जापानको बुलेट ट्रेन समयमै चल्ने यातायातका रूपमा प्रसिद्ध छ। जसलाई केहीले रोक्न सक्दैन। तर, मंगलबार एउटा सानो सर्पले यो काम गरिदिएको छ।
एक यात्रुले टोक्यो स्टेसनमा नागोयाबाट आइपुगेको ट्रेनमा सर्प देखिएको जानकारी दिए। सो सर्प मात्र १६ इन्चको थियो।
सो ट्रेन ओसाका सहरतर्फ छुट्नुपर्ने थियो। तर, त्यसलाई तत्काल रोकियो। सो रुटमा नयाँ ट्रेन पठाउनुपर्ने भयो। जसका कारण १७ मिनेटको ढिलाइ हुन पुग्यो।
यो ढिलाइ पनि जापानी मापदण्डअनुसार निकै ठूलो हो।
यसबाट करिब ६०० यात्रु प्रभावित भएको बताइएको छ।
ट्रेनभित्र देखिएको सर्प कुन प्रजातिको थियो, थाहा हुन सकेको छैन। सर्प कसरी त्यहाँ पुग्यो, त्यसको छानबिन चलिरहेको छ।
जापानमा सिनकानसेन भनिने बुलेट ट्रेनको गति ३२० किमि प्रतिघण्टासम्म पुग्ने गर्छ।
सन् २०१७ मा सुकुबा एक्स्प्रेसका एक चालकले २० सेकेन्ड अगावै रेल चलाएपछि सो सेवा प्रदायकले माफी माग्नुपरेको थियो। एजेन्सी
Shares
प्रतिक्रिया