम्ति सम्बन्धित विधाका विज्ञहरूको निर्देशनमा टमले काम गरेका थिए।

यो दृश्य पर्फेक्ट गर्न टमले हेलिकोप्टरबाट पाँच सय पटक स्काडाइभिङ गरे। ८० किमी प्रतिघण्टाको गतिमा स्पीड फ्लाइङ गरे। यो अभ्यास बेलायतमा गरियो।

विश्वस्त भएपछि नर्वेको डरलाग्दो पहाडमा सेट बनाइयो। त्यहाँ बनाइएको ट्रेलमा बाइक कुदाउँदै पहाडबाट हाम फालेको दृश्य सास रोकिने खालको छ। त्यो भयानक स्टन्ट टमले एकचोटिमै ओके गरे।

निर्देशकले समेत उक्त दृश्य गर्दा आफ्नो सास रोकिएको प्रतिक्रिया दिएका थिए। तर टमलाई भने आफ्नै काम चित्त बुझेन। उनले उक्त दृश्यलाई रि–टेक गरे।

त्यो पहाडबाट बाइकसहित ६ चोटी हामफालेपछि बल्ल उनले चित्त बुझाए।

६१ वर्षको उमेरमा आफ्नो पेसाप्रति यो स्तरको प्रतिबद्ध? यस्तो भयङ्कर स्टन्ट? फिल्म हेरिसकेपछि तपाईं चकित पर्नुहुनेछ र भन्नुहुनेछ– ‘एज इज जस्ट अ नम्बर’।

स्पीड फ्लाइङको अभ्यासपछि लाइसेन्स नै निकाले टमले। एक्सन नायक टमसँग १६ भन्दा बढी लाइसेन्स छन्। कलेज नै नगएका टम फाइटर जेट उडाउन सक्छन्। प्राइभेट र व्यावसायिक प्लेन उडाउन सक्छन्।

उनका प्रशिक्षक तथा स्पीड फ्लाइङ संयोजक जोन डेभोर भन्छन्, ‘टम जस्तो स्पोर्टी यो लोकमा बहुत कम हुन्छन्।’

५. रेलमाथि गरिएको स्टन्ट भीएफएक्स र सीजीआईको माध्यमबाट सजिलै बनाउन सकिन्थ्यो। एमआई–१ मा दुरुस्त यस्तै दृश्य त्यति बेला भीएफएक्स र सीजीआई प्रयोग गरी बनाइएको थियो।

तर, २७ वर्षपछि त्यस्तै दृश्यका निम्ति टमलाई त्यो मान्य भएन। ६० माइल प्रतिघण्टाको गतिमा चलिरहेको रेलमाथि ‘फाइट दृश्य’ उनलाई ‘रियल’ चाहिएको थियो।

यो स्टन्ट गर्नका निम्ति नयाँ रेल बनाइयो, लिक बनाइयो र त्यसपछि दौडेको रेलमाथि फाइट दृश्य गराइयो।

यही स्टन्टका लागि पहिला पुल बनाइयो। पुल बनिसकेपछि त्यसलाई भत्काएर त्यहाँबाट रेललाई खोलामा खसालियो। खस्दै गरेको रेलमा १८ वटा क्यामेरालाई ‘वाटरप्रूफ’ गरेर जडान गरिएको थियो। हैन त पागलपन?

६. एउटा हात नायिकासँग हतकडीले बाँधिएको छ। ट्राफिकले भरिएको सडकमा शक्तिशाली दुश्मनलाई छलाउँदै अर्काे हातले ड्राइभ गर्न टम रोममै लामो समय बसेर अभ्यास गरेका थिए।

उनले स्टन्टमा ६० वर्षअघि (सन् १९५७ मा) निर्मित युरोपियन अटोमोबाइलको आइकन मानिएको पहेंलो रंगको फियट–५०० कुदाउँदै अत्याधुनिक गाडीहरूमा सवार दुश्मनलाई छक्याएर निस्कन्छन्।

सुटिङ सकिएपछि यो कारलाई सुटिङस्थलमै राखेर वर्ल्ड प्रिमियर गरिएको थियो।

चलचित्रकी नायिका हायले एटवेल भन्छिन्, ‘हतकडीसहित ट्राफिक सडकमा कार कसरी चलाउने भनेर हामीले रोममा पाँच महिना अभ्यास गरेका थियौं।’

