जापानको एउटा विमानस्थलमा यात्रु प्रवेश गर्ने द्वारसँगैको स्टोरबाट एउटा कैँची हराउँदा ३६ वटा उडान रद्द भएको छ भने २०१ उडानमा ढिलाइ भएको छ।
कैँची हराएपछि होक्काइदोको न्यु चितोजे एयरपोर्टको आन्तरिक टर्मिनल शनिबार बिहान करिब दुई घण्टा बन्द गरिएको थियो। जसका कारण सयौँ यात्रु केही समय अलपत्र परेका थिए।
सुरक्षा जाँच गरिसकेका यात्रुको पनि पुनः जाँच गरिएको थियो।
अधिकारीहरूले हराएको कैँची धुइँपत्ताल खोजेका थिए। तर, कैँची भोलिपल्ट उही स्टोरमा फेला परेको थियो।
शनिबार कैँची नभेटिए पनि केही घण्टापछि उडान सुरु गरिएको थियो।
सोमबार विमानस्थल सञ्चालकहरूले हराएको कैँची आइतबार सोही ठाउँमा भेटिएको बताएका हुन्।
यातायात मन्त्रालयले सो घटनाको छानबिन गर्न र आइन्दा यस्तो हुन नदिन सचेत गराएको छ।
तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने विमानस्थलको होसियारीको प्रशंसा गरेका छन्।
‘यो घटनाले जापानी उड्डयन क्षेत्रको सुरक्षा स्थितिलाई देखाउँछ,’ एकजनाले एक्समा लेखेका छन्।
न्यु चितोजे जापानको व्यस्तमध्येको विमानस्थल हो। सन् २०२२ मा डेढ करोडभन्दा बढी यात्रुले सो विमानस्थल प्रयोग गरेका थिए। बीबीसी
Shares
प्रतिक्रिया