७. एमआई सिरिजमा टमको वायुपंखी घोडा जस्तो दौडने शैली एमआई–७ मा पनि कायम छ। एमआई–७ की नायिका एटवेलको भनाइमा त्यो स्तरको गतिमा दौडदा कस्तो लयमा रहनुपर्छ भन्ने लामो अध्ययन गरेर मात्र दौडन्छन् टम। एटवेल भन्छिन्, ‘त्यसरी दौडन निकै शक्ति र क्षमतावान् हुनुपर्दछ, जुन टममा छ।’

अन्त्यमा,

टम सिनेमाका मात्र ‘रियल स्टन्टबाज’ होइनन्। हलिउडका लागि उनी ‘रियल लाइफ’का पनि हिरो हुन्। विश्व जगत् कोभिड–१९ ले थलिएको र कसैले सिनेमा रिलिज गर्न नसकिरहेको बेला टमले आफू समेत लगानीकर्ता रहेको ‘टप गन : मेभेरिक’ (२७ मे २०२२) ल्याए। हिट पनि भयो। विश्वभरबाट १.५ बिलियन अमेरिकी डलरको कारोबार गर्‍यो।

त्यतिबेला सिनेक्षेत्रका हस्तीहरूले टमलाई ‘तिमीले हलिउडलाई काँधमा बोक्यौ’ भन्दै अनुगृहीत बनेका थिए। चर्चित निर्देशक स्टेभेन स्पिलबर्गले हलिउडलाई बचायौं भन्दै बधाई दिए। ‘टप गन : मेभेरिक’ सन् १९८६ मा रिलिज टमकै ‘टप गन’ को सिक्वेल थियो।

२७ वर्षदेखि एमआई सिरिज मार्फत् मानवजातिको संरक्षण गर्दै आइरहेका इथन अर्थात् टमले पहिले जे गरे यसपालि पनि त्यही गरेका हुन्। कथामा नवीनता छैन। तर, ‘विश्व परिवर्तन भइरहेको छ, तथ्य हराइरहेको छ, युद्ध जन्मिरहेको छ’ भन्ने समकालीन विश्वको चित्रण गर्ने एमआई–७ को कथाभित्र क्रिप्टोकरेन्सी, ब्लकचेन र एआई जस्ता प्रविधिले पनि राम्रो स्थान पाएका छन्।

कमेडी, थ्रिलर, एक्सन तथा इमोशन मिश्रित एमआई–७ आबुधाबी, लन्डन, भेनिस, नर्वे र रोममा सुटिङ गरिएको छ। तीन घण्टा लामो सिनेमाले कतै ‘बोर फिल’ गर्दैन। सेकेन्ड हाफमा कहींकतै संवादले सुस्त जस्तो बनाए पनि थ्रिलर एक्सनले फेरि गति पक्रन्छ। क्यामेरा वर्क गजब छ। कमेडीले ट्वाक्क स्वाद दिन्छ।

दुई सय मिलियन डलरको लगानीमा बनेको एमआई–७ ले नेपालमा त्यति राम्रो ओपनिङ नगरे पनि भारतमा भने यसले बुधबारसम्म ७० करोड भारु उठाएको छ। 

एपीको रिपोर्ट अनुसार, रिलिजको पाँच दिनसम्ममा एमआई–७ ले विश्वभरबाट २३५ मिलियन डलर उठाइसकेको छ।

कम्प्युटर प्रविधि र डमीको सहयोगविनै ६१ वर्षीय टम क्रुजले दिएको अविश्वसनीय एक्सन कौशलले दर्शकलाई तीन घण्टा बाँधेर राख्न सफल भएको छ।

यो सिनेमाको सफलताले सीजीआई, भीएफएक्स र ग्रीन स्क्रीनमा बनेका सिनेमाभन्दा ‘रियल स्टन्ट’ हेर्न चाहने दर्शकहरूको चाह बढेको देखाउँछ। यसले हलिउडलाई एउटा दिशा दिने पक्का छ।

कथावाचन धेरै नै भयो कि! बाँकी रह्यो एक्सन थ्रिलर। त्यसको आनन्द तपाइँ आफैँ थिएटरमा गई महसुस गर्नाेस्। हामी चाहिँ अर्काे वर्ष आउने एमआई–७ को भाग–दुई कुरेर बसिरहेका छौं।

साउन ४, २०८० बिहिबार १९:२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .